काठमाडौं - सुन्धारा–त्रिपुरेश्वर सडकखण्डमा पर्ने केयुकेएल र टेलिकमबीचको बाहिरी पर्खाल ‘धराप’ बनेको छ। २०३० सालमा निर्मित दुई सय मिटर हाराहारी पर्खाल धराप बन्दा जुनसुकै बेला भत्किएर मानवीय क्षति हुने डर देखिएको छ।
२०७२ को भूकम्पयता सो पर्खाल ठाउँठाउँमा चर्किएर सडकतिर ढल्किएको छ। चौडा र अग्लो पर्खाल जोखिमपूर्ण बनेपछि बटुवा र सवारीचालक त्रासपूर्ण यात्रा गर्न बाध्य छन्। मानिसको बाक्लो आवतजावत भइरहने ठाउँको पर्खाल धराप बन्दै जाँदा त्यसले कुनै दिन अचानक मानवीय क्षति पु¥याउन सक्ने बटुवाको भनाइ छ। बुधबार केयुकेएलनजिकै भेटिएकी टेकुकी ममता महर्जनले दिनहँु यही बाटो प्रयोग गरेर हिँड्दा मनमा त्रास हुने गरेको बताइन्। ‘यति धेरै अग्लो पर्खाल लड्यो भने ठूलो क्षति पुग्छ,’ उनले भनिन्, ‘पर्खाल सडकतिर घोप्टिएको छ, सरकारी निकायले नै यसरी धराप थापेर बस्नु गैर–जिम्मेवारीपनाको विशिष्ट उदाहरण हो।’
सुन्धारा–त्रिपुरेश्वर सडकखण्डमा पर्ने केयुकेएल र टेलिकमबीचको बाहिरी पर्खाल धराप बनेको छ। ललितपुर पुल्चोकस्थित मन्त्री–निवास प्रवेशद्वार अगाडिपट्टि पनि धराप पर्खाल छ। सिंहदरबार तथा नारायणहिटी दरबार संग्रहालय वरिपरिको पर्खाल अझमपूर्ण छ।
यसअघि नेपाल खानेपानी संस्थानले उक्त भवनको भोगचलन गर्दै आएको थियो। २०६४ सालमा नेपाल खानेपानी संस्थान फेरिएर उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) नामाकरण भयो। सो पर्खाल नेपाल खानेपानी संस्थानकै पालामा बनेको हो। पछिल्लो समय केयुकेएलले सो पुरानो पर्खालको मर्मत–सम्भार नगर्दा जोखिम बढेको छ। राष्ट्रिय खेलकुद परिषद्ले भूकम्पले भत्किएको दशरथ रंगशालाको प्याराफिट मर्मत–सम्भार गर्न थाले पनि केयुकेएलले भूकम्पले चर्किएको पर्खाल पुनर्निर्माणमा कुनै चासो देखाएको छैन।
काठमाडौं महानगरपालिकाका–११ का वडाध्यक्ष हीरालाल तण्डुकारले सो पर्खाल मर्मत गर्ने विषयमा आफूले पनि बारम्बार पहल गरिरहेको जानकारी दिए। उनले केयुकेएलको जीर्ण पर्खाल भत्किए जुनसुकै बेला ठूलो मानवीय क्षति हुन सक्ने भएकाले यसबारे गम्भीर हुन आग्रहसमेत गरे। ‘यो पर्खाल सबैको लागि धराप नै बनेको छ, मानिसको आवतजावत हुने क्षेत्रमा यस्ता पर्खाल राख्नुहुन्न,’ उनले भने, ‘हामीले केयुकेएलका महाप्रबन्धकलाई बारम्बार जीर्ण पर्खाल मर्मत–सम्भार गर्न अनुरोध गरिसकेका छौं, उहाँहरूले मर्मत गर्छाैं पनि भन्नुभएको छ तर अहिलेसम्म जोखिम चाहिँ उस्तै छ।’
केयुकेएलका महाप्रबन्धक महेश भट्टराईले सो पर्खाल केही दिनमै मर्मत गरिने बताए। उनले सो पर्खाल हेर्दा डरलाग्दो देखिए पनि त्यति धेरै धराप नभएको दाबी गरे। ‘यो पुरानो शैलीको पर्खाल हो, यसको जग बलियो छ, भूकम्पपछि केही भाग सडकतर्फ ढल्किएको हो,’ उनले भने, ‘मर्मत गर्न बजेट छुट्याएका छौं, केही दिनमा यो त्रास हटाउँछौं।’
