२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विद्यालय बन्द, बिरामीको संख्या बढ्यो

भैरहवा - विगत एक सातादेखि बढेको अत्याधिक गर्मीका कारण भैरहवाको जनजीवन अस्तव्यस्त भएको छ। सामान्यतया अन्य ठाउँभन्दा बढी नै गर्मी हुने भैरहवामा तापक्रम बढ्दै जान थालेपछि जनजीवन थप कष्टकर बन्दै गएको हो।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्ने र चले पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएको छ। अत्याधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ। बिहीबारदेखि बढ्दै गएको तापक्रम शनिबार नेपालकै उच्च तथा भैरहवाको विगत ५ वर्षकै बढी ४३ दशमलव ३ रहयो, आइतबार र सोमबार पनि तापक्रम सोही दरमा रहेकोले स्थानीयको जनजीवन अझै अस्तव्यस्त बनेकोे छ।

बिहानबाट शुरु हुने गर्मीले खास गरी दैनिक ज्याला मजदुरी र खेती किसानी गर्नेहरु मारमा परेका छन्। गर्मीका कारण लु लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्या देखिन थालेका छन्। अति आवश्यक काम बाहेकका बेलामा भने मानिसहरु घर बाहिर निस्कन छोडेका छन्।

गर्मी बढेका बेला विद्युत पनि नियमित छैन। विधुत प्राधिकरण्ले  लोडसेडिङ छैन भने पनि समय समयमा अघोषित रुपमा विद्युत गइरहन्छ। भएको विधुतमा पनि लो बोल्टेज र ट्रिपिङको समस्या छ। औसतमा नियमित विद्युत् आपूर्ति नहुँदा बढ्दो गर्मीमा सर्वसधारण झनै पिरोलिएका छन्।

विद्यालयमा बिदा
बालबालिकालाई गर्मीले सताएपछि सिद्धार्थनगर नगरपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द गर्न परिपत्र गरेको छ। सिद्धार्थनगर नगरपालिकाले आइतबार सूचना जारी गर्दै आफ्नो क्षेत्र भित्र रहेका विद्यालयहरुमा एक साताका लागि बन्द गर्न परिपत्र गरेको छ। यस्तै छिमेकी स्थनीय निकाय तिलोत्तमा नगरपालिकाले समेत बिदा दिएको छ भने  रोहिणी गाँउपालिकाले ४ गते देखि परीक्षा राखेकोले बिहानी समयमा कक्षा संचालन गरिरहेको छ।

बिरामीको चाप
गर्मी बढेसँगै अस्पतालमा बिरामीहरुको संख्या पनि बढेको छ। अस्पतालका अनुसार अहिले बढेको गर्मीका कारण बिरामीको संख्यासरदर भन्दा दोब्बर भएको छ। भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, पिसाब संक्रमण, जलवियोजन लगायतका बिरामीको संख्या बढ्दै गएको ओमसतियाका अहेब नेत्र न्योपानेले बताए। बढी घाममा काम गर्दा, हिड्दा, पर्याप्त पानी नखादा मानिसहरुमा हिट स्ट्रक जस्ता समस्या आउने गरेका छन्। 

भैरहवाको भीम अस्पताल, मेडिकल कलेज, सिटी हस्पिटल र अन्य निजी अस्पतालमा पनि बिरामीको चाप बढेकोले चिकित्सकलाई भ्याइ नभ्याइ छ। भीम अस्पतालका आकस्मिक कक्षका अहेब गोपाल उपाध्यायको अनुसार ‘ इमरजेन्सीमा अन्यबेला ४०÷४५ जना बिरामी आउँथें। केही दिनयता बढेको गर्मीका कारण त्यो संख्या सय भन्दा माथि पुगेको छ। हिजो मात्रै करिब १ सय ५० जना बिरामी आएका थिए।’

उनकाअनुसार शनिबार ओमसतिया गाउँपालिका वडा नं ३ हाटिफर्साटिकरका सञ्जय कहांरको परिवारका ७ जना झाडापखला लागेर अस्पताल आएका थिए। सबैको अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनीहरुले ठुटिपीपिलबाट मासु लगेर पकाएर खाई सुतेका थिए। राति सबै परिवारलाई झाडापखला लागेपछि अस्पताल आएका हुन्।

