८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

हरेक दिन योग दिवस

नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ। विश्व योग दिवस भने जुन २१ का दिन मनाउने चलन छ। शुक्रबार विश्व योग दिवस मनाइयो। वास्तवमा हामीले वर्षका दुई दिन मात्र होइन, हरेक बिहान योग अनुशासनसहित योग व्यायाम गरेर निरोगी रहने अभ्यास गर्नु पर्छ। यसरी हरेक दिन योग दिवस मनाउन सकिन्छ।

तर, आजकल सबैले व्यायाम गर्नुलाई मात्र योेग भनेर बुझ्ने चलन छ। बाहिरी सुन्दरता बढाउन योग आसन र व्यायाम गरिन्छ। तर, योग शरीरको व्यायाम गर्न मात्र नभई मनको सुन्दरता बढाउन पनि गरिन्छ। मन सुन्दर भए बाहिरी आवरण सुन्दर हुन्छ। त्यसैले योग भनेको शारीरिक व्यायामका साथै मनोविकारबाट मुक्त हुनु पनि हो।
योगमा शारीरिक लचकता बढाउन गरिने आसन–व्यायामलाई योग व्यायाम भनिन्छ भने मनको लचकता बढाउन गरिने प्राणायाम ध्यानलाई योग अनुशासन।

योग के हो ?
योग अनुशासन + योग व्यायाम = योग।
‘निरोग–आनन्द र स्वतन्त्र’ हामी सबैको जन्मसिद्ध स्वरूप हो। तर, आजकल मानिस बालक अवस्थादेखि नै विभिन्न मनोविकारका कारण रोग र दुःखको बन्धनमा छन्। मानिसमा आउने समस्या दुई प्रकारका हुन्छन्–शरीरिक रोग र मानसिक दुःख।

शरीरमा देखिने समस्यालाई शारीरिक रोग भनिन्छ भने मनमा आउने समस्यालाई दुःख। शरीर र मनमा आउने रोग र दुःख विचार नमिलेर आउँछ। त्यसैले हामीले गर्ने विचार उचित हुनुपर्छ।

दुःख के हो ?
दुःखको मूल कारण अनुचित विचार हो। विचार मनमा आउँछ। त्यसैले मनले दुःख छ भनेर मान्ने काम गरेमा मात्र दुःखी हुन्छ। अहिले हामी जे पनि मन परेर खाने, मन नपरेर नखाने गर्छौं। मन परेको चिज धेरै खाँदा त्यसको मात्रा बढी भएर शरीरमा समस्या आउँछ भने मन नपरेको चिज नखाँदा पनि त्यसको कमीले समस्या आउँछ। त्यसैगरी हामी मन परेको काम गर्ने र मन नपरेको काम नगर्ने गर्छौं। मन परेको काम गर्न पाउँदा खुसी हुने र नपर्ने काम गर्नु पर्दा दुःखी र निराश हुन्छौं। त्यसैगरी हामीले मान्ने र नमान्ने काम गरेमा पनि दुःख हुन्छ। त्यसैले मन पर्ने–नपर्ने र मान्ने–नमान्ने भावबाट मुक्त भई जे गर्नु पर्ने हो, त्यो गर्दा दुःख हुँदैन।

अहिले हामी मनको वशमा परेर दुःख मान्दा रोगी र दुःखी भएका छौं। योगले मानिसलाई जीवनका दुःखरूपी भाव र शारीरिक रोगबाट मुक्त गराई निरोगी, आनन्दित र स्वतन्त्र भई सरल जीवन जिउने बाटो देखाउँछ। त्यसैले योग दुःख मुक्तिको शास्त्र हो।

महर्षि पतञ्जली यस विज्ञानका प्रस्तोता हुन्। उनले सरल रूपमा योगको सूत्र दिएका हुनाले पतञ्जली योग सूत्रलाई योगको आधिकारिक ग्रन्थका रूपमा बुझिन्छ। तर, योगको वर्णन शिव संहिता, हठ योग, श्रीमद्भागवत गीतामा पनि पाइन्छ। परापूर्वकालमा प्राणीहरू रोगी र दुःखी भएकाले भगवान् शिवले प्राणीलाई रोग र दुःखबाट मुक्त गराई निरोगी बनाउन योग सिर्जना गरेको वर्णन पाइन्छ।

जे जस्तो भए पनि योगको सार भने एउटै हो– निरोग, आनन्द र स्वतन्त्र।
मानिस रोगी र दुःखी हुनुको मूल कारण मानसिक बन्धन अर्थात् मनमा रहेको वृत्ति हो। पतञ्जली योग शास्त्रले भनेको छ– चित्तमा वृत्ति निरोध भएको अवस्था नै योगको अवस्था हो।
मनको वृत्ति भन्नाले मनमा आउने नराम्रा विचार हुन्। योगमा चित्तका वृत्तिहरूलाई धेरै प्रकारमा व्याख्या गरे पनि सरल रूपमा दुई भागमा बाँडिएको छ– सकारात्मक र नकारात्मक वृत्ति। सकारात्मक मन पर्ने र मान्ने भाव र नकारात्मक मन नपर्ने र नमान्ने भाव।

