२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

साता बित्यो, छानो बनेन

धनगढी - धनगढी उपमहानगरपालिका–१२, जुगेडाकी कल्पना नेपाली दुईमहिने शिशु बोकेर दिनभर रुखको छहारीमा ओत लाग्छिन्। राति भने छिमेकीको आँगनमा आश्रय लिन्छिन्। अघिल्लो बिहीबारको हुरीले घर भत्काएपछि उनी बेसहारा भएकी छिन्।

कल्पनाका पति रोजगारीका लागि भारत गएका छन्। हुरी आउनुभन्दा दुई दिनअघि पति भारत गएका थिए। हुरी आउँदा कल्पना नाबालक छोराछोरीसहित घरमा थिइन्। हुरीले घर भत्काउन थालेपछि ज्यान जोगाउन उनी छोराछोरीसहित छिमेकीको घर पुगिन्। ‘वर्षासहितको हावाहुरीले सबै उडायो,’ उनले भनिन्, ‘भएको अन्नपात पनि भिज्यो।’ हुरीले वितण्डा मच्याएको दिनदेखि उनको परिवारले राम्ररी खान पाएको छैन। ‘त्यो दिनदेखि आँखामा न निद्रा छ न त पेट भरिएको छ,’ उनले भनिन्, ‘छिमेकीको आँगनमा नाबालक छोराछोरीसहित सुत्छु।’ हुरीले भत्काएको घरअघि बुधबार काखे शिशुसहित बसेकी उनले भनिन्, ‘भोक मेटाउन दुई नाबालक छोराछोरी खानाको खोजीमा गाउँतिर गएका छन्।’

स्थानीय धनादेवी ढोलीको पीडा पनि कल्पनाको जस्तै छ। हुरीले उनको पनि घर भत्काइदिएको छ। मजदुरी गर्न भारत गएका उनका पति उतै छन्। घर हुरीले उडाइदिएपछि उनी दुई छोराछोरी र आठ महिने शिशुसहित खुला आकाशमुनि रात काट्न बाध्य छिन्। हुरीले घर भत्काएको सात दिन हुँदा पनि कसैले त्रिपालसम्म नदिएको उनको गुनासो छ। ‘हावाहुरी आएको एक साता बितिसक्यो, अहिलेसम्म कसैले केही दिएको छैन,’ उनले भनिन्, ‘बच्चाको पेट भर्नसमेत मुस्किल परिरहेको छ।’

कल्पना र धनादेवी हुरीपीडित प्रतिनिधि पात्र मात्रै हुन्। हुरीले जुगेडाका दुई सय परिवार घरबारविहीन बनेका छन्। वडाध्यक्ष गणेशप्रसाद जोशीले जुगेडामा मात्रै दुई सय घर भत्केको बताए। उनले भने, ‘पीडितलाई राहत उपलब्ध गराउन नगरपालिका समक्ष सिफारिस गरिएको छ।’

विद्यार्थी स्कुल जान पाएनन्
हुरीले घरबारविहीन परिवारका बालबालिका स्कुल जान पाएका छैनन्। शारदा माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत नाइसा नेपाली र कक्षा १ मा पढ्ने उनका भाइ समिर घर भत्केका कारण अहिलेसम्म स्कुल जान नसकेको बताउँछन्। ‘हावाहुरीले कापी किताबसमेत उडाइदियो,’ नाइसाले भनिन्, ‘घर भत्केको र कापी किताब नभएकाले भाइ र म स्कुल जान सकेका छैनौं।’ कक्षा ३ मा अध्ययनरत पार्वती नेपालीले पनि हुरीले कापीकिताबसँगै स्कुल पोसाकसमेत उडाइदिएको बताइन्। ‘न कापीकिताब छन् न स्कुल ड्रेस नै छ, यस्तोमा कसरी स्कुल जान सकिन्छ र खै,’ उनले भनिन्, ‘घरमा खाने अन्न छैन, भएको सबै भिज्यो।’

‘संघीय सरकारले कैलाली–कञ्चनपुरका हुरीपीडितको पक्षमा कुनै चासो देखाएन। हिजो त सुदूरपश्चिम उपेक्षामा थियो नै आज गणतान्त्रिक सरकार हुँदा पनि काठमाडौंलाई यहाँका जनताको पीडाले छोएन।’

विद्युत् अझै अनिश्चित
हुरीपछि अवरुद्ध विद्युत् सेवा सात दिन बितिसक्दा पनि नियमित हुन सकेको छैन। प्रदेश राजधानी रहेको धनगढी उपमहानगरसहित ग्रामीण बस्ती अझै अन्धकार छन्। बढ्दो गर्मीमा विद्युत् नियमिति नहुँदा जनजीवन कष्टकर बनेको छ। ‘विद्युत् नहुँदा दैनिक क्रियाकलाप प्रभावित हुन थालेको छ,’ उपमहानगरकी मनिषा विकले भनिन्, ‘दिनभरको उखरमाउलो गर्मी र रातमा लामखट्टेको टोकाइले बिरामी हुन थालिएको छ।’ हुरीले घर उडाएका मात्र नभई अन्य पनि गर्मीका कारण प्रभावित भएका छन्। ‘विद्युत् छैन, घरभित्र राति सुत्नै सकिँदैन,’ धनगढीकै राजेन्द्र चौधरीले भने।