गर्मीका कारण शरीरमा घमौरासहित अन्य समस्याहरु आउने भएकोले सकेसम्म घरबाहिर निस्कन नहुने स्वास्थ्य कार्यालय रुपन्देहीको सुझाव छ। निस्किहाल्नुपरेमा पातलो कपडा शरीर छोपिने गरी लगाउने र सक्दो पानी पिउने बाहिरी खुला रुपमा राखेका खाना नखाने, खादा र ताजा खाना खाने  गर्मीले लु लाग्ने भएर मान्छे मुर्छित भएर उच्च रक्तचाप बढ्ने र मस्तिष्कघात, हृदयघात, पक्षाघातलगायतका रोग लाग्ने भएकोले सतर्कता अपनाउन स्वास्थय कार्यालयले अनुरोध गरेको छ।

गरिखाने बिचल्लीमा
बढेको गर्मीका कारण खुला आकाशमुनि काम गरेर छाकको जोहो गर्नेहरु यतिबेला आकुलव्याकुल छन्। भैरहवाको बुद्धचोकमा उखुको रस बेच्ने शिवकुमार यादवको व्यापार घटेको छ। अरू बेला मान्छेको ओहोरदोहर हुन्थयो बाटो हिँड्ने यसो रोकिएर जुस खान्थे। तर गर्मी बढेसँगै मान्छेको चहलपहल छैन व्यापार पनि छैन, उनले भने
त्यस्तै रिक्सा चलाउँदै आएका आसराम यादवलाई ३ दिनदेखि रिक्साको भाडा तिर्न समेत कठिनाई भएको छ। उनले भने, ‘दैनिक १ सय ३० रुपैयाँ साहुंलाई भाडा दिनुपर्दछ। बिहानदेखि अहिलेसम्म एकजना यात्रु पाएको छैन। धेरै गाह्रो भयो।’

खुला आकाशमुनि जुत्ता सिलाएर दैनिक गुजारा चलाउने दीपचन्द हरिजनले व्यापार नै नभएको बताए। बर्मेलीटोलमा रुखको छहारीमुनि ग्राहक कुरेर बसेका उनले भने, ‘के गर्नु सर ? कोही आएको छैन। हिजो पनि दिनभर बसियो। आज पनि अहिलेसम्म एक जना मान्छे आएको छैनन्।

गर्मी बढेसँगै बजारमा भएको मानिसहरुको चहलपहलको कमीका कारण व्यापार व्यवसायमासमेत कमी आएको छ। सधै जसो भिडभाड हुने ठाँउ भैरहवाको गल्लामण्डी, बैक रोड, आवारोड, मैत्री पथमा चहलपहल निकै कम छ। एसी, कुलर, टेबल पखां, फ्रिजको बिक्री केही बढेपनि समग्र रुपमा आर्थिक करोबार भने न्यून भएको सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष भिष्म न्योपानेले बताए।

किसान चिन्तित
असार लाग्दा समेत पानी नपर्दा कृषक भने चिन्तित बन्न थालेका छन्। एकातिर मल नपाएर चिन्तित छन भने जसो तसो गरेर धानको बिउ छरेको ब्याड गर्मीले सुकेर पहेंला भएका छन्। खोला नालाहरुमा पानीको सतह निकै घटेको छ सिचाई गर्ने व्यवस्था पनि छैन। परपर बाट पम्पसेटबाट पानी चलाए पनि केही घण्टामै सुकेर कक्रक्क परेका छन्। गर्मी धेरै छ, वर्ष पनि भएको छैन, बिउ छरिएको खेत चिरा चिरा परेको छ रोपाईका लागि पानी कुर्नु पर्ने अवस्था छ ओमसतिया गाउँपालिका ६ नरैनापुरका कृषक धर्मदेव धवलले भने।

प्रकाशित: २ असार २०७६ ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App