९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

विद्यार्थी संगठन र यातायात व्यवसायीबीच पाँच बुँदे सहमति

रसुवा– यातायात व्यवसायी कम्पनीले कानुन विपरित सञ्चालन गरेका थोत्रा, पुराना र मापदण्ड विपरितका सार्वजनिक यातायातका सवारी साधन तत्काल हटाइने भएको छ। यस्ता सवारी साधनले दुर्घटनाको जोखिम बढेको भन्दै जिल्लामा क्रियाशील विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम अघि बढाएपछि दुई पक्षबीच शुक्रबार भएको छलफलले निर्णय गरेको हो।

छलफलबाट पासाङ ल्हामु मार्गको रसुवा खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनका लागि व्यवसायी र विद्यार्थी संगठनबीच पाँच बुँदे सहमति भएको छ। यातायात व्यवस्थापनको क्षेत्रमा रहेका विविध समस्याको समाधानको लागि तत्काल प्रक्रिया अघि बढाउने सहमति भएको अनेरास्ववियूका केन्द्रीय सदस्य सुरेश अधिकारीले बताए।

सार्वजनिक यातायातका सवारी साधनमा नेपाल सरकारको प्रचलित नियम अनुसार विद्यार्थी, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई दिने छुट र सहुलियतलाई पूर्ण कार्यान्वयन गरिने छ। छुट सहुलियतका लागि सम्बन्धित व्यक्तिले छोटो दूरीमा कार्ड र लामो दूरीमा परिचयपत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्ने सहमति भएको उनले बताए।

सार्वजनिक यातायातका साधनले अतिरिक्त सेवाको रूपमा सेवा लिँदै आएपनि सेवा दिने गरेका छैनन्। यसको समाधानको लागि १५ दिनको समय सीमा तोकिएको छ। व्यवसायीले १५ दिनभित्र यात्रुलाई सुविधा वापत पानी दिनुपर्ने, टिभी, पंखा, वाइफाई, एसी लगायतका सामग्रीको व्यवस्था गर्ने तथा बिग्रिएको भए मर्मत गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

‘यस क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातले दिने सेवामा जनगुनासो आएपछि हामीले छलफल गरेका हौँ, उनले भने, यसको कार्यान्वयन पक्षलाई समेत हामीले प्राथमिकता दिएका छौँ।’ यही असार २८ गते बस्ने बैठकले टाइम कार्ड, अतिरिक्त सुविधा र यातायात विभागबाट निर्धारित भाडादर बमोजिम आन्तरिक भाडादर पुनरावलोकन गर्ने सहमति भएको अनेरास्ववियू (क्रान्तिकारी) रसुवाका अध्यक्ष अर्जुन पौडेलले बताए।

राज्यको नीति तथा मापदण्ड विपरित लिने गरिएको भाडा असुली बन्द हुनुपर्ने, धेरै प्रदुषण गर्ने थोत्रा र असुरक्षित खालका सवारी साधन सञ्चालनमा रोक लगाइनुपर्ने माग राख्दै आन्दोलनको तयारी गरेका संगठनले तत्कालका लागि आन्दोलनको कार्यक्रम स्थगित गरेका छन्।

यसअघि जिल्ला प्रशासन कार्यालय रसुवा र यातायात कम्पनीलाई ज्ञापनपत्र बुझाउने काम भएको भन्दै नेपाल विद्यार्थी संघ रसुवाका कोषाध्यक्ष सन्दिप पौडेलले असार २८ गतेसम्म थप कार्यक्रम नगरिने बताए।
    

प्रकाशित: २० असार २०७६ १४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App