३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

नीरकलाको निरन्तर लगन

रत्ननगर नगरपालिका–१३ मा रहेको असहाय वृद्ध कल्याण समाजकी संस्थापक नीरकला शर्मा। तस्बिर : सविता/नागरिक

५० वर्षको अवधिमा चितवनले बृहत् फड्को मारेको छ। यो अवधिमा भएको परिवर्तन र विकासको साक्षी उनी पनि बनिन्। रोगको त्रास रहेको चितवन आउनुको उनको बाध्यता थियो। आएपछि भने फर्किन सकिनन्। चितवन आएको ५० वर्षको अवधिमा उनको जीवनमा पनि धेरै परिवर्तन आए। ८६ वर्षीय नीरकला शर्माले विगतका यही अवधिमै आफ्नो खुसी भेटिन्।

दार्जिलिङमा बस्ने शिक्षित परिवारको सदस्य भएकाले सानैमा किताब, कापी र स्कुल देखिन्। बुबा जगदर शर्मा शिक्षक थिए। पढाइमा उनी पनि तेज भएर निस्किइन्। कक्षा ३ भन्दा माथि पढ्न भने उनलाई शरीरले साथ दिएन। सामान्य बालिकाको रूपमा जन्मिए पनि उनको शरीर विस्तारै असामान्य बन्यो। पहाडी क्षेत्र दार्जिलिङको उकालो–ओरालो गर्न उनलाई सकस हुन थाल्यो। बिस्तारै हिँड्न नसक्ने भइन्। उनका शरीरका हड्डी दुख्थे। बिस्तारै घुँडाको पांग्राले ठाउँ छाड्यो। औषधी उपचारले नछोए पनि उनी थला परिन्। झापामा खोलिएको स्कुलमा पढाउन २००४ सालमा उनको बुबालाई बोलाइयो। परिवार झापा आएपछि आमा गायत्री उनको स्याहारमा निरन्तर खटिइन्। घरेलु उपचार विधिले विस्तारै बिस्तारामा बस्न सक्नेसम्म भइन्। उनी बिरामी परेपछि नै हजुरबुबाले उनको हातमा गीता थमाइदिएका थिए। गीताको नियमित वाचनको प्रभावले उनको बोली प्रष्ट र ओझिलो बन्यो। आमाले उनलाई भारतका विभिन्न तीर्थ र धाम पनि घुमाइन्।

‘पढ्न छाडेको १८ वर्षपछि कक्षा ९ मा भर्ना भएँ, दुई वर्ष स्कुल र ट््युसनमा पढेर राम्रोसँग सेन्ट अफ राम्रो गरें।’

२०१७ सालमा गरेको चार महिनाको तीर्थ यात्रामा उनले धेरैका जीवनलाई हेर्न पाइन्। भारत र नेपालमा भएको भिन्नतालाई देखिन्। ‘पारि भारतमा रेल पनि कुदेको छ। बिजुली पनि छ। गाडी पनि छ, राम्रा–राम्रा घर छन्,’ उनले भनिन्, ‘यता नेपालमा गोरु गाडा मात्र छ। भारतसँग जोडिएको झापा पनि विकास भएको थिएन।’ महिला एकल हुनासाथ तीर्थ गर्न पठाइदिने प्रचलनले भारतको वृन्दावनमा एकल महिला मात्र बस्ने नेपाली टोल नै भेटिन्। उनीहरू गीता पुज्थे र पनि अशक्त महिलाई हेँला गरेको नीरकलाले देखिन। गीताले अवहेलना गर्नु कसैलाई पाइँदैन भने पनि त्यो अनुभव तितो लागेको उनी बताउँछिन्। घर फर्किएपछि उनलाई घरमा राम्रो व्यवहार भएन। बुबाले पढाउने स्कुलका शिक्षकले कि छोरीलाई पढाऊ कि सम्पत्ति देऊ समेत भनेर उनको पक्षमा बोले। शिक्षकको दबाबपछि नीरकलाले पढ्न पाइन्। ‘पढ्न छाडेको १८ वर्षपछि कक्षा ९ मा भर्ना भएँ,’ उनले भनिन्, ‘दुई वर्ष स्कुल र ट््युसनमा पढेर राम्रोसँग सेन्ट अफ राम्रो गरें।’

आमाको मृत्यु भएपछि सबैले मेची आमा भन्ने दिलकुमारी श्रेष्ठले नीरकलाको हेरचाहको जिम्मेवारी लिइन्। एसएलसीपछि उनी काठमाडौं पुगिन्। ‘शिक्षा कलेजमा अपांग अवस्थाका मानिसलाई पढ्न नदिने रहेछ,’ उनले भनिन्, ‘शारीरिक अवस्थाको कमजोरीले पछि पढाउन सक्दैनन्, विद्यार्थीले टेर्दैनन् भनेर भर्ना नै नलिने गरिँदो रहेछ।’ त्यहाँ भर्ना गर्ने व्यवस्था सबै मेची आमाले गरिदिइन्। बैशाखी टेकेर हिँड्ने होचो कदकी उनलाई क्याम्पसमा भर्ना गर्न १५ दिनसम्म अन्तर्वार्ता लिइयो। अन्तर्वार्ताको झण्झटले पढ्न छाड्छिन् भन्ने सोचिए पनि दिनहुँको अन्तर्वार्तासँग उनी नआत्तिएको पाएपछि क्याम्पसमा भर्ना हुन दिइयो। प्रयोगात्मक परीक्षा गर्न गाह्रो हुन्छ, फिल्डमा गएर बुझ्न कठिन हुन्छ भनेर उनलाई कक्षामा मात्र पढिने नेपाली, अंग्रेजी र इतिहास विषय पढ्न लगाइयो। सँगै पढ्ने धेरै विद्यार्थी फेल हुँदा पास हुने छात्रामा उनी पर्थिन्। काठमाडौंमा छात्रावासमा पाँच वर्ष बसेर स्नातकसम्म अध्ययन गरिन्। अध्ययनकै क्रममा मेची आमाले उनको खुट्टाको शल्यक्रिया समेत गराइदिइन्। बैशाखी टेक्न परे पनि हिँड्न उनलाई केही सजिलो भयो। पढाइ सकेर झापा फर्किदा बुबाले दोस्रो बिहे गरिसकेका थिए।
 

