९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

इन्दुशंकर चिनी मिल बन्द !

सर्लाही - मुलुकमै सबैभन्दा बढी उखु क्रसिङ गर्दै आएको सर्लाही हरिऔनस्थित इन्दुशंकर चिनी उद्योग चालु सिजनका लागि बन्द भएको छ।

सोमबार बिहान साँढे १ बजेबाट उद्योगले यो सिजनका लागि उखु क्रसिङ बन्द गरेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। रजकका अनुसार उद्योगले यस वर्ष ३५ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ।

‘यसवर्ष इन्दुशंकरले मुलुकमै सबैभन्दा बढी उखु क्रसिङ गरेको छ’, रजकले भने, ‘उद्योग चल्न महिना दिन ढिला भएकाले अझै उखु क्रसिङ घट्यो, नत्र गतवर्ष जत्तिकै पुग्ने थियो।’ उक्त उद्योगले गत वर्ष ३९ लाख ९९ हजार १ सय २२ क्विन्टल उखु क्रसिङ गरेको थियो।

केही दिन अघिदेखि नै बाहिरका संकलन केन्द्रबाट उखु ल्याउन बन्द गरिसकिएको र मिलगेट क्षेत्रको उखु मात्र ल्याएर एक सातादेखि नो क्यानमा उद्योग चलिरहेको थियो। चर्को घामका कारण कटानी र ढुवानीमा समस्या हुँदा किसानले उद्योगसम्म उखु ल्याउन सकेका थिएनन्।

‘७०० क्विन्टल हाराहारी हामीले सर्भे गरेकै मिलगेट क्षेत्रको उखु अझै बाँकी छ’, रजकले भने, ‘त्यो उखु भने बाराको मानकौरस्थित उद्योगमा पठाइदिँदैछौं।’

त्यस्तै जिल्लाको दक्षिणी क्षेत्र बगदह स्थित महालक्ष्मी सुगर मिल र पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिलले भने एकसाता अघि नै चालु सिजनका लागि उखु क्रसिङ बन्द गरिसकेका छन्।

यसैवर्षबाट क्रसिङ्ग सूरु गरेको महालक्ष्मीले ११ लाख २७ हजार ३९५ क्वीन्टल उखु पेलेको छ। त्यस्तै पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी मिलले ९ लाख ७ हजार ६ सय ९२ क क्विन्टल उखु क्रसिङ गरेको छ। अन्नपूर्णले गतवर्ष १२ लाख ८४ हजार ५ सय ६२ क्विन्टल उखु क्रसिङ गरेको थियो।

यसवर्षदेखि दक्षिणी क्षेत्रकै बगदहमा महालक्ष्मी सुगर मिल सञ्चालनमा आएपछि इन्दुशंकर र अन्नपूर्णको क्रसिङ परिमाण घटेको छ।

तीनवटा चिनी उद्योग सञ्चालनरत सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो। यहाँ यसवर्ष २६ हजार हेक्टर क्षेत्रफल हाराहारीमा उखु खेती भएको जानकारहरुले बताएका छन्।

प्रकाशित: १६ वैशाख २०७६ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App