५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

६ घण्टा १ मिनेटमा मिङ्माले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं– हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका हुन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पायोनियर एडभेन्चरले शेर्पाले सगरमाथा र चाैथों ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको औंपचारिक जानकारी गराएको हो। यस अघि निर्मल पूर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए। पत्रकार सम्मेलनमा बोल्दै नयाँ कीर्तिमानधारी शेर्पाले नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान राखेपछि आफूलाई पनि छोटो समयमै सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्ने इच्छा जागेको प्रतिक्रिया दिए।

शेर्पाले गत जेठ १३ गते बिहान ६ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु भएको जिपीएस ट्रेकिङले पनि पुष्टि गरेको छ। सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका शेर्पाले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढन सरकारलाई पनि सुझाव दिए।

संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ का शेर्पाले सगरमाथाको ५ पटक सफल आरोहण गरिसकेका छन्। त्यसैगरी उनले ल्होत्से हिमालको ३ पटक, मकालुको ३ पटक, मनास्लुको ३ पटक, केटु हिमालको २ पटक, धवलागिरी हिमालको २ र आमादब्लाम हिमालको २ पटक गरी २० पटक हिमालहरुको सफल आरोहण गरिसकेका छन्। मकालु हिमालबाट टे«किङ गाईडको रुपमा हिमाल आरोहणको क्षेत्रमा प्रवेश गरेका ३२ वर्षीय शेर्पा ६ वर्षकै उमेर आमा र १४ वर्षको उमेरमा बुबालाई गुमाउनु परेपछि पढाईलाई बीचैमा छोडेर जीवन निर्वाहका लागि यस क्षेत्रमा प्रवेश गरेका थिए।

प्रकाशित: २१ जेष्ठ २०७६ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App