१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

साउदी विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, २६ घाइते

रियाद – यमनको हुथी विद्रोही समूहले साउदी अरबको दक्षिण–पश्चिममा रहेको एक विमानस्थलमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा २६ सर्वसाधारण घाइते भएका छन् । साउनी सेनाले जारी गरेको विज्ञप्तिअनुसार घाइतेमध्ये तीन महिला र दुुई बालबालिका रहेका छन् । अभा विमानस्थलमा रहेको आगमन हलमा हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ ।

आफूहरुले साउदीको अभा विमानस्थलमा क्रुज क्षेप्यास्त्र प्रहार गरेको हुथी विद्रोहीले दाबी गरेको छ । यमनमा सरकार र हुथी विद्रोहीबीच युद्ध जारी रहेको छ । साउदी अरबले विगत चार वर्षदेखि यमनी सरकारलाई समर्थन गरिरहेको छ । उसले अरब राष्ट्रहरुको तर्फबाट गठबन्धनको नेतृत्व गर्दै यमनी सरकारलाई समर्थन गर्दै हुथी विद्रोहीविरुद्धको आक्रमणलाई पनि अगाडि बढाइरहेको छ ।

कर्णेल मालिकीले यमनसँगको सीमाबाट करिब एक सय १० किलोमिटर पर रहेको नागरिक विमानस्थलमा भएको हमला अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको र यो घटना युद्ध अपराधसँग पनि जोडिन सक्ने बताएका छन् ।

सन् २०१५ को मार्च महिनाबाट सुरु भएको द्वन्द्वका कारण यमन नराम्ररी तहसनहस भएको छ । विद्रोहीले त्यसबेला देशको पश्चिमी क्षेत्रको अधिकांश भूभागमा नियन्त्रण जमाउँदै तत्कालीन राट्रपति अबद्राबुह मन्सुर हादीलाई विदेश भाग्न बाध्य बनाएका थिए । त्यसपछि यमन अशान्त रहँदै आएको छ । मानवीय इतिहासमै सबैभन्दा ठूलो मानवीय सहायताको पर्खाइमा यमन रहेको विवरण पनि बेलावखत सार्वजनिक हुँदै आएका छन् ।

इमनमा सक्रिय रहेका विद्रोही समूहलाई भने क्षेत्रीय सिया शक्ति इरानले सहयोग गरिरहेको बताइन्छ । उता, सरकारी पक्षलाई भने साउदी अरबलगायत अन्य आठवटा सुन्नी अरब राज्यले विद्रोहीविरुद्ध हवाई हमला गर्न र हादीको सरकारलाई पदस्थापना गर्नका लागि सहयोग गरिरहेको छ । साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथी विद्रोहीले साउदीको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन् ।

गठबन्धन सेनाका प्रवक्ता कर्णेल टुर्की अल–मालिकीले स्थानीय समयअनुसार बुधबार बिहान दुई बजेर २१ मिनेटमा हुथी विद्रोहीले सो विमानस्थलमा क्षेप्यास्त्र आक्रमण गरेको बताए । कर्णेल मालिकीले यमनसँगको सीमाबाट करिब एक सय १० किलोमिटर पर रहेको नागरिक विमानस्थलमा भएको हमला अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको र यो घटना युद्ध अपराधसँग पनि जोडिन सक्ने बताएका छन् ।

साउदी नेतृत्वको गठबन्धन सेनाले यसबारे ‘तत्काल उचित कदम चाल्ने’ बताएको छ । उसले नागरिकको जिउधनको सुरक्षाका लागि तत्काल उचित निर्णय लिने पनि बताएको छ । प्रवक्ता कर्णेलले हुथी विद्रोहीले कस्तो खालको क्षेप्यास्त्र प्रहार गरेको हो भन्नेबार अनुसन्धान भइरहेको बताएका छन् । उता, हुथी विद्रोहीले सञ्चालन गरिरहेको अल–मासिराह टेलिभिजनले उसको प्रवक्ता ब्रिग–जेन याहिया सारीलाई उद्धृत गर्दै बताएअनुसार उनीहरुले क्रुज क्षेप्यास्त्र आक्रमण गरेका हुन् ।
‘पछिल्लो अमेरिकी प्रणालीले आफूहरुको क्षेप्यास्त्रलाई रोक्न सकेन । यस क्षेप्यास्त्रले शत्रुमा आतंक र डर उत्पन्न गराएको र यसले उनीहरुतर्फ ठूलो दोधारसमेत सिर्जना गरेको छ,’ हुथी विद्रोहीका प्रवक्ता ब्रिग–जेनले बताए ।

अल–मासिराहका अनुसार हुथी विद्रोहीले प्रहार गरेको यो दोस्रो क्रुज क्षेप्यास्त्र हो । पहिलो सन् २०१७ मा अबुधावीमा बनिरहेको आणविक ऊर्जा प्लान्टमा प्रहार गरिएको थियो । यद्यपि सो बखत संयुक्त अरब इमिरेट्ले भने क्षेप्यास्त्र प्रहार भएको बारे केही बताएको थिएन ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App