coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालमा ‘मार्बल्ड क्याट’

क्यामेरा ट्र्यापमा देखिएको मार्बल्ड क्याट। तस्बिर सौजन्य:रेडपान्डा नेटवर्क

पाँचथर - संसारमा दुर्लभ मानिनले मार्बल्ड क्याट (छिरबिरे बिरालो) नेपालमा भेटिएको छ। क्यामेरा ट्रयापमार्फत पाँचथरको याङवरक गाँउपालिका–२, फलैचामा यो बिरालो भएको पत्ता लागेको हो। हालसम्म प्राप्त प्रमाणका आधारमा नेपालमा पहिलोपल्ट उक्त बिरालो पत्ता लागेको केही समयअघि प्रकाशित ‘नेचर कन्जर्भेसन’ नामक जर्नलमा उलेख छ।

नेपालमा पहिलो पल्ट यसको तस्बिरर खिचिएको हो। लिंकन विश्वविद्यालय न्युजिल्यान्ड र रेडपान्डा नेटवर्ककको सहकार्यमा भएको अध्ययनका क्रममा शोधकर्ता सोनामटाशी लामाले यो बिराले नेपालमा रहेको पत्ता लगाएका हुन्। ‘रेडपान्डाको पिटिआई (पाँचथर–ताप्लेजुङ–इलाम) करिडोरमा राष्ट्रिय तथा सामुदायिक बनमा वन्यजन्तुको अवस्था पहिचान गर्न राखिएको क्यामेराका माध्यमबाट यो बिराले पत्ता लागेको हो’, लामाले आइतबार नागरिकसँग भने ‘वनविज्ञान र संरक्षणकर्ताका लागि यो रोचक र आर्कषक खबर हो। क्यामेराले खिचिएका १७ वटा मझौला स्तनधारी वन्यजन्तुमा मार्बल्ड क्याट पनि भेटियो।’

जनवरी–२१, २०१८ मा पहिलोपल्ट छिरबिरे बिरालोको तस्बिर खिचिएको हो। नेपालमा धेरै वर्षअघि छाला भेटिए पनि यो बिरालो पाइन्छ भन्ने पहिलोपटक पत्ता लागेको लामाले बताए। यो फलैचाको बर्मेभन्दा माथि २ हजार ७ सय ५० मिटरमा यो बिरालो पाइएको क्यामेराले देखाएको छ। योसँगै नेपालमा पाइने जंगली साना बिरालोका प्रजाति ७ पुगेको छ। सहलेखनकर्ता तथा लिंकन विश्वविद्यालयका एसोसिएट प्रोफेसर एड्रियन प्याटरसनले जर्नलमा लेखेका छन्, ‘ ‘पूर्वी नेपालमा पहिलोपल्ट मार्बल्ड क्याट क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोगबाट रेकर्ड हुनुले यस प्रविधिको फाइदालाई दर्शाउँछ र यो रेकर्डले नेपालको संरक्षणको क्षेत्रमा ठूलो योगदान पुर्‍याउने छ।’

यो बिराले दुर्लभ वन्यजन्तुमा पर्ने लामा बताउँछन्। झन्डै ६ महिना समय खर्चिएर यो विवरण संकलन गरिएको हो। संकलित विवरणको अध्ययन तथा समीक्षाबाट मार्बल्ड क्याट पाइएको पुष्टि भएको उनले बताए। इलाम, पाँचथर र ताप्लेजुङका रेडपण्डा पाईने मध्ये १ सय ७ स्थानमा क्यामेरा राखिएको थियो। घरपालुवा बिरालोभन्दा केही ठूलो हुने बताइएको छ। नेपालमा यसको विस्तृत अध्ययन हुन बाँकी छ। यसअघि नेपालबाहेक भारत, चिनलगायत १२ देशमा यो बिराले भएको पत्ता लागेको अभिलेख छ। रेडपान्डा नेटर्वकले प्रेस नोट जारी गर्दै नेपालमा पहिलोपल्ट मार्बल्ड क्याट पाइएको जानकारी गराएको छ। ‘यो नयाँ उपलब्धि हो। ‘यसले आगामी दिनमा थप अनुसन्धान तथा संरक्षणमा योगदान पुर्‍याउने छ’, रेडपाण्डा नेर्टवकका सरक्षण संयोजकसमेत रहेका लामाले भने ‘नयाँ प्रविधिको प्रयोगले पहिचानमा योगदान गरेको छ। यो देशकै लागि महत्पूर्ण छ।’

प्रकाशित: १४ माघ २०७५ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App