खोटाङ – विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा दुवै हात र दायाँ खुट्टा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुंगानालाई अमेरिकामा रहेका शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको छ। नेपाल विद्युत् प्राधिकरण शाखा दिक्तेलको दैनिक ज्यालादारी मजदुरका रूपमा कार्यरत उनले २०७० चैत १६ गते करेन्ट लागी हातखुट्टा गुमाएका थिए।
उनलाई हाल क्यालिफोर्नियामा रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बाबु आचार्यको पहलमा संकलित एक लाख १४ हजार दुई सय रुपैयाँ प्राप्त भएको हो। डढेको हातखुट्टा फालिएपछि केही गर्न नसक्ने अवस्थामा पुगेका ढुंगाना परिवारको सहज जीवन–यापनका लागि आचार्यले अमेरिकामा सहयोग रकम संकलन गरेर पठाएका हुन्। आचार्यले आगामी दिनमा पनि सहयोग संकलन गरी पठाउने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित: २६ असार २०७६ ०४:४३ बिहीबार