रुकुम- रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा एक युवा मृत अवस्थामा फेला परेका छन्। मुसिकोट नगरपालिका ४, सोलाबाङका २८ वर्षीय नविन खड्का सोमबार बिहान घर नजिकैको पानी बगिरहेको कुलोमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। उनी जिल्ला अदालतका तामिलदार समेत हुन्। कुलोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
खड्काले आइतबार राति अत्याधिक मदिरापान गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। मदिराकै कारण उनको मृत्यु भएको हुनसक्ने बताइएको छ। तर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खड्काको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरेको भएपनि अझै रिपोर्ट नआएको डिएसपी खड्काले बताए।
केही समय रुकुम (पूर्व)को रुकुमकोट जिल्ला अदालतमा काजमा काम गरेका खड्का एक महिना अघि मात्रै रुकुम जिल्ला अदालतमा आएका थिए।
प्रकाशित: ११ चैत्र २०७५ ०९:५७ सोमबार