२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

जन्मिँदै २ लाख ७० हजार रुपैयाँ !

प्रतिगोटा २ लाख ७० हजार रुपैयाँ दाम राखिएको बोयर जातको बोका

पाँचथर – बोकाको मूल्य कति पर्ला? सामान्यतया उत्तर आउछ २ हजारदेखि ५ हजार।

तर जिल्लाको फिदिम नगरपालिका–२ साम्दीनमा जन्मिने बित्तिकैको पाठोको मूल्य प्रतिगोटा २ लाख ७० हजार रुपैयाँ राखिएको छ। नमुना बाख्रापालन फर्ममा जन्मिएको बोका किन्न ग्राहक पनि तयारी अवस्थामा पुगेका छन्।

अष्ट्रेलियबाट ल्याइएको बोयर जातको ब्राखाबाट जन्मिएका बोकाको दाम यति राखिएको हो। जिल्लामा अन्यत्र फर्म चलाइरहेकाहरुले स्थानीय जातका सँग क्रस गराउन बोका जन्मिएको एकसातैमा किन्ने तयारी गरेका हुन्। तीन महिनापछि लैजाने गरी पेस्की दिइराख्ने गरी मोलतोल पनि हुने गर्छ।

व्यावसायिक ब्राखापालनमा लागेका युवा व्यवसायी सुजन ढुंगानाले गत वर्षमा अष्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याएर पाल्न थालेका थिए। लोकलसँग पनि क्रस गराएर सन्तान उत्पादन गर्न मिल्ने भएकाले बोयर जातको विस्तारका लागि पनि बोका बिक्री गर्न लागिएको ढुंगानाले बताए।

‘दैनिक २ सय ५० देखि ३ सय ५० ग्रामसम्म मासु बढ्ने भएकाले पनि यो महँगो  छ। संसारमा सबैभन्दा राम्रो मासुको रुपमा लिइएको छ’, ढुंगानाले नागरिकसँग भने, ‘३ लाख रुपैयाँ गोटाले अष्ट्रेलियाबाट ३ वटा पाठी र एउटा बोका ल्याएर पाल्न थालिएको थियो।

अहिले सन्तान उत्पादन गर्ने काम गरिरहेको छु। बोयर नै र लोकलसँग क्रस गराउँदै छु। अब केही वर्षपछिबाट मासु उत्पादन सुरु हुन्छ।’

अष्ट्रेलियबाट ल्याइएका बोयरबाट एकसाता अघि दुई वटा बोका जन्मिएका थिए। चाँडो बढ्ने बाख्राको जात भएकाले बोका किन्न लागेको लेकाली बाख्रा फर्मका एक जना सञ्चालन दीपक दुलालले बताए। तीन महिनापछि लैजाने गरी मोलतोल गरिरहेको उनले जानकारी दिए। 

ढुंगानाका अनुसार यो अफ्रिकाबाट विकास भएको बाख्राको जात हो। ‘छिटो बढ्ने, रोगप्रतिरोधात्मक, जुनसुकै हावापानीमा हुने तथा लोकलसँग क्रस  गराउन सकिने भएकाले यो जातको बाख्राको निक्कै महत्व छ’ उनले भने ‘विदेशबाट फर्किएपछि गाँउमै उद्यम गर्नकालागि विकल्पहरु खोज्ने क्रममा ब्राखा रोजेको हु। बाेयरका साथै लोकल ब्राखाहरु पनि पालिरहेको छु।’

ढुंगाना व्यवसायिक बाख्रापालनमा जुटिरहेका छन्। २५ लाख खर्चिएर व्यवसायिक बाख्रापालन गरिरहेको उनले सुनाए।

लोकलकै दाममा मासु बेच्दा पनि घाटा नहुने उनको भनाइ छ। ‘वैदेशिक रोजगारीका क्रममा इन्टरनेटमा खोज्दा यो जातको बाख्रा भेटियो। अनि आएर  अस्टे«लियाबाट झिकाएर पाल्न थालेको हुँ। लोकल झैं घास, दाना खाने गर्छ’, उनले भने, ‘१७ महिनामा १०० केजी हुने र बोसो पनि कम हुने भएकाले स्वास्थ्यलाई लाभदायक हुन्छ।
 

प्रकाशित: २१ वैशाख २०७६ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App