१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

भारतीय मिचाइले बिचल्ली

राजविराज– भारतीय पक्षको एकलौटीपन र हेपाहा व्यवहारका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५, ७ र १२ का पाँच सयभन्दा बढी परिवार तीन दिनदेखि घरबारविहीन अवस्थामा छन्। निरन्तर वर्षाबीच कोही पाल टाँगेर त कोही खुला आकाशमुनि नै लालाबाला तथा वृद्धवृद्धासहित कोसी पश्चिमी तटबन्धमाथि दिन काट्न बाध्य छन्।

‘एक्कासि घरमा छ/सात फिटसम्म पानी पस्यो, धेरैले त खाद्यान्ननसम्म निकाल्न पाएनन्,’ ६ महिनाकी छोरीलाई काखी च्यापेको अवस्थामा पालमुनि भेटिएकी २५ वर्षीया पार्वती सदाले भनिन्, ‘सुरुको २४ घण्टा त भोकभोकै बित्यो। त्यसपछि नगरपालिकाले बाँड्न ल्याएको चिउरा, मुरी र पाल पाइयो।’

हनुमाननगर कंकालिनीका विशेषगरी मुसहर, दलित तथा मुस्लिम समुदायका विपन्न परिवार यसरी बाढीका कारण विस्थापित हुन पुगेका हुन्। हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहका अनुसार भारतीय पक्षले पाइलट च्यानल खनेर नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काइदिएपछि यस्तो अवस्था आइलागेको हो। ‘यसबारे हामीले सात महिनाअघि नै जिल्ला प्रशासन कार्यालय सप्तरीदेखि प्रधानमन्त्रीको कार्यालयसम्मलाई लिखित रूपमा जानकारी गराएका थियौं,’ साहले भने, ‘उनीहरू (भारतीय) ले पाइलट च्यानल निर्माण थालेदेखि नै हामी विरोध गर्दै आएका छौं तर समयमा कसैले ध्यान दिएनन्।’

सो क्षेत्रमा हाल डेढ हजारभन्दा बढी घर डुबानमा परेका छन्। अझै पनि घरभित्र ६ देखि सात फिटसम्म पानी रहेको छ। बाढीका कारण बस्तीका दुई दर्जनभन्दा बढी घर भत्किएका छन् भने कोसी पश्चिमी तटबन्धको १२ नम्बर स्परनजिक रहेका चारवटा घरहरू कटानमा परेको स्थानीयले जानकारी दिए। रातको समयमा बाढी आएकाले घरबाट खाद्यान्नलगायत सामग्रीहरू निकाल्न नसकिएको बाढीपीडितहरूले बताए।

‘एक मुठ्ठी पनि खाद्यान्न निकाल्न सकिएन,’ स्थानीय रितादेवी रायले भनिन्, ‘लत्ताकपडा, कागजात सबै घरभित्रै छ, चारैतिर पानी नै पानी भएका कारण घरसम्म जान सक्ने अवस्था पनि छैन।’ राति बाढी पसेका कारण आफू ज्यान जोगाएर भागेको र पर्सिपल्ट बिहानमात्र सानो नाउ (डुंगा) को मद्दतले बाख्रा, कुखुरा र गाईबस्तुलाई सुरक्षित स्थानमा लगिएको स्थानीय शिवचन्द्र मुखियाले बताए।

भारतीय पक्षको कमजोरीका कारण कोसी र कोसीका सहायक नदीहरूमा प्रभावकारी काम हुन नसक्दा सप्तरीवासी बर्सेनि बाढी र डुबानको पीडा खेप्न बाध्य छन्।

हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय, स्वास्थ्य चौकी, लिलजा ठाकुर आधारभूत विद्यालयमा बाढीको पानी पसेको छ। विद्यालय परिसर र कक्षाकोठाहरूमा पाँच फिटसम्म पानी पुगेको विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार यादवले जानकारी गराए। विद्यालयको कार्यालयमा रहेका कागजपत्र, पुस्तकालयका किताबहरू, बालविकास केन्द्रका शैक्षिक सामग्रीसमेत बाढीका कारण भिजेर नष्ट भएको यादवले बताए।

यता महुली खोलाको बाढीका कारण हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह र पोर्ताहा बस्तीका सयभन्दा बढी घर डुबानमा परेका छन् भने दुई हजार बिघाभन्दा बढी खेतीयोग्य जग्गा बालुबाले पुरिएको छ। सोही नदीको बाढीका कारण कञ्चनरूप नगरपालिकास्थित बैरवा गाउँका तीन सय ५० भन्दा बढी घर डुबानमा परेका छन्। महुली खोलाको बाँध भत्काएर बाढी बस्तीमा पसेको हो। चुरेक्षेत्रबाट निस्केर सप्तरीको भारदह क्षेत्र हुँदै कोसीमा मिसिने महुली खोला कोसीको सहायक नदी हो। कोसी सम्झौताअनुसार कोसी र सहायक नदीहरूको नियन्त्रणको जिम्मेवारी भारत सरकारको हो।

