१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जीर्ण सडक मर्मत गरिँदै

खोटाङ - पिच उक्किएर जीर्ण बनेको खोटाङको जयराम–हलेसी सडकको च्यास्मिटारदेखि हलेसीसम्मको सडकखण्ड मर्मतको तयारी गरिएको छ। आठ÷नौ वर्षअघि गरिएको ओटासिल पिच उक्किएर खाल्डैखाल्डा भएकाले ३० किलोमिटर सडक (च्यास्मिटार–दुर्छिम–हलेसी) मर्मतको तयारी गरिएको हो।

मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको जीर्ण सडक मर्मतका लागि चैत ८ गते टेन्डर आह्वान भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए। स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलोपल्ट २०६७ सालमा गरेको पहिलो ओटासिल कालोपत्रे उक्किएपछि सबैभन्दा बढी त्रि–धार्मिकस्थल हलेसी आउनेजाने पर्यटक तथा दर्शनार्थी मारमा परेका थिए। उक्त सडकको ठाउँठाउँमा खाल्डाखुल्डी परेको र जोखिमपूर्ण भएकाले मर्मतका लागि सडक विभागका महानिर्देशक र हलेसी तुवाचुङ नगरपालिकाबिच गत फागुन ३० गते सहमति भएको थियो।

कालोपत्रे उक्किँदा सवारीसाधन हिँड्नै मुस्किल पर्नेगरी खाल्डाखुल्डी बनेको सडक मर्मतका लागि पुष्पलाल मध्यपहाडी सडक आयोजनाले टेन्डर आह्वान गरेको थियो। सो सडकखण्डमा सवारीचालक छिन–छिनमा भेटिने खाल्डाखुल्डी छल्दै सवारीसाधन चलाउन बाध्य भएको खबर गत माघमा नागरिक दैनिकमा प्रकाशित गरिएको थियो। हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानीलगायत विभिन्न सहरलाई जोड्ने प्रमुख एक मात्र मार्ग हो। हाल सो सडकमा दैनिक हलेसी र दिक्तेल आउनेजाने सयौं सवारीसाधनको ओहोरदोहोर हुने गरेको छ।

विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धुलो नियन्त्रणका लागि लगाइने पिच बाँकी नरहेपछि गाडीभित्रै धुलो छिर्ने गरेको यात्रुको गुनासो छ। २०७१ सालमा ठेक्का लगाएर जयरामदेखि च्यास्मिटारसम्म, बडहरे र दुर्छिमका विभिन्न खण्डमा पुनर्निर्माण गरिए पनि बिचका अन्य ठाउँमा ठुल्ठुला खाल्डा यथावत छन्। जयराम–हलेसीका विभिन्न १३ टुक्रा गरी १६ हजार तीन सय मिटर खण्डमा डिबिएमएसटी पिच गर्ने ठेक्का लिएको रौता कन्स्ट्रक्सनले सम्झौता अनुसारको काम पूरा गरेर हिँडिसकेको छ। सोही खण्डको चिसो र हिलाम्मे हुने १७ हजार मिटर खण्डमा सूर्य कन्स्ट्रक्सनले आरसिसी ढलान र स्ट्रक्चरको काम गरिरहेको छ। तर, सोही सडकको २०६७ सालमा गरिएको कालोपत्रे खण्ड मर्मत नहुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य बनेको हलेसी तुवाचुङ नगरपालिका ३ का वडाध्यक्ष भलाराज राईले बताए।

स्थानीयका अनुसार दुर्छिमको छापडाँडा र हलेसीबिचको सडकमा सबैभन्दा बढी खाल्डाखुल्डी बनेको छ। कतिपय घुम्तीमा समेत खाल्डाखुल्डी हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। ‘पुरानो पिच उक्किँदा च्यास्मिटारको चैतेडाँडा, बोझेओडार, बडहरेको गौरीभिर, दुर्छिमको बुद्धचोक आसपासमा खतरा बनेको छ,’ वडाध्यक्ष राईले भने, ‘खाल्डैखाल्डा भएकाले छापडाँडा र हलेसीबिच सबैभन्दा खतरा छ।’

च्यास्मिटार प्रहरी चौकीदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको खण्डमा पिच उक्किँदा ‘बुङबुङ’ धुलो उड्ने गरेको छ। ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्राको मात्रा नमिलाई कम गुणस्तरको ओटासिल हालेका कारण आठ वर्ष नपुग्दै जयराम–हलेसी सडकको अवस्था कच्ची सडकसरह बनेको च्यास्मिटारका स्थानीय जीवन राईले बताए। सडकमा स्वच्छन्द–भगवती निर्माण सेवाले २०६५ देखि २०६७ साल लगाएर ओटासिल गरेको थियो। कम्तीमा १० वर्ष टिक्नुपर्ने ओटासिल तीन/चार वर्षमै उक्किन थालेको स्थानीयको भनाइ छ। ठेकेदारले फाइदाका लागि कम गुणस्तरको कालोपत्रे गर्न लागेपछि स्थानीयले उसबेला सडक संघर्ष समितिसमेत गठन गरेको थियो। जयरामदेखि हलेसीसम्मको सडक पिच गर्ने क्रममा ठेकेदारले बस्ती नजिक बाहेकका विभिन्न खण्डमा पिच नै नगरी छाडेको थियो। सडकका बाँकी खण्डमा पनि पिचको काम पूरा गर्न भन्दाभन्दै ठेकेदार भागेको राईले बताए।

प्रकाशित: १७ चैत्र २०७५ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App