चितवन–२२ वर्षीय प्रदीप प्रजा भरतपुर कारागार पुगेको साढे दुई वर्ष भयो। उनले आठ वर्ष कारागार बस्नुपर्ने सजाय पाएका छन्। कारागारमा दुई वर्ष त्यत्तिकै बिताएका उनी अहिले कामकाजी भएका छन्। उनले आठ वर्षअघि नै काठमाडौंमा गलैंचा बनाउने सीप सिकेर काम गर्दै आएका थिए। कारागारमा उनले सीपअनुसारको काम गर्न पाएका थिएनन्।
दुई महिनादेखि भने कारागारभित्रै उनले गलैंचा बनाउन थालेका छन्। आफैंले सिकेको सीपअनुसारको काम गर्न पाएको उनले बताए। ‘बिहानदेखि बेलुकासम्म गलैंचा बनाउँछु,’ उनी भन्छन्, ‘दुईवटा गलैंचा सकेर अर्को बनाउँदै छु।’ गलैंचाको लम्बाइअनुसार ज्याला पाइने उनले बताए। एउटा गलैंचा बुनेबापत पाँच हजार रुपैयाँ पाइने उनी बताउँछन्। गलैंचा उद्योगको तुलनामा ज्याला केही कम भए पनि काम गर्दा दिन सजिलै बित्ने र आर्थिक आम्दानीसमेत हुने उनले बताए।
खेमराज सार्की तानमा धागो राख्दै काठको पञ्जाले धागो मिलाउँदै थिए। उनी डिजाइन हेर्दै तानमा धागोले दुरुस्तै बुट्टा बनाउँदै थिए। नौ महिनाअघि कारागार आएका उनले अझै १९ वर्ष कारागारमा बिताउनु पर्नेछ। ‘भर्खर सिक्दैछु, अब सिकेर राम्रो बनाउन काम गरिराखेको छु,’ उनी भन्छन्, ‘तानको आकारअनुसारको ज्याला दिन्छन्।’ गलैंचा बनाउने काम सिक्नुअघि उनी मुढा बुन्ने काम गर्थे। त्यो काम पनि उनले कारागारमै आएर सिकेका थिए। काम जुन ग¥यो त्यहीमा मन लगाउनुपर्ने उनी बताउँछन्।
दुई वर्षदेखि कारागारमै रहेका ३६ वर्षीय सानु चेपाङले गलैंचा बनाउने काम संयोजनको जिम्मेवारी लिएका छन्। गलैंचा बनाउन जानेकालाई व्यवस्थापन गरेर र नयाँलाई सिकाएर गलैंचा बुन्न लगाएको उनी बताउँछन्। अहिले भरतपुर कारागारमा रहेका १४ पुरुष कैदीले गलैंचा बनाउने काम गरिरहेका छन्। केही सिक्दै गरेका र केही पहिलेदेखि नै जानेका सबै मिलेर काम गर्ने उनी बताउँछन्। सानुले पनि यसअघि काठमाडौंमा बसेर गलैंचा बनाउने काम गरेका थिए।
‘संयोगले जेलमा पनि पहिलेदेखि गरिआएको काम गर्न थालिएको छ,’ उनले भने, ‘साथीहरुलाई पनि सिकाइ राखेको छु।’ उनी जेल परेको दुई वर्ष भयो भने करिब साढे पाँच वर्ष जेल सजाय भुक्तान गर्न बाँकी छ। गलैंचा बनाउने सबैले मन लगाएर काम गर्ने गरेको उनले बताए। कारागारमा अहिले ९०/१९० साइजको गलैंचा बनाउने काम भइरहेको छ। एक जनालाई करिब एक महिना समय लाग्ने गलैंचा बनाएबापत पाँच हजार रुपैयाँ ज्याला पाइने सानु बताउँछन्। काम गर्दा समय पनि सजिलै बित्ने, कैदी जीवन पनि छोटिँदै जाने, काम पनि हुने र आम्दानी पनि हुने उनले बताए।
गलैंचा बनाउन आवश्यक धागोलगायत सामग्री जोहो गर्नुपर्ने र बिक्री गर्नुपर्ने चिन्ता उनीहरुलाई छैन। गलैंचा बनाउन आवश्यक कच्चा पदार्थ ल्याइदिने, बनेका गलैंचा लैजाने काम उद्योगबाटै हुने भरतपुर कारागारका प्रमुख कमलप्रसाद काफ्ले बताउँछन्। कारागारमा खाली बस्नुभन्दा काममा व्यस्त हुनु उपयुक्त भएकाले हस्तकलाका सामग्री बनाउन कारागारले प्राथमिकता दिएको छ। सोही अनुसार गत फागुनबाट पहिलोपटक कारागारमा गलैंचा बनाउन थालिएको हो।
बाँसका मुढा बनाउने, सिलाइकटाइ, सिरक, डस्ना बनाउने, सुनका गरगहना बनाउने, साडीमा कडाइ भर्ने, बत्ती कात्ने लगायत काम कारागारका कैदी बन्दीले गर्दै आएको काफ्लेले बताए। भक्तपुरमा गलैंचा उद्योग सञ्चालन गर्दै आएका नवराज केसीले चार वर्ष अघिदेखि नै कारागारमा रहेका कैदीसँग काम गरिरहेका छन्। उनको गलैंचा उद्योगमै काम गरेका केही कामदार पनि डिल्लीबजार कारागार पुगेका थिए। ‘कारागारमा पुगेका उनीहरुले नै काम दिनुप¥यो भनेर भन्न थाले,’ उनी भन्छन्, ‘त्यसपछि निरन्तर काम गरिरहेका छन्।’ कारागारभित्र समय मिलाएर करिब ४० जनाले गलैंचा बनाउने काम गरिरहेका छन्। महिनामा कम्तिमा १० पिस जति उत्पादन हुने गरेको उनले बताए।
कारागारमा बस्ने कैदी पुराना छुट्ने नयाँ आउने भइरहन्छ। डिल्लीबजार कारागारमा गलैंचा बनाउने काम सुरु गर्दाताका अधिकांश छुटिसके। उनीबाटै सिकेका नयाँ कैदीले गलैंचा बनाइरहेका छन्। डिल्लीबजार कारागारमा काम गरेपछि नै उनले भरतपुर कारागारमा पनि कैदीलाई गलैंचा बनाउन दिन थालेका हुन्। कच्चा पदार्थ ल्याइदिने र उत्पादन बिक्री गर्ने जिम्मेवारी आफ्नो भएको उनी बताउँछन्। भरतपुर कारागारमा पनि गलैंचा बनाउन कैदीले चासो देखाएपछि उत्साहित भएको उनले बताए।
प्रकाशित: २० जेष्ठ २०७६ ०५:२१ सोमबार