१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पञ्चपुरीमा केवलकार, प्याराग्लाइडिङ र र्‍याफ्टिङ

पाँचौं नगरसभाका नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर मुक्ती रेग्मी पुरी । नगेन्द्र/नागरिक

सुर्खेत– पञ्चपुरी नगरपालिकाले पाँचतले गुफा हुँदै पलैँटेसम्म केबलकार सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा पञ्चपुरी नगरपालिका–१ को पाँचतले गुफादेखि वडा नम्वर–२ को पलैटेसम्म केबुलकार सञ्चालनमा ल्याइने उल्लेख छ। 

‘केबुलकारको संभाव्यता अध्ययनका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौं’ मेयर उपेन्द्रबहादुर थापाले भने, ‘धार्मिक एवम् पर्यटकीय क्षेत्र भएकाले यहाँ केवलकारको आवश्यकता महशुस गरेका हौं।’ पाँचतले गुफा पञ्चपुरीको सबैभन्दा अग्लो ठाउँ हो।

यस्तै पाँचतले गुफा नजिकै रहेको सालेकोटडाँडाबाट पलैंतेसम्म प्याराग्लाइडिङ सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ। पर्यटकीय तथा धार्मिक क्षेत्रले नगरपालिका धनी भएपनि आवश्यक भौतिक पूर्वाधार, सडक पहुँच र प्रचार–प्रसारको अभावले यि क्षेत्र ओझेलमा पर्दै गएका छन्। नगरपालिकाले आफैले आगामी आर्थिक वर्षदेखि भेरी र कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनमा ल्याउने जनाएको छ।

‘यसका साथै आदीवासी राजी जातिहरुको बसोबास रहेको तातापानीमा होमस्टे पनि सञ्चालनमा ल्याउँदैछौं’ मेयर थापाले भने ‘आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा पर्यटन प्रवद्र्धनलाई महत्व दिएका छौं।’

नगरपालिकाले महिलाको नाममा सम्पत्ति प्राप्त हुने गरेर गरिने सिफारिस एवम् प्रमाणितमा लाग्ने शुल्क तथा दस्तुरमा १० प्रतिशत छुट दिने नीतिलाई आगामी वर्षमा पनि निरन्तरता दिने भएको छ। यस्तै सबैभन्दा धेरै र नियमित कर तिर्ने ११ वटै वडाबाट एक–एक जनालाई सम्मान गर्ने नीति लिएको छ।

यस्तै नगरपालिकाले वडा नम्वर ५, ९, १० र ११ लाई बदाम खेतीको पकेट क्षेत्र घोषणा गरेको छ। पहिलो चरणमा यि वडाका कृषकहरुलाई वीउमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै वडा नम्वर १, २, ६, ७ र ८ लाई टिमुर, तेजपातलगायतका जडिबुटीको पकेट क्षेत्र घोषणा गरिएको मेयर थापाले जानकारी दिए। नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउका लागि एक हजारबढी कुखुरापालन गर्ने कृषकलाई खोर निर्माणका लागि अनुदान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै लोकल कुखुरा फार्म, टर्की, लौकाट, माछापालन, बंगुरपालनलगायतमा पनि अनुदानको व्यवस्था नगरपालिकाले गरेको छ। नगरपालिकाले व्याप्त छुवाछुत, छाउपडी, बोक्सी, बालविवाहजस्ता कुरुति अन्त्य गर्नका लागि विशेष कार्यक्रम ल्याएको जनाएको छ। ‘नगरपालिकामा अझै पनि जातीय छुवाछुतका साथै छाउपडी कुप्रथा कायमै छ’ उपमेयर मुक्ती पुरी रेग्मीले भनिन्, ‘यसको अन्त्यका लागि विशेष कार्यक्रम ल्याएका छौं।’ उनले छुवाछुत र छाउपडी प्रथालाई प्रोत्साहन गर्नेलाई कानुनी कारवाहीका साथै सरकारी सेवा–सुविधा रोक्का गर्ने नीति अवलम्वन गरिएको बताइन्।

नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेलाई दिँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिएको छ भने ‘एक वडा, एक खेलकुद मैदानलाई आगामी आर्थिक वर्षभित्र पूर्णता दिने जनाएको छ।

प्रकाशित: १० असार २०७६ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App