त्रिपुरेश्वरमा मात्रै होइन यस्ता धराप पर्खाल उपत्यकाका धेरै ठाउँमा छन्। ललितपुर पुल्चोकस्थित मन्त्री–निवास प्रवेशद्वार अगाडि पनि धराप पर्खाल छ। उच्च पदस्थ मन्त्रीहरू सयौंपल्ट आवतजावत गर्दा पनि सो पर्खाल व्यवस्थानतर्फ ध्यान दिएको देखिन्न। जीर्ण पर्खाल मर्मत नगर्दा जुनसुकै बेला लडेर मानवीय क्षति पु¥याउने डर देखिएको छ। नीति निर्माण तहका व्यक्ति हरेक दिन ओहोरदोहर गर्दा पनि यो धरापतर्फ ध्यान नदिएको कौशलटारका नरेन्द्र चुँदालीले बताए। ‘पुराना पर्खालमात्रै होइन, अहिले उपत्यकाभित्र धेरैथरिका धराप छन्, सडकका ठाउँठाउँमा ठूल्ठूला खाल्डा छन्, ढल र खानेपानीका मंगल व्यवस्थित छैनन्, कतिपय ठाउँमा उचालिएको छ, कतिपय ठाउँमा गहिरो पारिएको छ,’ उनले भने, ‘मुख्य सडकमा देखिने यस्ता धरापतर्फ सरोकारवालाले ध्यान दिनु जरुरी छ।’
मुख्य सरकारी अड्डा सिंहदरबार वरिपरि पर्ने अनामनगरतर्फको पर्खाल पनि उत्तिकै जोखिमपूर्ण छ। भूकम्पपछि निर्माण गरिएको वरिपरिको पर्खाल पनि कच्चा देखिन्छ। अग्लो पर्खाल बलियो नबनाउँदा बढी खर्च र क्षति हुने खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्यायको भनाइ छ। उनले कमजोर तवरले निर्माण गरिएका कारण केही दिनअघि सिंहदरबारको पर्खाल भत्किएको जानकारी दिए। ‘कमजोर र डिजाइनबिनाको पर्खाल जुनसुकै बेला पनि लड्न सक्छ, यदि बेलैमा सचेत भएर त्यस्ता पर्खाल व्यवस्थित गरिएन भने त्यसले मानवीय क्षति पु¥याउँछ,’ उनले भने, ‘यद्यपि पर्खाल त लगाउनै पर्छ, चाहिन्छ पनि तर बलियो र मानवीय क्षति नगर्ने किसिमको हुनुपर्छ।’ उनका अनुसार राजधानीमा नयाँ घर बनाउँदा नक्सा पास अनिवार्य भए पनि पर्खाललगायत संरचना निर्माण गर्दा नक्सा पास गर्ने गरिएको छैन। अझ सरकारी निकायले निर्माण गरेका संरचनाहरू धेरैजसो मापदण्डविपरीतका छन्। ती संरचना निर्माण गर्दा मापदण्डको परिपालना नगरिँदा होचा, कच्चा, अग्ला र जोखिमपूर्ण पर्खाल निर्माण भइरहेको उपाध्यायको भनाइ छ।
नारायणहिटी दरबार संग्रहालय वरिपरिको पर्खाल अझै जोखिमयुक्त छ। कुनै बेला पनि ढल्न सक्ने अस्थायी र चर्केको पर्खालले बाटो हिँड्न जोखिमपूर्ण बनाउनुको साथै दरबारको बाहिरी स्वरूपसमेत कुरूप बनाएको छ। भूकम्पले भत्काएको पर्खाल २०७३ मै कामचलाउ ढंगले निर्माण गरिएको थियो। निर्माण गर्दा केही ठाउँमा जगै नै कमजोर पारिएका कारण झन् जोखिमपूर्ण देखिएको छ। केही ठाउँमा फेरि चर्केर धराप बनेको छ। नारायणहिटी दरबार संग्रहालयका पूर्वप्रमुख रोहितकुमार ढुंगानाले आफू अवकास हुनुभन्दा पहिले नै पर्खाल निर्माणको काम अघि बढाएको बताए। ‘मैले त्यो पर्खाल छिटोभन्दा छिटो पुनर्निर्माण हुनुपर्छ भनेर कार्यक्रम अघि सारेको थिएँ, अन्य निकायले समन्वय नगरिदिँदा ढिलो भएको थियो,’ उनले भने ‘अहिले धेरै काम भएको छ, पुनर्निर्माण प्राधिकरणले तीव्र गतिमा काम गरेकाले पर्खालको जोखिम केही समयमै हट्ने देखिन्छ।’
प्रकाशित: २ श्रावण २०७६ ००:४९ बिहीबार