टीकापुर - टीकापुर नगरपालिकाका दक्षिणी भेगका बस्तीको पिउने पानीमा दिसाजन्य फोहोर (इ–कोली) भेटिएको छ। संघीय खानेपानी आपूर्ती तथा फोहोरमैला व्यवस्थापन परियोजनाको धनगढीस्थित प्रयोगशालाले गरेको परीक्षणका क्रममा पिउने पानीमा दिसाजन्य फोहोर भेटिएको हो।
टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाले नगर क्षेत्रको पिउने पानीको अवस्थाका बारेमा संस्थागत र व्यक्तिगत गरेर १२ वटा ठाउँको नमूना संकलन गरेर परीक्षण गरेको थियो। जसमध्ये प्रयोगशालाको परिक्षण पश्चात ४ वटामा दिसाजन्य फोहोर भेटिएको हो। उपशाखा सहसंयोजक कमलबहादुर रावलले २ वटा संस्थागत र २ वटा व्यक्तिगत धारामा दिसाजन्य फोहोर भेटिएको जानकारी दिए।
उनकाअनुसार नारायणपुर खानेपानी आयोजनाले वितरण गरेको पानी र सेती मैया मावि परिसरमा रहेको हाते नल्कामा दिसाजन्य फोहोर भेटिएको छ। प्रयोगशालाको परीक्षण रिपोर्ट अनुुसार खानेपानी आयोजनाको पानीमा ७७ र विद्यालयको हाते नल्कामा १ मात्रा दिसाजन्य फोहोर भेटिएको छ। यसको मात्रा शुन्य भन्दा बढी हुनु मानव स्वास्थ्यका लागि हानिकारक मानिने स्वास्थ्यकर्मी बताउँछन।
खानेपानी आयोजनाले वडा नं. ६ र ७ का झण्डै २ सय घरपरिवारलाई पिउने पानी वितरण गरेको छ। खानेपानी आयोजनाले वितरण गरेको पानीमा समेत यस्तो फोहोर भेटिएपछि मानव स्वास्थ्यका दृष्टिकोणले गम्भिर समस्या भएको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाले जनाएको छ।
खानेपानी आयोजनाका अध्यक्ष चिरञ्जीवी खनालले बोरिङबाट झिकेको पानीमा यस्तो फोहोर देखिनु शंकास्पद भएको बताए। उनले पुनः परिक्षण गरेर पानीमा दिसाजन्य फोहोर भए नभएको पत्ता लगाइने बताए। ‘हामी पानीको शुद्धता प्रति सचेत छौं’ उनले भने–‘फेरि एक पटक जाँच गर्छौ।’
उनले दिसाजन्य फोहोर भेटिएको भन्ने रिपोर्ट आउनुभन्दा पहिले देखि नै आयोजनाको पानी शुद्ध गर्नका लागि फिल्टर मेसिन जडान कार्य भैरहेको जानकारी दिए। उता टीकापुर नगरपालिका–९ सूर्यपुरस्थित विद्यालयमा समेत दिनहुँ ४०० भन्दा बढी विद्यार्थीले पानी पिउने गरेका छन। त्यहाँ रहेको २० फिट गहिरो हाते नल्काको पानीमा दिसाजन्य फोहोर भेटिएको रिपोर्टमा उल्लेख छ। रिपोर्ट अनुसार सोही ठाउँका एक स्थानीय र टीकापुर नगरपालिका–१ ब्लक नं. ९ का अर्का एक स्थानीयको हाते नल्कामा समेत दिसाजन्य फोहोर भेटिएको छ। ‘यो हामीले नमूना मात्रै संकलन गरेका हौं’ सहसंयोजक रावलले भने–‘अझ धेरै घरपरिवारको पिउने पानीमा दिसाजन्य फोहोर हुनसक्छ।’
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले वितरण गरेको पिउने पानी समेत केही व्यक्तिका घरबाट जाँचका लागि संकलन गरिएको थियो। सो पानीमा दिसाजन्य फोहोरको मात्रा नभेटिएको बताईएको छ। आयोजनाका चारवटै ट्याङ्कीबाट वितरण भएको पानीको नमूना संकलन गरिएको सहसंयोजक रावलले जानकारी दिए। तर बजार क्षेत्रका हाते नल्कामा भने दिसाजन्य फोहोरको मात्रा अधिक हुनसक्ने आशंका गरिएको छ।
नेपालको संविधानको धारा ४४ मा नागरिकको स्वच्छ पानी उपभोग गर्न पाउने संवैधानिक हक छ। तर नागरिकले प्रदुषित पानी पिउनु पर्ने वाध्यता रहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च टीकापुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अध्यक्ष एकिन्द्र तिमिल्सिनाले एक विज्ञप्ती जारी गरी नागरिकको स्वच्छ पिउने पानीको ग्यारेन्टी गर्न स्थानीय सरकार समक्ष माग गरेको छ।
विज्ञप्तीमा टीकापुर नगरपालिकाका ७५ प्रतिशत घरपरिवारमा अझै पनि हाते नल्काको पानी पिउने गरेका कारण पानी जाँच गर्ने व्यवस्था मिलाउनुका साथै जनचेतनाको कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराईएको छ।
यस्तो पानी पिउनाले झाडापखाला, टाइफाइट, आउँरगत, जण्डिस,पेट दुख्ने लगायतका स्वास्थ्य समस्या देखिने स्वास्थ्यकर्मीले बताएका छन। यदि पिउने पानीमा दिसाजन्य फोहोर देखिए उमालेर, फिल्टर गरेर, औषधी राखेर वा सोडिस विधिद्वारा घाममा तताएर पानी पिउनु उचित हुने स्वास्थ्यकर्मीले सुझाव दिएका छन।
प्रकाशित: ८ श्रावण २०७६ ०४:५६ बुधबार