नीरकला सिस्टर र परोपकारी मन
घर फर्केपछि झापामा नै पढाउन थालिन्। त्यहीबेला उनलाई चितवनमा स्कुल पढाउन बोलाइयो। बैशाखी टेक्ने, खाना बनाउन, लुगा धुन अरुको सहयोग लिनुपर्ने उनलाई आँट आएन। चितवनमा औंलोको महामारीको डर धेरै थियो। घरमा हुने कचकच र व्यवहारले भने दिक्क बनाइराखेको बेला दार्जिलिङबाट आएकी फुपूले आँट दिइन्। मामालाई साथ लिएर चितवन आइन्।

२०२५ सालमा भारतको बाटो हुँदै चितवन आउनुपरेको थियो। घरबाट गाडा चढेर भारत पुगेर रेल चढिन्। दुइटा रेलको यात्रापछि तीन दिनमा रक्सोलमा झरेर वीरगञ्ज आइन्। वीरगञ्जबाट नारायणगढसम्म एउटा मात्र बस चल्थ्यो। त्यही बसमा आएर रत्ननगरको टाँडीमा झरिन्। टाँडी आएको भोलिपल्टबाट उनले नेपाल माविमा पढाउन थालिन्, जुन पूर्वी चितवन क्षेत्रकै एक मात्र माध्यमिक विद्यालय थियो।  झापामा नीरकला मिस, गुरुआमा भने पनि चितवन आएर नीरकला सिस्टरको सम्बोधन पाइन्।
माध्यमिक तहमा उनले निरन्तर २४ वर्षसम्म पढाइन्। पढाएर जोगाएको तलबबाट उनले टाँडीमै घर–घडेरी जोडिन्। विद्यालयमा पढाउँदा विद्यार्थीले नै उनलाई घरायसी काममा समेत सहयोग गरे। विद्यालयबाट सेवा निवृत्त भएपछि त्यसै बस्न सकिनन्। धार्मिक किताव पढ्ने, धार्मिक कार्यक्रममा सहभागी हुन थालिन्। उनकै अग्रसरतामा रत्ननगरमा राधाकृष्ण मन्दिर बन्यो। आफूजस्तै असहाय वृद्धवृद्धा बूढेसकालमा घरविहिन भएर बस्नुपरेको देखेकी थिइन्। २०५९ सालमा उनले असहाय वृद्ध कल्याण समाज स्थापना गरिन्।

२०७० सालमा उनले आमाको नाममा गायत्री शर्मा अशक्त मानव सेवा ट्रस्ट स्थापना गरेकी छन्। ट्रस्टमा रहेको अक्षय कोषमा १६ लाख रूपैयाँ जम्मा भइसकेको छ।

आफूसँग भएको ५० हजार रूपैयाँ संस्थामा राखिन्। २०६२ सालमा ६ कठ्ठा जग्गा किनिन्। त्यही जग्गामा घर बनाएर वृद्धवृद्धालाई आश्रय दिएकी छन्। आफूले पढाएका विद्यार्थी, जिल्लाका व्यवसायी, सर्वसाधारणसँग सहयोग माग्न दिनहुँ खटिइन्। धान्याञ्चल, यज्ञ लगाइन्। त्यसरी संकलन गरिएको रकमले पूर्वाधार बनाइन्। ‘रिक्सा चढेर, कालो छाता, कलम, रसिद लिएर घर–घर घुमिहिँड्थे,’ उनले भनिन्, ‘सहयोग माग्न एउटै घरमा धेरै पटक धाएँ, यसरी मागेको सहयोगले आश्रम बन्यो।’
२०७० सालमा उनले आमाको नाममा गायत्री शर्मा अशक्त मानव सेवा ट्रस्ट स्थापना गरेकी छन्। ट्रस्टमा रहेको अक्षय कोषमा १६ लाख रूपैयाँ जम्मा भइसकेको छ। कोषको रकमलाई ५० लाख पु¥याउने योजना रहेको नीरकला बताउँछिन्। अक्षयकोषका रकमबाट आउने ब्याजबाट उनी परोपकारी काम गर्छिन्। असहाय वृद्ध कल्याण समाजमा बसेका वृद्धवृद्धालाई खानेकुरा र विद्यालयमा पढ्ने छात्रछात्रालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गर्दै आएकी छन्। उनले शिक्षण गरेर जोडेका सम्पत्ति सबै समाज र ट्रस्टमा लगाएकी छन्।

समाजमा अहिले १० जना वृद्धवृद्धा बसेका छन्। २० जनासम्म बस्न सक्ने पूर्वाधार तयार छ। हिँडडुल गर्न गाह्रो हुने समस्या पहिलेको भन्दा बढेको छ। आफ्ना कुरामा अडिग भएर अगाडि बढ्न सक्ने आँट भने पहिलेको जस्तै छ। प्रष्ट बोल्न सक्छिन्। आफ्ना कुरा राख्न सक्छिन्। शरीरले साथ दिएसम्म समाज र ट्रस्टका लागि काम गर्ने उनी बताउँछिन्।

प्रकाशित: ११ जेष्ठ २०७६ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App