उपेन्द्र लामिछाने
नवलपरासीको विनयत्रिवेणी गाउँपालिकामा पर्छ, त्रिवेणी धाम। त्रिवेणीधाम गजेन्द्र मोक्ष दिव्य धामले पनि चिनिन्छ। परापूर्वकालमा नारायणी नदीमा गोहीको आक्रमणमा परेको हात्तीको उद्धारमा भगवान विष्णु यसै क्षेत्रमा प्रकट भएको कथा छ।
गोहीको आक्रमणबाट हात्तीलाई विष्णुले उद्धार गरेको ठाउँमा बर्सेनि हजारौं भक्तजन आउँछन्। तर, यसै क्षेत्रका बासिन्दाका लागि भने नारायणी नदी वर्षाैदेखि गोहीजस्तै बनेको छ। असमान गण्डक सम्झौताका कारण हरेक वर्ष नारायणीको भेलले त्रसित स्थानीय यो दुःखबाट उद्धारको प्रतीक्षामा छन्। नदीको भेलबाट त्रसित सर्वसाधारण पछिल्लो समय यस क्षेत्रमा बढ्दै गएको धार्मिक पर्यटनबाट भने केही राहत महसुस गरेका छन्। सीमावर्ती क्षेत्र भएका कारण गजेन्द्र मोक्ष धाममा आउने पर्यटक वृद्धि भएसँगै यहाँ होटल व्यवसाय फस्टाउन थालेका छन्। यसले स्थानीयलाई थोरै भए पनि खुसी बनाएको छ। वर्षाैदेखिको उनीहरूको अँध्यारो पीडामा आशाको सूर्योदय भएको छ।
‘यो क्षेत्रमा पर्यटक बढ्ने हो भने त्रिवेणीधाम वरपर मात्र होइन, सिंगो नवलपरासी क्षेत्रलाई सकारात्मक प्रभाव पर्छ,’ स्थानीय विमल थापा भन्छन्, ‘त्यसैले सरकारले यो पौराणिक–धार्मिक क्षेत्रको विकासका लागि विशेष ध्यान दिनु जरुरी छ।’ ‘नेपालको हरिद्धार’ भनेर चिनिने त्रिवेणी धाम नारायणी, तमसा र सोनभद्र गरी तीन वटा नदीको संगम हो। धाममा माघे औँसी र चैतमा गरी वर्षको दुईपटक ठूलो मेला समेत लाग्ने गरेको थापा सुनाउँछन्। त्रिवेणी धाममा स्नान गरे पाप पखालिने विश्वास हिन्दू समुदायमा छ। यस धामको बारेमा श्रीमद्भागवत अष्टमस्कनको अध्याय द्वितीय÷तृतीयमा समेत उल्लेख छ।
त्यसैगरी बराहपुराण, पद्मापुराणमा पनि यसको महŒवबारे उल्लेख गरिएकाले पनि हिन्दू धर्मालम्बीको आकर्षक तीर्थस्थल बन्न सक्ने थापाले सुनाए। यो स्थल त्रेतायुगमा सीताले तपस्या गरेको तथा ऋषि वाल्मिकीको तपोभूमि पनि हो। तर, धामको यस्तो महŒव र प्राचीन विशेषताको व्यापक प्रचारको अभाव रहेको उनको सुनाए। धाममा खोलिएको संस्कृति विषय पठनपाठन गराइने आश्रमले समेत धेरैको ध्यान तान्ने गरेको छ। कलिला नानीहरूको मुखबाट निस्केका वेद ध्वनिले नारायणी नदीकिनारको यो क्षेत्रले झनै रमाइलो बनाउँछ। धामअन्तर्गत वाल्मिकी आश्रम, नागाबाबा कुटी, शिवालय लगायत विभिन्न मठमन्दिर छन्। यस क्षेत्रको दर्शन, पूजापाठ तथा स्नान गर्नाले दुःखकष्टबाट छुट्कारा पाउनुका साथै मोक्ष प्राप्त हुने र पितृकार्य, श्राद्ध, तर्पण, गर्नाले पितृहरूले मोक्ष प्राप्त गर्ने मान्यता रहिआएको छ। ‘आशा गरांै– यस क्षेत्रको विकाससँगै परासीका जनताले दुःखबाट थोरै भए पनि राहत पाउने छन्,’ विमलले सुनाए, ‘तब मात्र गजेन्द्रमोक्ष धाम यस क्षेत्रका जनताको लागि दुःखमोक्ष धाम बन्नेछ।’
प्रकाशित: ३२ जेष्ठ २०७६ ०३:३७ शनिबार