९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

पुनर्निर्माण योजनाबारेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर - तीनदिने ‘भूकम्प इञ्जिनियरिङ र विपदपछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन शनिबार भक्तपुरमा सम्पन्न भएको छ। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा भएको थियो।

समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले नीति अनुसारको कार्यान्वयन नहुँदा देशमा अहिले राजनीतिक संस्कृति नै संकटमा परेको बताए।

भूकम्प, डुबान, असिनापानी, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपको विपद् सम्बोधन गर्न यस सम्मेलनले महवपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। कलेज सञ्चालक समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाअन्तर्गत सञ्चालित सबै कलेजलाई अनुसन्धानको केन्द्रको रुममा विकास गर्ने लक्ष्य रहेको बताए।

भूकम्पबाट क्षतिग्रस्त पुनःनिर्माण तथा जीर्णोद्धारको काममा स्थानीय स्रोतसाधन र जनशक्ति नै परिचालित हुनु सकारात्मक भएको उनले बताए। भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको प्राचिन प्रविधि उत्कृष्ट रहेको बताउँदै भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्रको रुपमा स्थापना गर्ने र मौलिक प्रविधि नै हाम्रो पहिचान भएको बताइन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशीलचन्द्र ज्ञवालीले भूकम्पपश्चातको पुनःनिर्माणको गति ढिला भएको स्वीकाँदै देशको राजनीतिक बेथितिले पुनःनिर्माण कार्यमा ढिलाइ भइरहेको बताए। उनले स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले पुनःनिर्माणको क्षेत्रमा राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय रुपमा कार्य गरिरहेको बताए।

समारोहमा प्रा.डा. सुदर्शनराज तिवारी र प्रा.डा. प्रेमनाथ मास्केले इञ्जिनियरिङ कलेजहरू अध्ययन–अनुसन्धानमा जोड दिनुपर्ने बताए। कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवाल, कलेजका उपप्राचार्यद्वय रबिन्द्र फोंजु र रत्नशोभा प्रजापति, प्रो.डा. सुसुमो कोनो, सहायक डीन छियाड्डवा र प्रा.डा. मञ्जिप शाक्यले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख सुवालले सम्मेलनका सहभागीहरूलाई मायाको चिनो प्रदान गरेका थिए।

प्रकाशित: १४ वैशाख २०७६ ११:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App