नेपाली तथा नेपाल भाषाका महान् स्रष्टा एवम् नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको जन्म १९६९ जेठ ९ गते मंगलबार शुक्लपञ्चमीका दिन ओखलढुंगामा भएको थियो। उनका पिताको नाम विष्णुचरण र माताको नाम नीरकुमारी हो। उनको ११ वर्षसम्मको बाल्यजीवन ओखलढुंगामै बित्यो र त्यसपछि मातापिताका साथ उनी काठमाडौँ आएर पैतृक घर ओमबहालमा बस्न थाले।
प्रथम नेपाली सामाजिक उपन्यास ‘सुमती’का स्रष्टा विष्णुचरण श्रेष्ठका सुपुत्र सिद्धिचरणले कक्षा ८ सम्म काठमाडौँस्थित दरबार स्कुलमा अध्ययन गरेपछि माध्यमिक तहसम्मको शिक्षा भारतको कलकत्ताबाट हासिल गरेको देखिन्छ। तत्पश्चात् उनले पूर्वीय तथा पाश्चात्य भाषा, साहित्य, कला, दर्शन आदिको स्वाध्ययनका भरमा विशिष्ट ज्ञान आर्जन गरेको देखिन्छ। उनले काठमाडौंस्थित (नेपालको पहिलो अंगे्रजी स्कुल) महावीर स्कुलको अंग्रेजी विषयको शिक्षक भई अध्यापन गरेको पाइन्छ।
उनले जीवनको साढे छ दशक साहित्य साधनामा खर्चिए। त्यो अवधिमा उनले फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण, संस्मरण आदि विधामा कलम चलाएर सिंगो युगको निर्माण गरेको पाइन्छ।
१५ वर्षको उमेरदेखि कविता लेखनमा संलग्न सिद्धिचरणको राजनीतिमा पनि अभिरुचि थियो र उनैले सर्वप्रथम नेपाली साहित्यमा ‘हडताल’ शब्द प्रयोग गरेका थिए। विसं १९९७ मा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने उद्गार लेखेबापत उनले अठार वर्षको कठोर जेल सजाय पाए। सर्वस्व हरणसहित उनले जेलजीवन बिताइरहेका बेला पिताको देहावसान हुँदा उनलाई परम्परागत विधिअनुसार काजक्रियासमेत गर्नबाट वञ्चित गरियो। त्यतिबेला उनले लेखेका अनेकौं काव्यकृति नष्ट गरियो।
उनले नेपालको प्रथम दैनिक पत्रिका ‘आवाज’को प्रथम सम्पादक भई कुशलतापूर्वक सम्पादन गरेका थिए। प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित ‘कविता’ पत्रिकाका उनी प्रधानसम्पादक भएका थिए। उनको नेतृत्वमा प्रतिष्ठानले ‘कविता महोत्सव’ आयोजना सुरु गरेको थियो। उनले शान्ति समिति, लेखक संघ, सहिद स्मारक समिति, जनकल्याण केन्द्र, नेपाली शिक्षा परिषद्, नेपाल शान्ति परिषद् आदि संघ–संस्थाहरूको अध्यक्षका रूपमा काम गरेका थिए। उनी विसं २०१४ देखि नै नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य रहेका थिए।
युगकवि श्रेष्ठले भारत, चीन, रूस, श्रीलंका, बर्मा, कोरिया, डेनमार्क, मंगोलिया आदि देशको भ्रमण गरेर थरी–थरीका अनुभव बटुलेका थिए भने उनलाई त्रिभुवन प्रज्ञा पुरस्कारका साथै लेखकहरूलाई प्राप्त हुने सबैभन्दा ठुलो सम्मानजनक पुरस्कार ‘पृथ्वी प्रज्ञा पुरस्कार’ पनि प्राप्त भएको थियो। यसका अतिरिक्त उनी अनेकौँ सङ्घ–संस्था र जनस्तरबाट सम्मानित, अभिनन्दित र पुरस्कृत भएका थिए।
विसं १९८४ देखि नै कविता लेख्न थालेका श्रेष्ठ विसं १९९० मा ‘भुइँचालो’ शीर्षकको कविता प्रकाशनमा ल्याएर नेपाली काव्यजगत्मा सार्वजनिक रूपमा प्रकट भएका थिए। आफ्नी माताबाट रामायण र महाभारत सुनेर कविताप्रति आकर्षित सिद्धिचरण लेखनाथ पौड्याल र अन्य समकालीन कवि तथा साहित्यकारका साथै पिता विष्णुचरणबाट पनि प्रभावित थिए। उनले जीवनको साढे छ दशक साहित्य साधनामा खर्चिए। त्यो अवधिमा उनले फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण, संस्मरण आदि विधामा कलम चलाएर सिंगो युगको निर्माण गरेको पाइन्छ।
