२ असार २०८१ आइतबार
image/svg+xml
समाज

विद्यालय बन्द, शिक्षक–विद्यार्थी लेकमा

यार्सागुम्वा संकलन गर्दै विद्यार्थी

बझाङ– यतिबेला यार्सागुम्बा संकलनमा व्यस्त देखिन्छिन् काँडा मावि कक्षा–९ मा अध्यरत कल्पना बोहरा। पढाइ होइन, यार्सागुम्बा कति र कसरी संकलन गर्ने भन्ने चिन्ताले सताइरहेको उनी बताउँछिन्। ‘मलाई विद्यालयमा सरले आज के पाठ पढाउनुभयो, भोलि के पढाउँदै हुनुहुन्छ भन्ने चिन्ता लाग्दैन बरु अरू साथीसँगीको भन्दा बढी यार्सागुम्बा कसरी संकलन गर्ने र बाबुआमा, दाजुभाउजूलगायतबाट धेरै माया पाउने भन्ने चिन्ता लागेको छ,’ उनी भन्छिन्, गतवर्ष ५ लाख ५३ हजार रुपैयाँबराबरको यार्सागुम्बा संकलन गर्दा परिवारमा निकै खुसी छाएको थियो। मेरी छोरी कल्पना होइन, लक्ष्मी हो भनेर आमाबुबाले भन्नुभएको थियो । यो वर्ष अझै बढी कमाउने सोच छ।’ दुई सातादेखि उनी चाला वनमा यार्सागुम्बा संकलन गरिरहेकी छिन्।

विद्यालयमा कोही भर्ना भएका छैनन्। सबैजना लेकतिर यार्सागुम्बा संकलन गर्न बाबुआमा र आफन्तसँग गएकाले आफू पनि फुपाजूसँग दुई वर्षदेखि निरन्तर यार्सागुम्बा संकलन गर्न लेकतिर आउने गरेको धुली निमाविमा अध्ययरत कक्षा–४ पास गरेकी बबिता बोहराले बताइन्। उनले भनिन्, ‘५ कक्षामा सरले नाम लेखिदिनुभएको होला। असारको अन्तिम सातातिर विद्यालय जाने हो, अहिले दुईजना सर पनि आफ्ना छोराछोरी लिएर हाम्रो नजिकै पाल टाँगेर यार्सागुम्बा संकलन गरिरहनुभएको छ। हाम्रो त के, सरले उता तलब यता यार्सागुम्बा संकलन गरेर मालामाल। हामी आफ्नो खर्च बाबुआमाबाट माग्दैनौं। बरु कमाएर उहाँहरूलाई दिने गरेका छौं।

साइपाल गाउँपालिकाका धनसिंगे बोहराले घरमा रोजगारी गर्ने कोही नभएका र छोराबुहारीलाई घरधन्दा गर्दै बित्ने भएकाले नातिलाई यार्सागुम्बा संकलनमा पठाएको बताए। नातिले वर्षमा पाँचदेखि सात लाखसम्म कमाइ गर्ने भएकाले पढाइ छुटाएर भए पनि यार्सागुम्बा संकलनमा पठाएको उनले सुनाए। उनले भने, ‘जेठो नाति जनक बोहरा कक्षा–७ र कान्छो नाति तिलक बोहरा कक्षा–५ मा सदरमुकाम चैनपुरको बझाङ मेरीगोल्ड बोर्डिङ स्कुलमा पढ्छन्। नातिलाई उनीहरूकै कमाइले बोर्डिङ पढाइरहेको छु। अहिले सिजनमा यार्सागुम्बा संकलन नगरे वर्षभरि परिवारले के खाने? नातिलाई केले पढाउने?’

साइपाल गाउँपालिकाले गाउँपालिकाभित्रका दुईओटा मावि, एउटा निमावि र चारओटा प्राविका प्रधानाध्यापकलाई बैठकमा बोलाएर कुनै पनि विद्यालयले विद्यालय बन्द गरेर यार्सागुम्बा संकलन गर्न आफू पनि नजाने र विद्यार्थीलाई पनि नपठाउने भन्ने निर्णय गरेको भए पनि कार्यान्वयन नभएकोमा दुःख लागेको सो गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए। उनले भने, ‘गाउँपालिका जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र हो। अहिलेसम्म गाउँपालिकामा सरकारी र निजी गरी जागिर खानेको संख्या ११ मात्र छ। चेतना निकै कम छ, बिहानबेलुका हातमुख जोड्न समस्या भएकाहरूलाई रोकी चाहेर पनि विद्यालयको पढाइको स्तर सुधार्न सक्ने अवस्था छैन।’

साइपाल गाउँपालिकाका विद्यालय मात्र होइन । सुर्मा, छबिसपाथिभेरा, दुर्गाथली तलकोट, मस्टा गाउँपालिका, बुगल नगरपालिका र जयपृथ्वी नगरपालिकाभित्रका अधिकांश विद्यालय पनि अहिले बन्द छन्।

प्रकाशित: १८ वैशाख २०७६ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App