डोल्पा - शनिबार दिउँसो मुड्केचुला गाउँपालिकाको वडा नम्बर १ मा पर्ने काँसिला खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकामध्ये आइतबार दुईजनाको शव फेला परेको छ। बाँकी बेपत्ता ११ जनाको खोजी कार्य जारी छ। बेपत्ताको खोजीका क्रममा आइतबार मुड्केचुला १ काँसिलागाउँकी ४० वर्षीया फूलकुमारी सार्कीको शव काँसिलाखोलादेखि ३०० मिटर तल घट्टेखोला नािरमा फेला परेको हो। सोही ठाउँका ३८ वर्षीय धर्मराज बोहराको शव भने स्थानीय र नेपाल प्रहरीले शनिबार नै घटनास्थलनजिकै खोला किनारमा फेला पारेका थिए। सदरमुकाम दुनैबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक अवेश विष्टसहित नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी गरी ५५ जनाको टोली उद्धारमा घटनास्थल पुगेको थियो।
शनिबार रातभर र आइतबार दिनभर खोजी गरिए पनि एक महिलाबाहेक अन्य ११ जना बेपत्ताको अझै पत्ता नलागेकाले खोजी कार्य जारी रहेको प्रहरी प्रमुख मुकेशकुमार केशरीले बताए। बाढीमा परी बेपत्ता हुनेमा वडा नम्बर १ का १२ वर्षीय धनरूप बोहरा, १२ वर्षीया सारिका बोहरा, १२ वर्षीया वृहस्पति बोहरा, ६ वर्षीया यमुना बोहरा, १३ वर्षीया सुना सार्की, २२ वर्षीय पञ्चराम सार्की, ६५ वर्षीय कालीबहादुर बोहरा, २३ वर्षीय लवकुमार रोकाय, ७ वर्षीय निर्मल बोहरा, १३ वर्षीया सुना सार्की र रंगी बोहरा छन्। उनीहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए। कालीबहादुर बोहरा सिँचाइ योजनाको १५ लाख रुपैयाँ लिएर गाउँतर्फ जानेक्रममा बाढीमा परेर शनिबार बेपत्ता भएको बताइएको छ। घटनास्थल सदरमुकाम दुनैबाट दुई दिनको पैदल दूरीमा पर्छ।
शनिबार आएको बाढीले काँसिलाखोलानजिक रहेका जंगबहादुर बोहरा, रत्नी बोहरा र धर्मराज बोहराको घर र ४ ओटा घट्ट, फलमे पुल १ काठेपुल १ र काँसिला जलविद्युत् आयोजनाको पावरहाउससमेत बगाएको छ। प्रमुख जिल्ला अधिकारी केशरी र प्रहरी नायब उपरीक्षक विष्टको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको ५५ जनाकोे उद्धार टोली शनिबार राति नै खबर प्राप्त हुनासाथ २ बजे घटनास्थलमा पुगेको थियो। बेपत्ता बनाएदेखि उद्दारको लागि कर्णाली प्रदेश सरकार र डोल्पाबाट निर्वाचित प्रदेश सासंदलाई स्थानीयले गुहार मागे पनि घटनास्थलमा प्रदेश सरकारका तर्फबाट कोही पनि पुग्न सकेको छैन। प्रदेश सांसद वीरबाहदुर शाही र बदमी बोहरा(बूढा)ले हेलिकोप्टरसहित आफूहरू आउन लागेको र आवश्यक राहत र शव पोष्टमार्टमका लागि संघीय सरकार र प्रदेश सरकारलाई पहल गरे पनि सुनुवाइ नभएको बताए। प्रदेश सरकार र संघीय सरकारबाट सहयोगको आशा गरेकोमा यति ठूलो घटनामा समेत उपस्थिति नहुनुले आफूहरूलाई उपेक्षा गरेको हो कि भन्ने लागेको भानुभक्त बोहराले बताए।
प्रकाशित: ३० असार २०७६ ०१:४४ सोमबार