१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

यौनहिंसाको उच्च जोखिममा किशोरीहरू

वीरगन्ज - समाजमा किशोर उमेरका मबिलश्रहरू फरकफरक किसिमले जोखिममा रहेको पछिल्ला घटनाक्रमले देखाएको छ। बलात्कार तथा यौनहिंसायुक्त घटनाको शिकार हुने, उमेर नपुग्दै प्रेमको आकर्षणमा परी बेचबिखनको जोखिममा पर्ने, कलिलै उमेरमा गर्भधारण र असुरक्षित गर्भपतन गर्ने जस्ता घटना एकपछि अर्को बाहिरिने क्रम जारी छ।

जेठ १२ गते १५ वर्षीया किशोरी एक्लै भारततिर जान लागेको देखेर वीरगन्ज नाकास्थित शंकराचार्यद्वारनजिक रहेका सुरक्षाकर्मी र माइती नेपालका स्वयमसेवीले शंका गरे। रोकेर सोधपुछ गर्दा ती किशोरीले साथीसँग पारि जान थालेको बताइन्। छिमेकी गाउँका १९ बर्से केटा नेपाल–भारत जोड्ने मितेरी पुलमा ती किशोरीलाई पर्खिरहेका थिए। ती केटाले भगाएर किशोरीलाई भारततिर लैजान लागेका थिए। किशोरीले घरको दराजबाट झिकेर ल्याएको पचास हजार रुपैयाँ पनि साथमै थियो।

‘हामीले अभिभावकको जिम्मा लगाएर पठाएका छौं, कलिलो उमेरमै जोखिमपूर्ण बाटोमा जान लागेकी रहिछन् उनी,’ माइती नेपालको वीरगन्जस्थित कार्यालय प्रमुख संगीता पुरीले भनिन्, ‘यो संवेदनशील उमेर हो, बाबुआमाले ध्यान पु¥याउन नसक्दा वा गलत संगतको प्रभाव पर्दा किशोरीहरू कुबाटो र जोखिममा परिरहेका छन्।’ पारिवारिक वातावरण बिथोलिँदा पनि किशोरीहरू जोखिममा परेका थुप्रै घटना रहेको उनले बताइन्।

स्थानीय तहमा निर्वाचित प्रतिनिधिले छोरीचेली र गाउँ–समाजका महिलाहरूको असुरक्षा हटाउन भूमिका गर्न सक्छन् तर उल्टै उनीहरूबाट असुरक्षा हुने गरेको छ।

वैशाख १३ गते एकजना १५ बर्से किशोरीलाई राति शंकास्पद अवस्थामा फेला पारेर वडा प्रहरी कार्यालय श्रीपुरको गस्ती टोलीले माइती नेपालमा पु¥यायो। किशोरीले आफ्नो घर दाङ जिल्ला रहेको बताइन्। उनी बिरामी अवस्थामा थिइन्। जँचाउन नारायणी अस्पताल लगियो। पेटमा पाँच महिनाको बच्चा रहेछ।

आश्रय दिने संस्थाका महिलाहरूले बताए अनुसार उनको कथा निकै दुःखपूर्ण छ। उनका बुबा छैनन्। बुबा बितेपछि आमा अर्कैसँग बिहे गरेर गइन्। घरमा उनी एक्लै बस्दै आएकी थिइन्। राम भन्ने केटासँग प्रेम बस्यो। रहँदा–बस्दा पेटमा बच्चा भएपछि रामले विवाह गर्न अस्वीकार गरे। बुझ्दै जाँदा उनी पहिल्यैदेखि विवाहित रहेछन्। त्यसको केही दिनपछि निर्मला गिरी परिचित महिलाका साथ लागेर उनी वीरगन्ज आएकी रहिछन्।

यहाँ आएपछि निर्मलाको पनि साथ छुट्यो र उनी एक्लो भइन्। खोकीले ग्रस्त र कुपोषणले दुब्लाएकी उनको उपचारपछि पेटमा रहेको बच्चा ठिकै रहेको भेटियो। पाँच महिनाको गर्भ निकाल्न नमिल्ने डाक्टरले बताए। अहिले ती किशोरीलाई स्याहारसुसारका लागि माइती नेपालको केन्द्र्रीय कार्यालय लगिएको छ। १६ वर्ष नलाग्दै आगामी असोजमा उनी आमा बन्नेछिन्। यसरी किशोरीहरू बलात्कार तथा यौनहिंसा, बेचबिखन, आत्महत्या तथा सामूहिक आत्महत्यासम्मका शिकार बनिरहेका छन्।

बलात्कार तथा बलात्कारको प्रयास

गत वर्ष जिल्ला प्रहरी कार्यालयले मुद्दामा अनुसन्धानको क्रममा राखेका बलात्कारपीडित १२ जनालाई आश्रयमा राख्न माइती नेपाल पठाएको थियो। तीमध्ये ११ जना १८ वर्षमुनिका छन्। बलात्कार तथा बलात्कार प्रयास गरिएका अधिकतर घटनाका पीडितहरू १८ वर्षमुनिका हुने गरेका छन्।

