९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बेहुलीझैँ सिंगारियो प्रवेशद्वार

भेरी–बबई आयोजनाको प्रदेशद्वार चिप्लेमा बनाइएको हेलिप्याड र उद्घाटन स्थल।

सुर्खेत - राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण पूरा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मंगलबार टनेलको ब्रेकथ्रु गर्ने कार्यक्रम तय गरिएको छ। भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत र प्रदेश ५ का बर्दिया र बाँकेका ५२ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउने उद्देश्यसहितको यो आयोजनामा नेपालमै पहिलो पटक सुरुङ निर्माणका लागि टनेल बोरिङ मेसिन (टिबिएम)को प्रयोग गरिएको छ। समयअगावै टिबिएमले १२.२ किलोमिटर सुरुङ निर्माण गरिसकेको छ। 

‘राष्ट्रिय गौरवको आयोजना हुनुका साथै नेपालमै पहिलो पटक नयाँ प्रविधिबाट सुरुङ निर्माण भएकाले ब्रेक थ्रुका लागि प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा गरेका हौं’, आयोजना प्रमुख सञ्जीव बरालले भने, ‘मंगलबार सुरुङ निर्माणको काम औपचारिक रुपमा सम्पन्न भएको घोषणा गछौं।’

भेरीको पानी सुरुङमार्फत बबईमा पु-याउनेस्थल भेरी गंगा नगरपालिका–११ को चिप्ले अहिले बेहुलीझै सिंगारिएको छ। भेरी नदी किनारमा हेलिप्याड बनाइएको छ। ध्वजापताकाले चिप्ले रंगिएको छ। बबईदेखि चिप्लेसम्मको १२.२ किलोमिटरमध्ये पाँच मिटर मात्रै सुरुङ खन्न बाँकी छ। ‘प्रधानमन्त्रीज्यूको उपस्थितिमा पाँच मिटरको सुरुङ १५ देखि २० मिनेटमा सम्पन्न गर्ने कार्यक्रम छ’, आयोजना प्रमुख बरालले भने, ‘मञ्चदेखि अन्य तयारी पूरा गरेका छौं।’ टिबिएम मेसिन २७४ मिटर लामो छ। ब्रेकथ्रु कार्यक्रममा एक मिटर भाग मात्रै जमिन बाहिर ल्याइने छ। 

सुरुङमार्गको ब्रेकथ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुर्खेत, बर्दिया र बाँकेबाट संघ, प्रदेश र स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि आउँदै छन्।

लक्ष्यभन्दा एक वर्ष अगावै सम्पन्न

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माणका लागि सिँचाइ विभागले चार वर्षको समयावधि दिएको थियो। चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक)ले सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्ष १२ दिनअघि नै सुरुङ निर्माणको काम सम्पन्न गरेको छ। 
२०७२ जेठ २१ गते काम सुरु गरेको कोभेकको निर्माण म्याद २०७६ चैत १५ गतेसम्म थियो । ‘लक्ष्य अगावै सुरुङमार्ग निर्माण सम्पन्न गर्न सफल भयौं’, आयोजना प्रमुख बरालले भने, ‘योसँगै नेपालमा टिबिएमको सफल परीक्षण पनि सम्पन्न ग¥यौं।’ सुरुङमार्ग लक्ष्य अगावै सम्पन्न भए पनि चिप्लेमा ड्याम (बाँध) र बबईमा पावर हाउस (विद्युतगृह) निर्माणको काम सुरु भएको छैन। अझै केही वर्ष सुरुङमार्गबाट भेरीको पानी बबईमा खस्ने छैन।

प्रकाशित: १ वैशाख २०७६ १४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App