यद्यपि राजमार्ग क्षेत्रमा रहेको पुल सफा गर्नलाई दुई वर्षदेखि सम्बन्धित निकायसँग माग गर्दै आएको भए पनि कसैले ध्यान नदिएको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेसकुमार साहको गुनासो छ। भारतीय पक्षको कमजोरीका कारण कोसी र कोसीका सहायक नदीहरूमा प्रभावकारी काम हुन नसक्दा सप्तरीबासी बर्सेनि बाढी र डुबानको पीडा खेप्न बाध्य हुने गरेको मेयरको बताउँछन्।

गत वर्ष पनि पाइलट च्यानलका कारण हनुमाननगर कंकालिनी नगरपालिकाका–१ का हजारभन्दा बढी घर एक सातासम्म डुबानमा परेका थिए। कोसीमा अचेल सामान्यभन्दा थोरै पनि बहाव बढेपछि पश्चिमी तटबन्ध छेउमा रहेका घरहरू डुबानमा पर्ने गरेका छन्।

कोसीको अर्को सहायक नदी त्रियुगा खोलाको बाढीले जिल्लाको सप्तकोसी नगरपालिका–१ फत्तेपुर बजारक्षेत्रमा पनि डुबानको समस्या उस्तै छ। सप्तरी र उदयपुर जिल्लाको सिमानामा रहेको फत्तेपुर बजार क्षेत्रका तीन सय ५० भन्दा बढी घर अझै पनि डुबानमा रहेको सप्तकोसी नगरपालिकाको कार्यालयले जनाएको छ। खासगरी स्थानीय बांगेबजार क्षेत्रमा बाढी निकास नहुँदा दुई दिनदेखि सो क्षेत्रका दुई सय ५०) भन्दा बढी परिवारको बिजोग भएको स्थानीय कुलमान राईले जानकारी गराए।

उदयपुरतिरबाट आउने त्रियुगा खोला सप्तरी हुँदै कोसीमा मिसिने गर्छ। सो नदी नियन्त्रण गर्नेतर्फ भारतीय पक्षले कहिले पनि तदारुकता नदेखाएको स्थानीय बृजप्रसाद आचार्य बताउँछन्। चुरे क्षेत्रबाट प्रारम्भ भई सप्तरीको तिलाठी–कोइलाडी हुँदै भारत पस्ने खाँडो नदीको बाढीका कारण तिलाठी–कोइलाडी गाउँपालिकाका दुई हजारभन्दा बढी घर अझै डुबानमा रहेको गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले बताए। सिंहका अनुसार गाउँपालिका–१, २, ३, ४ र ५ वडा बाढीका कारण बढी प्रभावित रहेको छ। ती वडाका करिब ५० परिवार विस्थापित भएर अन्यत्र शरण लिन बाध्य भएका छन्। सम्झौता अनुसार खाँडो नदीको रेखदेख तथा नियन्त्रणको जिम्मेवारी पनि भारत सरकारकै हो। तर नियन्त्रण त परै जाओस्, उल्टै भारतीयहरूले दसगजा क्षेत्रमा एकतर्फी रूपमा बाँध बनाएर नदीको निकास नै थुनिदिएका छन्। निकास थुनिएपछि नेपाल तर्फको सयौं परिवार बर्सेनि डुबानमा पर्दै आएको छ।

आठ वर्षयता सप्तरीको तिलाठी तथा भारतको सुपौल जिल्लाअन्तर्गत पर्ने कुनौली ग्राम पञ्चात बीच रहेको दसगजा क्षेत्रमा भारतीयहरूले जबरजस्ती बनाएको बाँधकै कारण सो क्षेत्रमा तीन/चार किलोमिटर जति बहाव क्षेत्र नै पुरिएर यस्तो अवस्था सिर्जना भएको तिलाठी कोइलाडी–१ का अध्यक्ष दिनेश्वर मिश्र बताउँछन्।

‘सप्तरीलाई बर्सेनि झेल्नुपर्ने पीडाको मुख्य कारक भारतीय पक्षको हेपहा व्यवहार र नेपाली पक्षको निरिहता नै हो,’ नागरिक समाजका अगुवा सुखराम यादव भन्छन्, ‘हामीलाई डुबाउने मुख्य नदी भनेको कोसी, खाँडो, महुली र त्रियुगा हुन्। यी सबै नदीको नियन्त्रणसम्बन्धी मुख्य जिम्मेबार निकाय भारत नै हो। तर भारतीय पक्षले यस विषयलाई चासो नदिँदा हाम्रो सरकारले पनि निरिहता देखाउँदै आएको।’

 

प्रकाशित: ३१ असार २०७६ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App