७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् पर्वतका दलित समुदाय

पर्वत - जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन सुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन्।

बर्सेनि चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन्। बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा गड्यङगुडुङ गर्न सुरु गरेपछि घरभित्र छिर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ।

यो गाउँमा बर्सेनि चट्याङका कारण एकदेखि तीनसम्मको ज्यान जाने गरेको छ भने बर्सेनि धेरै पशुधनको समेत क्षति हुने गरेको स्थानीयवासी ठाकुर रसाइलीले जानकारी दिए। उनले भने, ‘हरेक वर्ष मानवीय क्षति नभएको वर्ष नै हुँदैन।’ यो गाउँ पर्वतको सबैभन्दा बढी चट्याङ पर्ने गाउँको रुपमा परिचितसमेत रहेको छ। विशेषगरी फागुनदेखि जेठसम्म बढी घटना घट्ने गरेका छन्। अहिलेसम्म झण्डै २० को चट्याङका कारण मृत्यु भइसकेको छ भने घाइतेको सङ्ख्या त्यति नै छ।

स्थानीय जीतबहादुर विकका अनुसार आकाशमा मेघगर्जन सुरु भएपछि घर वरिपरि मदिरा छर्केर भित्र बस्ने चलनसमेत रहेको छ। मदिरा छर्केपछि चट्याङ नपर्ने परम्परागत मान्यताका आधारमा मदिरा छर्कने गरेका छौँ, उनले भने। ‘मदिरा छर्केको दिन चट्याङ नपरेकाले विश्वास लिने गरेका छौँ।’ दलित समुदायको बाहुल्यता रहेको उक्त गाउँमा भूतप्रेत र दैवीशक्तिको पूजामा मदिरा चढाउने प्रचलन रहेको छ। उक्त मदिरा घर वरिपरि छर्केपछि दैवीप्रकोप हट्ने विश्वासले मदिरा छर्कने गरिएको हो, उनले जानकारी दिए।

बाबुबाजेको पालादेखि नै यस्तै गर्ने प्रचलन भएर हामीले पनि मेघगर्जन सुरु भएपछि मदिरा चढाउने गरेका छौँ, विकले भने। अर्का वृद्ध धनबहादुर विश्वकर्माले चट्याङका कारण गाउँमा ठूलो समस्या भएको बताए। एउटै गाउँमा बर्सेनि चट्याङ पर्नुको कारण पत्ता नलागेको बताउँदै उनले फलामको धाऊ भएर हो वा अन्य कारणले हो भन्ने पत्ता लगाउन सके सुरक्षित हुन सकिने जानकारी दिए। झण्डै ८० वर्ष अघिसम्म यो स्थानमा रहेको फलामखानीबाट फलाम निकाल्ने गरिन्थ्यो। अहिले भने उक्त खानी बन्द रहेको छ।

समुद्री सतहदेखि दुई हजार फिटभन्दा उचाइमा रहेको उक्त गाउँ जिल्लाकै सबैभन्दा विकट गाउँसमेत हो। पछिल्लो समय नेपाल टेलिकम र एनसेलको टावरसमेत निर्माण भएको यो गाउँमा चट्याङका घटना झनै बढ्न थालेको स्थानीयवासीले बताएका छन्। दिउँसोको समयमा मेघगर्जन भएमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ, स्थानीय बलबहादुर क्षेत्रीले भने, ‘वर्षायामभन्दा हिउँदमा चट्याङ बढी पर्ने भएकाले स्थानीयवासी समस्यामा पर्ने गरेका छन्।’

बर्सेनि चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि कुनै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन हुन नसकेको स्थानीयवासीको गुनासो छ। यस्तो प्राकृतिक विपत्तिमा पर्नेलाई राज्यले क्षतिपूर्तिसमेत निकै न्यून दिने गरेको पीडितको गुनासो छ। बर्सेनि चट्याङको पीडा खेप्न नसकेको गाउँका झण्डै एक दर्जन परिवार बसाइँसराइसमेत गरेका छन्। उनीहरु बसाइँ सरेर स्याङ्जा, पोखरा र नजिकै रहेको स्याङ्जाको घण्टेदेउराली बजारमा गएको स्थानीय रनबहादुर परियारले बताए। (रासस)

प्रकाशित: १३ वैशाख २०७६ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App