राणा शासनको कठोर समयदेखि कविताका माध्यमबाट क्रान्तिको सन्देश फिँजाउने र युगको आवाज घन्काउने सिद्धिचरणले २००७ सालको परिवर्तनपछि नेपाली साहित्यको बहुआयामिक संवद्र्धनमा निरन्तर संलग्न भई विशिष्ट योगदान दिए। यथार्थवादी भावभूमि अनि प्रगतिवादी चिन्तनको प्रतिष्ठापनमा उनको योगदान गहन छ। सर्वोच्च नेता गणेशमान सिंह, कम्युनिस्ट नेता पुष्पलाल र सहिद गंगालालका प्रेरक व्यक्तित्व युगकवि श्रेष्ठ नेपालको राजनीतिमा समेत उल्लेखनीय छन्। युगकवि श्रेष्ठले पु¥याएको विशिष्ट योगदानलाई चिरस्मरणीय तुल्याउन युगकवि सिद्धिचरण प्रतिष्ठान, सिद्धिचरण नगरपालिका (ओखलढुंगा), सिद्धिचरण स्मृति गुठी, युगकवि सिद्धिचरण उमावि, ओखलढुंगा, युगकवि सिद्धिचरण प्रावि, जलेश्वर आदिको स्थापना र सिद्धिचरण राजमार्ग (कटारीदेखि ओखलढुंगा), काठमाडौंमा सिद्धिचरण मार्ग १–२ र सिद्धिचरण सडक, सिद्धिचरण विहार, सरकारद्वारा हुलाक टिकटको प्रकाशन, ओखलढुंगा, सिराहाको मिर्चैया र काठमाडौँमा २३ वडास्थित सिद्धिचरण चोक र कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा प्रतिमा स्थापना लगायत गरिएका छन्।
साहित्य क्षेत्रलाई युगानुरूप अघि बढाउन उनले गरेको साधनाको सम्मानमा नेपाली जनमानसले उनलाई ‘युगकवि’को उपाधिद्वारा सम्मान प्रकट गरेको पाइन्छ। नेपाल भाषामा समेत ‘कविरत्न’को उपाधिद्वारा विभुषित श्रेष्ठ राणा शाहीका विरुद्ध भएको आन्दोलन, तत्पश्चात् भएका अनेकौं प्रजातान्त्रिक एवम् लोकतान्त्रिक आन्दोलनमा उनको प्रेरणादायी सहयोग र समर्थन सधैं रहेको थियो। उनले राष्ट्रिय जीवनको अभ्युत्थानमा जीवन्त साहित्यिक रचनाका माध्यमबाट ऐतिहासिक भूमिका निर्वाह गरेको भेटिन्छ। यस्तै नेपालको राष्ट्रिय एकता भावको संरक्षण र संवद्र्धनमा उनको योगदान हामी नेपालीका लागि चिरस्मरणीय र गौरवका रूपमा छ।
नेपालको प्रथम राष्ट्रिय गान ‘हिमगिरि मण्डित सुगन्ध शोभित जय जय आमा नेपाल !!!..’ (२००५) का रचयिता, नेपालभाषामा कविरत्नका रूपमा विभूषित श्रेष्ठ नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक, प्रजातन्त्र, राष्ट्रियता, समानता, स्वतन्त्रताका महान् उपासक एवम् विभिन्न पत्रपत्रिकाका सम्पादक, प्रधान सम्पादक, आलोचक, विभिन्न पदक र विभूषणले विभूषित, विभिन्न संघ–संस्थाका संस्थापकका रूपमा ख्यातिप्राप्त छन्। यस्ता महान् युग प्रवर्तक स्वर्ण शताब्दी वर्ष (२०६८–२०६९) को पुनीत अवसरमा युगकवि सिद्धिचरण प्रतिष्ठान र स्वर्ण शताब्दी वर्ष समारोह समितिद्वारा उहाँको योगदानको सुयश फैलाई सम्मान प्रकट गर्ने प्रयत्न गरियो। यस्ता रचनात्मक तथा सिर्जनात्मक व्यक्तित्व र कार्य भावी सन्ततिका निम्ति प्र्र्र्र्र्र्र्र्रेरणास्रोत र मार्गदर्शनका रूपमा रहने स्पष्ट छ। यस्ता साहित्यका महान् विभूति युगकविको देहावसान ०४९ जेठ २२ गते जन्म तिथि शुक्लपञ्चमीकै दिन भएको थियो।
प्रकाशित: १८ जेष्ठ २०७६ ०३:२४ शनिबार