१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

विपद्मा गरिने उद्धार कला प्रदर्शन

दुर्घटनामा गरिने उद्धार कला प्रदर्शन गर्दै विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी। तस्बिर: सविता/नागरिक

चितवन - दुर्घटनामा परी त्रिशूली नदीमा खसेको बस बग्दै थियो। बससँगै बग्दै थिए बसका यात्रु पनि। बग्दै गरेका यात्रुलाई उद्धार गर्दै थिए विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी। बसका यात्रु र उद्धारकर्ता दुवै तालिम केन्द्रका प्रहरी थिए। त्यसअघि सो बस भीरबाट खसेको थियो। भीरमा अड्किएका यात्रु उद्धार गर्न डोरीको मद्दतले भीरमा पुगे। पानीमा भएका दुर्घटनाको उद्धार -याफ्टिङ र गोताखोरले गरे।

यो घटनाक्रम र उद्धारको अभ्यास बुधबार बिहान त्रिशूली नदीकिनारमा गरिएको थियो। गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा विपद् व्यवस्थापन तालिम केन्द्रका तालिमप्राप्त उद्धारकर्ताले आफ्नो कौशल देखाएका थिए। त्रिशूली नदीकिनारका भीरमा र पानीमा हुने दुर्घटनाको उद्धार कार्य कसरी गर्ने भनेर उद्धार कला प्रदर्शन गरिएको हो।

उद्धारको अभ्यास हेरेपछि मन्त्री थापाले विपद्का बेला उद्धारमा खटिने प्रहरीले देशको सेवाभावमा प्राण हत्केलामा राखेर काम गरिराखेको भन्दै प्रशंसा गरे। नेपाल विपद्का लागि जोखिमयुक्त देशमा पर्ने बताउँदै उनले उद्धारकला भएको जनशक्ति हुँदा विपद्को समयमा उद्धार गर्न सजिलो र सहज हुने बताए। पानीमा गरिने उद्धारमा गोताखोरको भूमिका महत्वपूर्ण हुन्छ। २०६९ सालमा बंगलादेशमा तालिम लिएका २५ जनामध्ये सशस्त्र प्रहरीमा अहिले १९ जना गोताखोर रहेको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक किशोर प्रधानले जानकारी दिए।

२०६९ सालमा बंगलादेशमा तालिम लिएका २५ जनामध्ये सशस्त्र प्रहरीमा अहिले १९ जना गोताखोर रहेका छन्।

गोताखोरको मद्दतकै कारण नेपालका नदी क्षेत्रमा भएका ठूला दुर्घटनामा उद्धार कार्य गर्न सकिएको उनले बताए। गोताखोरले ४० मिटर गहिराइसम्म गएर उद्धार गर्ने गरेको उनी बताउँछन्। चितवनमा अहिले सातजना गोताखोर रहेका छन्। पोखरामा चारजना र काठमाडौंमा चारजना रहेका छन्। मन्त्री थापासँगै आएका सुरक्षाविद् इन्द्रजित राईले गोताखोरलाई प्रोत्साहन भत्ता दिने तयारी अगाडि बढाइएको बताए।

तालिम केन्द्रमा बुधबारबाटै भत्किएको संरचनाबाट कसरी उद्धार गर्ने भन्नेबारे रिजनल मेडिकल फस्ट रेस्पोन्डर तालिम सुरु भएको छ। तालिममा अफगानिस्तान, नेपाल, माल्दिभ्स, भुटान र श्रीलकांका गरी २४ सुरक्षा निकायसँग सम्बन्धित प्रशिक्षार्थी रहेका छन्। तालिममा बंगलादेश, भारत, नेपाल र फिलिपिन्सका प्रशिक्षकले प्रशिक्षण दिनेछन्।

प्रकाशित: ३० जेष्ठ २०७६ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App