रिस, मोह, ईष्र्या, घमण्ड, डाहा, निराशा, अपमानबोध नकारात्मक विकार हुन् भने मन पराउनु, कुनै कुरा पाउँदा खुसी हुनु, मोजमजा गर्नु सकारात्मक विकार हुन्। योगले यी दुवै विकारबाट मुक्त गराई सत्य ज्ञानको बोध गराउँछ।

योगले निरोगी बनाउँछ। तन र मन दुवैलाई सुन्दर बनाउन सघाउँछ। त्यसैले सानैदेखि नियमित योग अभ्यास गर्नु पर्छ। सरकारले पनि विद्यालय तहको पाठ्यक्रममै अनिवार्य योग शिक्षा राख्नु पर्ने देखिन्छ।

योग अनुशासन
 योगमा मनको विकार हटाउन आठ अंग प्रस्तुत गरिएको छ जसलाई योग अनुशासन भनिन्छ। ती हुन्– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार,  धारण, ध्यान र समाधि। यी आठ अंगमध्ये ६ वटाले मनलाई बन्धनबाट मुक्त गराउन एकांग गर्ने विधि सिकाउँछ भने २ वटा अंग (आसन र प्राणायाम)ले शरीरलाई लचिलो र खँदिलो बनाउन सहयोग गर्छ।
योगका आठ अंगमा पनि यम र नियममा ५/५  अनुशासन छन्।

यमका ५ अनुशासन
अहिंसा: मन, वचन र कर्मले कसैको हिंसा नगर्नु।
सत्य : झूठो नबोल्नु।
अस्तेय: चोरी नगर्नु।
ब्रम्हचर्य: यौन संयम अपनाउनु।
अपरिग्रह: धन र भोग विलासिताका साधन अति संग्रह नगर्नु।

नियमका ५ अनुशासन
शौच : शरीरको बाहिरी र मनको भित्री सफाइ गर्नु।
सन्तोष: आफूसँग जे छ त्यसमा असन्तुष्ट नहुनु, लोभ नगर्नु।
तप:टुंगोमा पुग्ने गरी वा निरन्तर गर्नुपर्ने निरन्तर गर्नु।
स्वाध्याय: स्वाध्ययन जारी राख्नु।
ईश्वर प्राणीधान: स्वरूपलाई आचरणमा उतार्र्नु।

यीमध्ये यम र नियमका अंगका अनुशासनलाई मात्र हामीले व्यावहारिक जीवनमा अनुशासित रूपमा पालन गरेमा जीवनको अर्थ बुझिन्छ।

योेग व्यायाम–योग अनुशासन सहितको योग अभ्यासले शरीर र मनलाई स्वस्थ बनाउँँछ ।  चंञ्चल  मनमा  एकाग्रता बढाई सिर्जनात्मक कार्र्यमा  जागरुक बनाउँछ।

योग सबै उमेर समूहलाई जरुरी छ।  
योग–व्यायाम र ध्यान गर्दा लाभ हुन्छ। तर, आसन र ध्यान कुनकुन गर्ने र कति पटक गर्ने भन्नेमा मानिस अलमलमा छन्। यही अलमल हटाउन प्रकृतिप्रेमी समूहका संस्थापक डा. उमेश श्रेष्ठले १ घन्टे योग–व्यायाम–प्राणायाम–ध्यानको सेट करिब २० वर्षअघि नै सरल रूपमा बनाउनुभएको छ। यसमा उभिएर, बसेर, उत्तानो सुतेर, घोप्टो सुतेर गर्ने व्यायाम–आसन, सूर्य नमस्कार र सरल–प्राणायाम ध्यान समेटिएको छ।

सामान्यतः ७–८ वर्षदेखि ज्येष्ठ उमेरका सम्मले आपूm अनुकूलका योग गर्न सक्छन्। ८ वर्ष माथिकाले बिहान एक घन्टा अभ्यास गर्दा लाभदायक हुन्छ। योग–व्यायाम आपैmंले राम्रो अध्ययन गरेर पनि गर्न सकिन्छ, त्यसो गर्न नसके योगाभ्यासमा अनुभवीसँग सिकेर गर्नुपर्ने हुन्छ। योग–व्यायाम श्वास–प्रश्वास र आसनहरूको समायोजन भएकाले शरीर संचालनको तालसँग श्वासको ताल मिलाउनु पर्छ। आसन सकिनसकि बलपूर्वक गर्नु हुँदैन। निरन्तर प्रयास गर्दै जाँदा लचकता बढ्दै जान्छ।

