२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

फेवातालको पानी : पिउन नमिल्ने, पौडिन मिल्ने

पोखरा फेवातालमा लुगा धुँदै एक महिला र तालकिनारमा हिँडिरहेको भैंसी। तस्बिर: उमेश पुन

पोखरा- फेवातालको पानी पोहोरभन्दा केही सफा भएको छ। प्रयोगशालामा गरिएको परीक्षणले पानीमा हुने फोहोरपना घटेको देखाएको हो। तालको पानी सफा भए पनि पिउन भने अयोग्य नै  छ। तर पानीमा पौडिन भने मिल्ने परीक्षणले देखाएको छ।

गत वर्ष वैशाखको पहिलो साता परीक्षण गर्दा फेवातालको पानी निकै नै फोहोर रहेको पाइएको थियो। तर, यसपटक पानी सफा भएको प्रयोगशालाको परीक्षणले पुष्टि गरेको प्राविधिकले बताएका छन्। लेकसाइडका कतिपय पर्यटन व्यावसायीले भने तालको पानी सिधै तानेर उपयोग गर्दै आए पनि त्यो पानी शुद्धीकरण नगरी उपयोग गर्न नमिल्ने प्राविधिकको भनाइ छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्राविधिक सुनिल चौधरी तालको पानीमा पौडी खेल्न मिल्ने तर पिउन नमिल्ने बताउँछन्। अघिल्लो वर्ष गरिएको परीक्षणले पौडी पनि खेल्न नमिल्ने देखाएको थियो। ‘पानी पिउन मिल्दैन, तर यसपटक पौडी भने खेल्न मिन्छ,’ चौधरीले भने, ‘अनुभवी पौडी खेलाडी पानी नखाई पौडिन सक्छन्।’

पोखरामा पोहोर छैटौं संस्करणको राष्ट्रिय तथा दक्षिण एसियाली ट्रायथोलन च्याम्पियनसिप आयोजना हुँदा पहिलोपटक तालको पानी परीक्षण गरिएको थियो। यो पटक सातौं संस्करणको यो प्रतियोगिता वैशाख १४ गते फेवातालमा हुँदै छ। ट्रायथोलनमा दौड, पौडी र साइक्लिङ प्रतियोगिता हुन्छ। पौडी प्रतियोगिता फेवातालमा हुने गरेको छ। त्यही प्रतियोगिता गर्नका लागि यो पटक पनि तालको पानी परीक्षण गरिएको थियो।

चौधरीका अनुसार परीक्षणको क्रममा तालको पानी क्षारयुक्त रहेको रिपोर्टले जनाएको छ। पानीमा  ६.५ देखि ८.५ सम्मको क्षार हुनुपर्ने भए पनि यो पटकको परीक्षणमा ८.१ देखिएको छ। पोहोर तालको पानीमा क्षारको मात्रा ८.७ थियो। ‘पोहोरभन्दा पानी सफा देखिएको छ। पानीमा क्षारको मात्रा घटेको छ,’ उनले भने, ‘तर पनि पिउन भने मिल्दैन। पौडी खेल्न भने मिल्छ।’ पानीमा अन्य फोहोरजन्य वस्तु रहेको समेत ल्याबको रिपोर्टमा उल्लेख छ। पानीमा फोहोरमैला मिसिँदा क्षारको मात्रा बढाउने उनले बताए।

त्यस्तै, तालको पानीमा धमिलोपन पनि घटेको छ। पानीमा ५–१० मिलिग्राम प्रतिलिटर धमिलोपनलाई औषत मानिने भए पनि पोहोर ४.४ मिलिग्राम प्रतिलिटर रहेकोमा यसपटक घटेर ०.९२ मिलिग्राम प्रतिलिटरमा झरेको छ। ‘धमिलोपन त पोहोर पनि थियो। तर यो पटक अझै घटेको छ,’ उनले भने, ‘तालको कुन ठाउँबाट पानीको नमुना संकलन गरिएको थियो भन्ने पनि यसमा भर पर्छ। औषतमा धमिलोपना रहे पनि सकेसम्म पानी सफा हुनुपर्ने उनले बताए।

यसपटक परीक्षणका लागि तालको बीचभागबाट नमुना संकलन गरिएको थियो। तालको पानीको धमिलोपन औसतमा पोहोर पनि कम रहेकोमा योपटक झनै घटेको उनले बताए। तालको मध्य भन्दा छेउछाउको पानी बढी प्रदूषित हुने उनले बताए।

चौधरीका अनुसार पानीमा घुलित पदार्थ पनि भेटिने गरेको छ। ‘पोहोरको परीक्षणमा तालको पानीमा एमोनियाको मात्रा ०.५ मिलिग्राम प्रतिलिटर देखिएकोमा यसपटक झनै घटेर ०.०३ मिलिग्राम प्रतिलिटरमा झरेको छ। पानीमा एमोनियाको मात्रा १.५ मिलिग्राम प्रतिलिटरसम्म हुुनुपर्छ। त्यसभन्दा बढी हुनु भनेको प्रदूषणको मात्रा अझ बढी रहेको बुझिने उनले बताए।

पानीमा कुहिएको पदार्थले पनि प्रदूषित बनाएको रिपोर्टले देखाएको छ। पोहोर गरेको परीक्षणमा ई–कोलीको मात्रा १०० सिएफयू÷१०० एमएल भन्दा बढी रहेकोमा यसपटक भने घटेर ०८ सिएफयू÷१०० एमएलमा झरेको छ। पानीमा इकोलीको मात्रा शून्य भएमा मात्र शुद्ध मानिन्छ। ‘इकोलीको मात्रा निकै नै घटेको छ,’ उनले भने, ‘इकोलीको मात्रा ०८ हुनु भनेको निकै नै कम हो। इकोलीले पानीमा घुलित दिशापिसाबको मात्रा जनाउँछ।’

त्यस्तै, पानीमा कोलिफर्म पनि भेटिएको छ। पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्ने भए पनि यसपटक ४६ सिएफयू÷१०० एमएल देखिएको छ। कोलिफर्म हुनु भनेको पानीमा दिशापिसाबको ब्याक्टेरिया रहेको पुष्टि हुने चौधरीले बताए।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले पानी परीक्षण गर्दा पिउन योग्य नभए पनि पौडिन योग्य  रहेको बताए। ‘तालमा पौडीको प्रतियोगिता गर्ने, तर त्यही पानी प्रदूषण भएमा हामीलाई नै समस्या हुन्थ्यो,’ उनले भने, ‘तर यसपटक पानी केही सफा भएछ। पौडिन मिल्ने भएपछि हामीलाई सहज भयो।’

तालको पानी सफा हुनुपर्ने भए पनि ठाउँठाउँबाट मिलिएको ढल र नालाले प्रदूषण बनाइरहेको छ। बेलाबेला ताल सफा गर्दा यासपटक पानी पनि केही शुद्ध भएको हुन सक्ने पोखरा महानगरका प्रवक्ता गंगालाल सुवेदीले बताए।

‘ताल केन्द्रीत रहेर आसपासका क्षेत्रमा सफा गरेकाले पनि प्रदूषण घटेको हुनसक्छ,’ उनले भने, ‘बढी फोहोर हुने ठाउँको फोहोर निकालेका छौं। ताल जोगाउनेतर्फ पनि केही सचेतना पनि बढेको हुनसक्छ।’

 

 

 

प्रकाशित: २३ चैत्र २०७५ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App