४ वैशाख २०८१ मंगलबार
समाज

कागबेनीमा एक दिनमा ५३ सय श्रद्धालु

मुस्ताङ- हिमाली जिल्लामा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ। एकै दिन पाँच हजारभन्दा बढी संख्यामा आन्तरिक पर्यटक हिमाली जिल्ला मुस्ताङ उक्लेका छन्। यसले हिमाली जिल्लामा भित्रिने गाडीको ताँती लागेको छ।

मोटरबाटो खुलेर यातायात सहज भएपछि आउजाउ पनि बढेको पर्यटन व्यवसायीले बताएका छन्। यतिबेला पर्यटकीय सिजन पनि परेको र चैते दसैंको औंसीको अवसर परेकाले आन्तरिक पाहुना निकै नै बढी संख्यामा मुस्ताङ पुगेका छन्। मुस्ताङको कागबेनीमा पितृको श्राद्ध गर्न पुगेका आन्तरिक पाहुनाको कारण भीडभाड भएको छ। त्यसले गर्दा सडकमा सवारीको चाप पनि थपिएको छ।

ट्राफिक कार्यालय मुस्ताङका अनुसार बिहीबार मुस्ताङमा पाँच हजार तीन सय ४० जना आन्तरिक पाहुना पुगेका थिए। ट्राफिक हबल्दार गेहेन्द्रसिंह सिम्खडाका अनुसार ८५ बस, दुई सय ८५ जिप, २८ ट्रक, ९० पर्यटक जिप, १० वटा ट्याक्सी र ८५ वटा मोटरसाइकलमा ती पाहुना मुस्ताङ पुगेका थिए।

बुधबार यो संख्या केही कम थियो। उनका अनुसार बुधबार २६ बस, नौ ट्रक, ७५ जिप, १५ पर्यटक जिप, दुई ट्याक्सी, १८ मोटरसाइकलमा १५ सय मान्छे हिमाली जिल्ला उक्लेको उनले बताए।

शुक्रबार तीन हजार ६ सय ५८ जना आन्तरिक पाहुना हिमाली जिल्ला मुस्ताङ पुगेका थिए। ५८ बस, १७ ट्रक, दुई सय ५० जिप, ६ ट्याक्सी, ४० मोटरसाइकल र २५ वटा पर्यटकीय जिपमा ती पाहुना मुस्ताङ पुगेको सिम्खडाले बताए। ‘आन्तरिक पाहुनाको ओइरो लागेपछि सवारी व्यवस्थापनमा हामीलाई नै समस्या भयो। सवारीको चाप ह्वात्तै बढेको छ,’ उनले भने।

स्थानीयका अनुसार वर्षको दुईपटक कागबेनीमा दर्शनार्थीको भीड बढ्छ। बडादसैंको सोह्रश्राद्धको औंसी र चैतेदसैं औसी तिथिमा कागबेनीमा श्राद्ध तथा तर्पण गर्न आन्तरिक तिर्थालुको भीड लाग्ने हुँदा आउजाउ बढेको हो।

चैतेदसैंको औंसी शुक्रबार परेपछि तिर्थालु बढेका छन्। ‘यति धेरै पाहुना आए कि हामीलाइ ती पाहुना सवार सवारी व्यवस्थापनमा समेत हम्मेहम्मे भयो,’ उनले भने, ‘बाटोमा मात्र नभई पार्किङस्थलमा पनि भीड लागेकाले व्यवस्थापनमा चुनौती थपियो।’

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमका अनुसार बढ्दो सवारी र पर्यटकको चापलाई व्यवस्थापन गर्न लागिपरेको बताए। ‘आन्तरिक यात्रुको चाप निकै बढिरहेको छ, पर्यटकीय सिजन पनि परेको र चैतेदसैंले पनि आन्तरिकलाई बढी भित्र्याएको छ,’ उनले भने, ‘कतै पनि नराम्रो घटना नहोस् भनी जिल्लाका सबै स्थानमा सुरक्षा व्यवस्था कडाइ गरेका छौं।’

तुलनात्मक हिसाबले अहिले मुस्ताङमा गत वर्षभन्दा बढी पर्यटक आएकाले पनि बढी सचेत हुनुपरेको गौतमले बताए। ‘आन्तरिक होस् वा बाह्य, बढी पर्यटक आउँदा समस्या थपिन्छ नै। दुर्गम जिल्ला भएकाले पनि सवारी व्यवस्थापन र सुरक्षा चुनौती बढ्छ,’ उनले भने।

वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख फेन्चोकछोप्टेन गुरुङले तत्काललाई कागबेनी आसपास सरसफाइलाई ध्यानमा राखेको बताए। गत वर्ष कागबेनीमा यस्तै भीड हुँदा सवारीको पार्किङ व्यवस्थापनमा असहज भएकाले यसपटक केही सुधारेको उनले बताए।

प्रहरी सहायक निरीक्षक टीकाराम दाहालका अनुसार करिब सात दिनदेखि उनकै नेतृत्वमा व्यवस्थापन टिम खटिएको छ। ‘एकैचोटि धेरै तीर्थयात्री पूजाआजा गर्न आउँदा व्यवस्थापनमा समस्या देखिएकाले तत्काललाई विभिन्न भागमा पर्यटकलाई विभाजन गरी व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘पाहुनालाई असहज नहोस् भनेर बूढाबूढी तथा असक्तहरूलाई बढी समय र प्राथमिकता दिने गरेका छौं।’ बाटोमै सवारी बिग्रिएर अलपत्र परेका यात्रुलाई समेत समयमै सम्बन्धित गन्तव्यमा पु¥याउन सघाएको दाहालले बताए।

पाहुना बढेपछि यतिबेला मुक्तिनाथ क्षेत्रमा पनि चलहलपहल बढेको छ। लामो समयको हिमपातले पाहुना पुग्न र स्थानीयवासीको समेत आउजाउ रोकिएको हिमाली जिल्लामा अहिले पनि धार्मिक पर्यटकका कारण चहलपहल बढेको पर्यटन व्यवसायीले बताएका छन्। आन्तरिकबाहेक विदेशी पाहुना भित्रिने सिजन पनि भएकाले मुस्ताङमा पर्यटक संख्या बढिरहेको उनीहरूले बताए।

 

प्रकाशित: २३ चैत्र २०७५ ०९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App