योगमा सुतेर गर्ने आसनले पेट घटाउन सहयोग गर्छ। कम्मर मर्काएर उठेर गर्ने आसनले कब्जियत खुलाउँछ। प्राणायाम र ध्यानले मनमा एकाग्रता बढाई शान्त बनाउँछ।
 
योग–व्यायामसँगै उचित आहार पनि हुनुपर्छ। मानिसहरू ‘योग गरेर पनि मोटोपन घटेन’ भनेर गुनासो गर्छन्। उचित आहार र विचारसहित योग–व्यायाम गरेमा मात्र पूर्ण लाभ हुन्छ, व्यायाम मात्रले क्षणिक लाभ हुन्छ। शरीरको शुद्धीकरण गर्न उचित आहार हुनुपर्छ, शरीरलाई बलियो र लचिलो बनाउन योग व्यायाम चाहिन्छ भने मनको शुद्धीकरणका लागि योग अनुशासन। उचित खानपान र नियमित व्यायामले जीर्ण रोगहरू उच्च रक्तचाप, मधुमेह, टाउको दुखाई, मुटु रोग जस्ता रोग निको पार्न सहयोग पुग्छ।

त्यसैले हरेक व्यक्तिले सदा योग अनुशासनमा रहेर बिहान १ घन्टा योग–व्यायाम गर्नु लाभदायक हुन्छ। योग जहाँ जस्तो बेला पनि गर्न सकिन्छ। घरभन्दा टाढा बहुदिने भ्रमणमा जाँदा होस् वा बहुदिने टे«किङमा निस्कँदा योग–व्यायाम गर्नाले कार्य क्षमता र हिँड्ने क्षमता राम्रो हुन्छ।

पदयात्राले हातखुट्टाका जोर्नीको कसरत हुन्छ। तर, योगले सम्पूर्ण शरीरको व्यायाम हुन्छ। पदयात्रामा सरल–प्राणायाम ध्यान गर्दा थाकेको शरीरलाई पुनर्ताजगी दिन्छ। तर, ध्यान दिनु पर्ने कुरा योग बिहान खाली पेटमा गर्नु उपयुक्त हुन्छ। अरु बेला गर्नु परेमा भारी खाना खाएको कम्तिमा ४ घण्टा र फलफूल खाएको २ घण्टापछि गर्नुपर्छ। योग–व्यायाम र योग अनुशासन सर्वकालिक र सर्वदेशीय महत्वको हुनाले त्यसलाई दैनिक जीवनमा आचरण बनाउनु सबैका लागि सधैंका लागि कल्याणकारी हुन्छ।

अब कुरा गरौं, योग दिवसको। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१६ जुन २१ देखि विश्व योग दिवस मनाउन थालिएको हो। नेपाल सरकारले २०७२ साउन २८ गते माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो। त्यही वर्षदेखि हरेक माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ। यसअघि २०३६ सालदेखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगका क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा माघ १ गतेलाई विश्व योग दिवसका रूपमा मनाउने गरिन्थ्यो। तर, मोदीको प्रस्ताव अनुसार जुन २१ मा विश्व योग दिवस मनाउन थालेपछि नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।

त्यसैगरी बाबा रामदेवले योगलाई विश्वव्यापी बनाउन मुख्य भूमिका खेलेका छन्। नेपालमा भने योग दिवस मनाउनुअगाडि देखि नै डा. हरिप्रसाद पोखरेल, प्रकृतिप्रेमी समूह, निरोगधामका संस्थापक डा. उमेश श्रेष्ठ लगायतले व्यावहारिक जविनमा योग अनुशासन सहित योग व्यायामलाई जिवनको अंग बनाएर राज्यमा योग चेतना फैलाउने काम गरिरहेका छन्। 

योगबाट फाइदा मात्रै छ। त्यसैले हरेक मान्छेले बाल्यकालदेखि योग अभ्यास गर्ने वातावरण बनाउनु पर्छ। योगलाई वृद्ध अवस्थामा मात्र गर्ने भन्ने बुझ्नु हुँदैन। सानो बेलामै योग अनुशासन बुझेमा रिस, डाह, घमण्ड जस्ता नकारात्मक विचारहरू हटाई बालबालिकालाई शान्त, सरल, सहयोगी र धैर्य बनाउँछ। जसले गर्दा स्वस्थ समाज सृजना हुन सहयोग पुग्छ।

त्यसैले सरकारले पनि विद्यालय तहको पाठ्यक्रममै अनिवार्य योग शिक्षा राखेर योग तथा व्यायामका लागि प्रोत्साहित गर्नु जरुरी देखिन्छ।   
आउनुस्, योग अनुशासन र योग व्यायामलाई जीवनको अंग बनाऔं। जीवनलाई निरोगी, आनन्दित र स्वतन्त्र बनाऔं।
(महर्जन योग प्रशिक्षक हुन्।)

प्रकाशित: ७ असार २०७६ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App