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका अनुसार कैलाली–कञ्चनपुरमा हावाहुरीका कारण बिजुलीका १५ सय पोलमा क्षति पुगेको छ भने २० वटा ट्रान्सफर्मर बिग्रिएका छन्। क्षेत्रीय प्रमुख सतिशकुमार कर्णका अनुसार धनगढीका केही ठाउँमा अझै विद्युत् नियमित हुनसकेको छैन। ‘दैनिक काम भइरहेको छ,’ उनले भने। विद्युत सेवा पुरानै अवस्थामा ल्याउन अझै एक साता लाग्ने उनले बताए। हुरीले धनगढी, अत्तरिया, कञ्चनपुरको कृष्णपुर र गुलरिया क्षेत्रका पोलमा बढी क्षति पु-याएको उनले बताए।

धनगढीका ६ हजार घरमा क्षति

हुरीले धनगढी उपमहानगरपालिकामा मात्रै ६ हजार घरमा क्षति पु¥याएको मेयर नृपबहादुर ओडले बताए। राहत र पुनर्निर्मामा स्थानीय तह लागिपरेको जानकारी दिँदै उनले यसमा संघ र प्रदेश सरकारले पनि सघाउनेपर्ने बताए। उनले भने, ‘हुरीबाट ठूलो क्षति भएको छ। स्थानीय सरकार एक्लैले मात्रै केही गर्न सक्दैन। प्रदेश र संघीय सरकारले पनि सघाउनुपर्छ।’ पीडित परिवारलाई तुरुन्तै गाँस र बासको व्यवस्था गर्न स्थानीय जनप्रतिधि लागिपरेको उनले बताए। ‘पीडित परिवारलाई उपमहानगरपालिका स्तरबाटै तत्काल गाँस र बासको व्यवस्था गर्ने भनेका छौं,’ उनले भने, ‘पुनर्निर्माणका लागि भने संघ र प्रदेश सरकारसँग पनि आग्रह गरेको छु।’

‘संघीय सरकारबाट उपेक्षा’

हुरीबाट मानवीय क्षति कम भए पनि भौतिक संरचनामा ठूलो खति हुँदासमेत संघीय सरकारले चासो नदिएको सरोकारवाला बताउँछन्। सत्तापक्षकै कार्यकर्ताले पनि बारा र पर्सामा चासो देखाएको सरकारले सुदूरपश्चिममा मतलब नगरेको भन्दै सामाजिक सञ्जाललगायतमा गुनासो पोखेका छन्। ‘बारा र पर्सामा भन्दा कैलाली र कञ्चनपुरमा क्षति कम भएको छैन। पूर्वमा क्षति हुँदा देशैभरको संयन्त्र परिचालन भयो तर सुदूरपश्चिमप्रति संघीय सरकारले सौतेलो व्यवहार गरेको छ,’ नेकपा निकट मदनराज रेग्मी भन्छन्, ‘स्थानीय र प्रदेश सरकार पनि जनतालाई चाँडो राहत दिन चुक्दै छ।’
संघीय सरकारले अहिलेसम्म कैलाली–कञ्चनपुरका हुरीपीडितको पक्षमा कुनै चासो नदेखाएको बताउँदै स्थानीय सुरत रावत भन्छन्, ‘हिजो त सुदूरपश्चिम उपेक्षामा थियो नै आज गणतान्त्रिक सरकार हुँदा पनि काठमाडौंलाई यहाँका जनताको पीडाले छोएन।’

२७ सय ४८ त्रिपाल वितरण
घरका छाना उडाएकालाई त्रिपाल वितरण गर्न थालिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले क्षतिको विवरण संकलन गरेर छाना उडाएकालाई ओत होस् भनेर अहिलेसम्म २७ सय ४८ थान त्रिपाल वितरण गरिएको बताए। ‘गलत व्यक्तिको हातमा त्रिपाल नपरोस् भन्नका लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरेर काम थालिएको छ,’ उनले भने, ‘समितिकै सिफारिसमा त्रिपाल वितरण गरिएको छ।’ त्रिपाल वितरण जारी रहेको उनले बताए। त्रिपालसँगै ६८ थान जस्तापातासमेत वितरण गरिएको उनले बताए।

तस्बिर ः काखे शिशु बोकेर भत्केको घरअघि बसेकी कल्पना नेपाली। तस्बिरः दिलबहादुर÷नागरिक

प्रकाशित: ३० जेष्ठ २०७६ ०१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App