नेपालगन्ज – बाँके, बैजापुरका जितबहादुर थारुलाई यतिबेला माघीको रमझमले बेस्सरी छोएको छ। केहीदिन यता उनी आफन्त र ईष्टमित्रलाई भेटघाट गर्न तथा खानपिनमा ब्यस्त छन्। गाउँमा रातभर मादल र गीतका स्वर घन्किरहेका छन्। घर बाहिर रहेका परिवारका सदस्य तथा आफन्तको बाक्लो जमघट छ। गाउँमा जताततै माघीको रौनकता छाएको जीबहादुर बताउँछन्।
‘हामी थारु जातीको परम्परादेखी चल्दै आएको पर्व हो माघी,’ उनले मंगलबार नागरिकसँग भने, ‘माघीको बेला सबै जना घरमा जम्मा भएर रमाइलो गर्छौ, यस पटक पनि गाउँमा रमाइलो भएको छ, माघीको रौनकता हराएको छैन।’ माघी आउनुभन्दा एक हप्ता अगाडिदेखी नै गाउँमा मादल बजाउने चलन रहेको जीतबहादुर बताउँछन्। पुरुष अनुपस्थितीमा पनि महिलाहरू मिलेर मादल बजाउँदै नाँचगान गर्ने गरेको उनले सुनाए।
परम्परागत संस्कृतीप्रति नयाँ पुस्ताले पनि चासो राख्न थालेको जीतबहादुर बताउँछन्। माघी पर्वलाई सबै हिन्दु धर्मावलम्वीले मनाउने गरेपनि थारु समुदायले यसलाई विशेष पर्वका रुपमा लिन्छन्। मकर संक्रान्तिको रुपमा पनि चिनिने माघीमा पहाडी समुदायले तरुल, सखरखण्ड, लड्डु, खिचडी लगायतका परिकार खानुका साथै तिलको आगो ताप्ने प्रचलन छ। यस्तै थारु समुदाय माघीमा ढिक्री, सुँगुरको मासु, मुसाको चट्नी, जाँड, रक्सी जस्ता चिजलाई आफ्नो प्रशिद्ध परिकार मान्छन्।
‘माघीको दिन बिहानै नुहाएर आफुभन्दा मान्यजनलाई ढोक्ने र खानपिन गर्ने चलन छ,’ समाजसेवी तुलसीराम थारुले भने, ‘माघीले आपसी सद्भाव र भाईचाराको सम्बन्ध पनि स्थापित गरेको छ।’ थारु अगुवाका अनुसार माघीको दिन खानपिनका साथै ढोक भेट र आर्शिवाद लिने–दिने चलन छ। माघीको भोलीपल्ट चेलीहरू घरबाट माइत जाने, पर्सी पल्ट गाउँका बडघरमा जाने, घरमा एक वर्षको योजना बनाउने चलन रहेको छ।
पहिले–पहिले थारु समुदायले माघीकै दिन किसानको जमिन अधिया, बटैया लिने र छाड्ने तथा कमैया र कम्लरी बस्ने र छाड्ने गथ्र्ये। सरकारले कमैया र कमलरी प्रथा अन्त्य भएको घोषणा गरिसकेका कारण पछिल्लो समयमा यो चलन आफ्नो समुदायमा करिब अन्त्य भइसकेको थारु अगुवा बताउँछन्। थारु समुदायको करिब ८० प्रतिशत जनसंख्या रहेको बाँकेका बैजापुर, बिनौना, फत्तेपुर, टिटिहिरिया लगायत ठाउँमा माघीको विशेष रुपले रौनकता छाएको छ।
माघीको शुभकामना आदान–प्रदान तथा भेटघाट गर्न स्थानीय तहका जनप्रतिनिधीलाई पनि यतिबेला भ्याई–नभ्याई भएको छ। राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु माघी पर्वले घर परिवार, आफन्त, ईष्टमित्र तथा साथीभाईबीच आपसमा रमाइलोका साथै भेटघाट गर्ने अवसर जुराइदिने गरेको बताउँछन्। ‘पहिले थारु जातीमा मात्र मनाइन्थ्यो, अहिले माघी पर्वलाई सबै जातीले मनाउने गरेको पाइन्छ,’ उनले नागरिकसँग भने, ‘बिस्तारै माघी पर्व सबै जात जातीको साझा पर्व बन्दै गएको छ।’ पछिल्लो समयमा थारु समुदायका युवा युवतीले माघी पर्वको महत्व बुझ्दै गएको अध्यक्ष थारुको बुझाई छ।
ठाउँ–ठाउँमा माघी मेला
माघी पर्वको अवसरमा पश्चिम तराईका विभिन्न ठाउँमा मेला लागेको छ। बाँकेको बैजापुरस्थित भुवरभवानी मन्दिर, बर्दियाको ठाकुरद्धारामा रहेको ठाकुरबाबा मन्दिर र दाङको रिहार तथा बाह्रकुने दह लगायत ठाउँमा मेला लागेको हो। हरेक वर्ष माघे संक्रान्तिको अघिल्लो दिनबाट मेला सञ्चालन हुँदै आएको छ। मेलामा स्वदेशी लगायत भारतीय दर्शनार्थीको ठुलो घुइँचो लाग्ने गर्छ।
विगतको वर्षझै यसवर्ष पनि भुवर भवानी मन्दिरमा परिसरमा स्थानीय बासिन्दाको व्यवस्थापनमा मेला सञ्चालनमा ल्याइएको छ। भुवर भवानी मन्दिर परिसरमा सञ्चालित उक्त मेलाको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले एक कार्यक्रमकाबीच उद्घाटन गरिन्। सो क्रममा बोल्दै उपाध्यक्ष खत्रीले भुवर भवानी मन्दिरको ऐतिहासिक महत्व रहेको बताउँदै यसको संरक्षणमा गाउँपालिका गम्भीर रहेको बताइन्। पुर्खौदेखी लाग्दै आएको मेलाको महत्वलाई कसैले पनि मेट्न नपाउने उनको भनाई छ।
उद्घाटन कार्यक्रममा वडाअध्यक्षहरू गंगाराम थारु, कान्छा थारु, खुमबहादुर बस्नेत र चन्द्रबहादुर ओली, मेला आयोजक समितिका अध्यक्ष तुलसीराम थारु, सचिव राम किसुन थारु लगायतले बोलेका थिए। चार दिनसम्म चल्ने मेलामा ब्यापार व्यवसायका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रकाशित: १ माघ २०७५ ०८:५७ मंगलबार