‘घटनाहरू हालका दिनमा उजागर हुन थालेका छन्, कानुनी कारबाहीले मात्र यो निरुत्साहित भएन,’ अधिकारकर्मी नीला रामले भनिन्, ‘प्रकाशमा आएका घटनाहरूले हामीलाई चिन्तित बनाएका छन्। स्थानीय तहमा निर्वाचित प्रतिनिधिले छोरीचेली र गाउँ–समाजका महिलाहरूको असुरक्षा हटाउन भूमिका गर्न सक्छन् तर उल्टै उनीहरूबाट असुरक्षा हुने गरेको छ।’

सखुवा–पर्सौनीका वडाध्यक्षकै छोरा सामूहिक बलात्कारमा संलग्न रहेको मुद्दा पर्सा जिल्ला अदालतमा चलिरहेको छ। घाँस काट्न गएको बेला गाउँकै तीनजना युवकले उखुबारीमा लगेर सामूहिक बलात्कार गरेको १६ वर्षीय ती पीडित किशोरीको बयान छ।

मानवअधिकार रक्षक प्रकाश थारुका अनुसार समाजमा सचेतना बढेकोले लोकलाजको सवाल भनेर बलात्कार तथा यौनहिंसाका घटना दबाउने प्रवृत्ति पहिलेको तुलनामा केही कम भए पनि पीडकहरूमा कानुनको भय नरहेको देखिएको उनले बताए। मानवअधिकार निगरानी समूह पर्साका अध्यक्ष तवरेज अहमदका अनुसार घटना प्रकृतिले गाउँदेखि सहरसम्म, घरबाहिर र घरभित्रै किशोरीहरू असुरक्षित रहेको देखिएको छ।

सामूहिक आत्महत्या
गत जेठ १३ गते साँझ साढे ६ बजे पर्साको वीरगन्ज उपमहानगरपालिका–२१ परवानीपुरका सिकिन्द्र साहकी छोरी १४ वर्षीय निलमकुमारी साह सिलिङ पाङ्खामा झुन्डिएको अवस्थामा फेला परिन्। उनका काकाले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि वीरगन्ज हेल्थ केयर सेन्टर पु¥याइयो। उपचारका क्रममा एक घण्टापछि निलमको मुत्यु भयो। आत्महत्या देखिएको घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तनाव र दाबाबमुक्त जीवनको रूपमा बाल्यकाललाई लिने गरिए पनि समाजसँग सामन्जस्य नहुँदा आत्महत्यामात्र होइन सामूहिक आत्महत्या समेतका घटना पर्सामा दोहरिरहेका छन्। यसभन्दाअघि पुस ८ गते वीरगन्जस्थित वीरगन्ज पब्लिक कलेजमा कक्षा ११ मा पढ्दै गरेका दुई किशोरीहरू सीमापारि भारतीय सहर रक्सौलनजिकै कंगनानेर रेलले किचिएको अवस्थामा फेला परेका थिए।

पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुरका हरिकिशोर चौरसियाकी १८ वर्षीया छोरी किरणकुमारी चौरसिया र वडा नम्बर २ भेडीयारीका राजेश्वर साह कलवारकी १७ वर्षीया छोरी निभाकुमारी साह गुप्ताले सामूहिक आत्महत्या गरेको घटनाले सनसनी मच्चायो। दुवैजना किशोरी वीरगन्ज महानगरपालिका रानीघाटस्थित कुमारीमाई मन्दिरनजिक डेरागरी सँगै बस्दै आएका थिए। उनीहरूको कोठाबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको थियो। आमाबुबालाई सम्बोधन गरिएको सुसाइड नोटमा ‘कसैलाई पनि दोषी नमान्नू, कसैमाथि शंका नगर्नू’ भनिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए। प्रहरीले आत्महत्या भन्दै अनुसन्धान अगाडि बढाएन, जसका कारण सो घटनापछाडिको वास्तविक कारण भने खुल्न पाएन।

त्यसको अढाई महिना नबित्दै जिराभवानी –२ सेढवामा अर्को सामूहिक आत्महत्याको घटना भयो। फागुन १७ मा विष सेवन गरेकी पटेर्वा–सुगौली गाउँपालिका–४ सढी टोलकी १३ वर्षीय रमिताकुमारीको ज्यान मुस्किलले जोगियो। उनीसंगै विष खाएकी २७ वर्षीया युवतीको भने मृत्यु भयो। सेढवाका सञ्जय दास, राम चौधरीसमेतले सढीकी १३ वर्षीया रमिता र अर्की युवतीलाई प्रेम विवाहका लागि लैजान गाउँ आएका थिए। स्थानीयले राम चौधरीसमेतलाई पक्रेर प्रहरीलाई बुझाए। सञ्जय दास भने १३ वर्षीय किशोरी र अर्की युवतीलाई मोटरसाइकलमा हालेर लैजान सफल भएका थिए। दिनभरि खोजतलास गरेका स्थानीयले सीमा पार गरी भारततिर पसेको अनुमान गर्दै फर्केका थिए। सेढवास्थित सञ्जयको घर पुगेका उनीहरूले सोही राति मुसो मार्ने विष सेवन गरेका थिए।

प्रकाशित: २९ जेष्ठ २०७६ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App