२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जलमग्न पर्साः दर्जनौं सडक बाढीले बगायो, एक बालकको डुबेर मृत्यु

पर्साको गर्दौल थरुहट सडकखण्डको रामनगरी नजिक बाढीले बगाएको र डुबानमा परेको सडक ।तस्विरःरितेश त्रिपाठी/नागरिक

रितेश त्रिपाठी– उदेकलाग्दो गर्मीले आजित पर्सावासीले पर्खेको झरी बुधबारदेखी पर्न सुरु भएर अबिरल भइदिएपछि अब डुबान र बाढीको समस्याले घेरेको छ। जिल्लाका दर्जनौं सडकहरु बढीको डुबान र कटानले अवरुद्ध भएका छन् भने पार्सगढी नगरपालिका वडा १ मा दश वर्षे बालकको डुबेर मृत्यु भएको छ। जिल्लाका सबै नदीहरुको पानीको बहाव उच्च भएको छ। दर्जन बढी बस्तीहरु समेत डुबानमा परेका छन्।

‘लगातार भएको वर्षाले गर्दा नदीहरुको जलस्तर बढेको छ, जिल्ला भरी नै प्रभाव परेको छ,’ पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने, ‘एक जना बालकको डुबेर शुक्रवार बिहान मृत्यु भएको छ, अन्य कुनै ठुलो क्षतिको सूचना छैन, जिल्लाभरी नै चनाखो रह्ने अवस्था छ।’ सिरानमा रहेको राष्ट्रिय जंगलबाट बाढीको भेलसँगै बगेर आउने काठ दाउरा पार्सागढी वडा नम्बर १ मनवास्थित खोलाबाट निकाल्न गएकामध्ये १० बर्षे निखिल पटेललाई खोलाले बगाएको थियाे। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उद्धार गरेर वीरगन्जस्थिजत गण्डक अस्पतालमा पुर्याउदा त्यहाँका चिकित्सकले बालकलाई मृत घोषित गरेका थिए।

बौगी, सिर्सिया, तिलावे, ढँगही, नवरंगिया, भँलुही, सिक्टा र ओरिया, बागमोर्चा, ओडार र ठुटे लगायत जिल्लाका खोला–नदीहरुमा पानीको स्तर बढेको छ। ओरिया र सिक्टा नदीको पानीले जिल्लाको पश्चिमी भागका गाउँ बस्तीलाई डुबानमा पारेको नेपाल रेडक्रस सोसाइटी धोबिनी उपशाखाका अध्यक्ष तबरेज अहमदले बताए। उनले आकास्मिक राहत तथा उद्धार आवश्यक पर्न सक्ने अवस्था देखेर बिभिन्न संघ संस्थासंग समन्वय स्थापित गरिरहेको बताए। रोपाइको लागि बिउ र खेत दुबै तयार रहेको बेला हजारौं बिगहा खेतहरु डुबानमा परेको किसान ललन प्रसादले बताए।

त्यस्तै चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको पश्चिमी सीमावर्ती गाउँपालिका ठोरीको जनजीवन बाढीले प्रभावित भएको छ। वन क्षेत्रबाट निस्केका खहरे खोलाहरुमा आएको बाढीका कारण सवारी साधनको आवागमन अवरुद्ध भएको छ। ठोरीदेखी वीररगंज र ठोरीकै सुवर्णपुर देखी नारायणगढ हुँदै काठमाडौ चल्ने यात्रुबाहक सवारीहरु चल्न सकेका छैनन्। बिद्युतको खम्बा ढलेर विद्युत आपुर्ती बिहीवारदेखी अवरुद्ध छ।

ब्यापारिक नगरी डुबानमा
यता पहिलो झरीले नै सदरमुकाम वीरगन्जलाई जलमग्न बनाएको छ। अविरल वर्षाले ब्यापारिक नगरीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वीरगन्जको रानिघाट, श्रीपुर, मुर्ली नयका टोला, नगवा, भिषुवा, रामगढवा, वीर्ता, छप्कैया आदर्शनगर लगायतका क्षेत्रहरु डुबानमा परेका हुन्। वीरगन्जको मुख्यबजार क्षेत्रमा समेत पानीले निकास नपाउदा सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ। नगर क्षेत्रको घरायसी र बर्खे पानी निकासका लागि सावा २ अर्ब रुपैयाँमा कार्यान्वयन गरिएको ‘एकीकृत मझौला सहरी वातारण सुधार परियोजना’का नालाहरुले सहरको पानीको निकास धान्न सकेका छैनन्।

पर्साको गर्दौल थरुहट सडकखण्डको रामनगरी नजिक बाढीले बगाएको र डुबानमा परेको सडक ।तस्विरःरितेश त्रिपाठी/नागरिक
पर्साको गर्दौल थरुहट सडकखण्डको रामनगरी नजिक बाढीले बगाएको र डुबानमा परेको सडक ।तस्विरःरितेश त्रिपाठी/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App