८ वैशाख २०८१ शनिबार
समाज

विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराइयो

काठमाडौं- नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन्। अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४ औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन्।

लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई १ जेठ ०७५ मा विश्वकै सर्वोच्च शिखरमा पु-याएका थिए। त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला भएको समारोहमा लुइँटेलले जेम्बोरीका सह–अध्यक्ष अमेरिकाका स्कोट सोरल्स र क्यानडाका माइक स्कोटलाई हस्तान्तरण गरे।

लुइँटेलले हस्तान्तरण गरेको झण्डा ब्वाइज स्काउट अफ अमेरिका, भर्जिनियामा रहेको राष्ट्रिय स्काउट म्युजियममा राखिने जनाइएको छ।

समारोहमा नेपालबाट करिब ४० जना उपस्थित भए पनि विशेष आतिथ्य ग्रहण गर्ने लुइँटेल मात्रै थिए। उनले करिब ४५ मिनेट सगरमाथा चढ्दाको अनुभव, १३ वर्षअघिदेखि सुरु स्काउट यात्रा र दिगो विकास लक्ष्यबारे मन्तव्य समेत दिए। कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गरेको लुइँटेलले बताए।

पहिलो पटक २० चैत ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो।

भूकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए । पछि पुनः ७ जेठ ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए। पहिलो पटक नेपालबाट शिखर चुमेका उनले १ जेठ ०७५ चीनतर्फबाट पुनः सफल आरोहण गरेका थिए।

लुइँटेल नेपाल र चीन दुवैतर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली स्काउटरको रुपमा चिनिन्छन्।

अनिशको नाममा छात्रवृत्ति नेपाली युवा अनिशको सम्मानमा अमेरिकामा एक छात्रवृत्ति दिने समेत घोषणा गरिएको छ। ब्वाइज स्काउट अफ अमेरिका, नर्थन स्टार काउन्सिलले लुइँटेलको सम्मानमा त्यहाँका स्काउटरलाई छात्रवृत्ति दिने घोषणा गरेको हो।

आयोजकका अनुसार स्काउन्टको क्याप भिजिटमा जान चाहने तर, कमजोर आर्थिक स्थिति भएकालाई यो छात्रवृत्ति दिइनेछ। लुइँटेलले सन् २०१६ मा समगरमाथा चढ्दा संस्थाको १०० औं वार्षिकोत्सवको झण्डा पनि चुचुरोमा लगेका थिए।

प्रकाशित: १२ श्रावण २०७६ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App