१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उडेको ३४ सेकेन्डमै दुर्घटना !

ताप्लेजुङ - पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ। भिटु ट्र्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो। भिटु ट्याकर भनेको हेलिकोप्टरमा रहेको जीपीएस डीभाइसको सहयतामा इन्टरनेटमार्फत हेलिकोप्टरका सबै गतिविधि नियाल्ने प्रविधि हो। यो प्रविधिका अनुसार हेलिकोप्टरले बुधबार १२ बजेर ३४ मिनेटमा पाथीभरा मन्दिरमा रहेको हेलिप्याडबाट भुँइ छाडेको देखिएको छ।

पंखामा समस्या आएको आशंका

तेह्रथुमको आठराईबाट ११ बजेर ३० मिनेटमा पाथीभरातर्फ प्रस्थान गरेको हेलिकप्टर ११ बजेर ४९ मिनेटमा पाथीभरा मन्दिरको हेलिप्याडमा अवतरण भएको उक्त प्रविधिले देखाउँछ। तेह्रथुमको आठराईमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश पोडारले राखेको उडान अभिलेखमा पनि तेह्रथुमको आठराईबाट ठीक ११ बजेर ३० मिनेटमा हेलिकप्टर उडान भएको उल्लेख छ।

भिटु ट्याकर र पोडारले हेलिकोप्टरबारे राखेको अभिलेख लगभग मिल्दो देखिएको छ। ‘भीआईपीको भ्रमण भएकाले काठमाडौंबाट उडान हुँदादेखि यहाँ ल्यान्ड भएको र यहाँबाट उडेसम्मको अभिलेख राखेको हुँु,’ प्रहरी निरीक्षक पोडारले बताए। यो प्रविधिका अनुसार मन्त्री अधिकारी सवार हेलिकोप्टर बुधबार बिहान ८ बजेर ३१ मिनेटमा काठमाडौंबाट तेह्रथुमको चुहानडाँडातर्फ उडेको हो। ९ बजेर ५४ मिनेटमा त्यहाँ अवतरण भएको छ। उडानको समय १ मिनेट फरक परेपनि पोडारले राखेको अभिलेख र भिटु ट्याकर प्रविधिले चुहाँनडाँडामा अवतरण भएको भएको समय समान देखिएको छ।

के पङ्खामा पनि समस्या थियो ?

बुधबार ताप्लेजुङको पाथीभरा मन्दिर आसपासको तारेभीरमा दुर्घटनामा परेको पर्यटनमन्त्री अधिकारीसहित सात यात्रु सवार एयर डाइनेस्टी हेलिकोप्टरको पंखामा समेत समस्या रहेको भन्ने अर्को आशंका बाहिर आएको छ। ‘माथिबाट हुत्तिएर तारेभीरमा खसेको मैले देखेको हुँु,’ दुर्घटनास्थलनजिकै घाँस काट्न पुगेका फुङ्लिङ नगरपालिका–१० फुरुम्बुु मयामका सुकवीर भट्टराईले भने। उनका अनुसार हेलिकोप्टर उडिरहेको अवस्थामा एकैचोटि आकाशमा बम पड्केजस्तो आवाज आयो र पछि तारेभीरबाट धुँवाको मुस्लो निस्कियो। ‘एकदम धेरै हावा चलेकाले उड्दाउड्दै पङ्खा चल्न छोडेपछि हेलिकोप्टर दुर्घटनामा परेको हुन सक्ने उनको अनुमान छ।

पाथीभरा मार्गस्थित माथिल्लो फेदीस्थित स्वास्थ्य चेक पोस्टमा कार्यरत अहेव उमनाथ पौडेलका अनुसार थामिनसक्नु हावाको बेग, पंखामा देखिएको समस्या र थेग्न नसक्ने भार दुर्घटनाका प्रमुख कारण हुन सक्छन्। उनका अनुसार दर्शनका लागि मन्त्री अधिकारीसहित पाथीभरा पुगेको हेलिकोप्टर अवतरण भएको केही समयपछि नै त्यहाँ डल्ला–डल्ला बनेर हिउँ परेको थियो। हावाको बेग, कुहिरो, वर्ष र हिमपात एकैपटक उर्लिंदा देखिएको समस्या पुरै हल हुनै नपाई पाथीभरा मन्दिरबाट हेलिकोप्टर उडेको उनले बताए। पौडेलको भनाइमा त्यो बेला हल्का पानी पर्दै थियो भने कुहिरो र हिमपात हट्नासाथ डरलाग्दो गरी हावाकोचलेको थियो। स्थानीय इन्द्रमाया भट्टराईले हेलिकोप्टर तल–तल झर्दै गएको देखेको सुनाइन्। एक्कासि हेलिकोप्टर देखिन छनडेपछि हावाको गतिले पंखामा प्रभाव पारेको हुन सक्ने आशंका गरिन्।

पाइलटहरूका अनुसार हेलिकोप्टरको पङ्खामा बरफ जमेपछि इन्जिनको गति कम हुने गर्छ। अहेव पौडेलले हिमपातबारे दिएको जानकारीलाई आधार मान्ने हो भन हेलिकोप्टरको पंखामा बरफ जमेको अनुमान गर्न सकिन्छ। तीव्र वेगको हावा चलेका र बरफ जमेका कारण पंखाको गतिमा आएको सुस्तताले हेलिकोप्टरलाई असन्तुलित बनाएको हुन सक्ने अड्कलबाजी गरिएको छ। भार थपिनु र हेलिकोप्टरले लिएको गलत दिशाका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गर्नेहरू पनि उत्तिकै छन्। जानकारहरूका अनुसार हेलिकोप्टरको इन्जिनको क्षमता कति बढाउने भन्ने विषय पंखाको गतिले निर्धारण गर्छ। पंखाको गति जति बढी भयो इन्जिनको क्षमता पनि त्यति नै बढी हुन्छ र हेलिकप्टरलाई कुन कोणमा कति डिग्री घुमाउने भन्ने विषय पनि पंखामै निर्भर गर्छ। उडिसकेपछि हेलिकोप्टर पंखाको नियन्त्रणमा हुन्छ।

प्रकाशित: १८ फाल्गुन २०७५ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App