५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरी र युवाले उठाए वीरगन्जको फोहोर

सोमबार बिहान वीरगन्जको मेनरोड, श्रीपुरमा फोहोर उठाउँदै प्रहरी र स्थानीय युवा। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – वीरगन्ज महानगरपालिकाका कर्मचारीले पाचौं दिनसम्म काम ठप्प पारेर हड्ताल जारी राखेपछि नगरका ठाउँ ठाउँमा थुप्रिएका फोहोर स्थानीय युवासँग मिलेर प्रहरीले सोमबार उठाएको छ। आन्दोलन नेतृत्वकर्ताको अह्वानमा सरसफाइ कर्मचारीहरू समेत काममा नआएपछि फोहोर जम्मा भएर वीरगन्ज दुर्गन्धित हुन थालेको थियो।

उक्त फोहोर उठाउन महानगरपालिका कार्यालयकै ट्याक्टर लिएर प्रहरी टोली एकाबिहानै सडकमा निस्किएको थियो। व्यवस्थित वीरगन्ज अभियान र ग्रिन सिटीलगायत स्वयंसेवी समूहका युवाले सफाइमा प्रहरीलाई साथ दिएका थिए। ठाउँ ठाउँबाट फोहोर ट्याक्टरमा हालेर प्रहरी तथा युवाहरूले नगर सफा पारेका छन्। वीरगन्जवासी बल्ल स्वच्छ श्वास फेर्न पाएका छन्।

संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले गरेको कर्मचारी समायोजनमा साविकका स्थानीय निकायका कर्मचारीलाई बेवास्ता गरिएको भन्दै वीरगन्ज महानगरपालिकामा कर्मचारी हड्तालमा उत्रिएका हुन्। चरणबद्ध आन्दोलनका क्रममा गत बिहीबारदेखि उनीहरू हड्तालमा उत्रिएका हुन्। हड्तालका कारण कार्यालयको कामकाज ठप्प छ। जसअन्तर्गत फोहोर उठाउने काम पनि बन्द भएको हो।

महानगरपालिकाका कर्मचारीहरू आन्दोलनमा रहेपछि महानगरपालिका कार्यालय र वडा कार्यालयहरूबाट प्रदान गर्नुपर्ने सेवा प्रभावित भएको भन्दै सोमबार नगरपालिकाको बोर्ड बैठक बसेको छ।

कर्मचारी समायोजनको विरोधमा नेपाल नगरपालिका कर्मचारी एसोसिएसन र स्थानीय निकाय कर्मचारी संघ वीरगंज महानगर एकाइको आह्वानमा अनिश्चितकालीन आन्दोलनमा उत्रिएका कर्मचारीले पाँचौं दिन सोमबारसम्म कार्यालयमा धर्ना जारी राखेका छन्।

‘सरसफाइ आवश्यक थियो, त्यस कारण गरियो,’ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘रामै्र गरेको भनी प्रतिक्रिया आएको छ।’ स्थानीय निकाय कर्मचारी संघ (वीरगन्ज)का अध्यक्ष मुकेश गुप्ताले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत कर्मचारीको आन्दोलनप्रति गम्भीर नभएको आरोप लगाए।

महानगरपालिकाका कर्मचारीहरू आन्दोलनमा रहेपछि महानगरपालिका कार्यालय र वडा कार्यालयहरूबाट प्रदान गर्नुपर्ने सेवा प्रभावित भएको भन्दै सोमबार नगरपालिकाको बोर्ड बैठक बसेको छ। उक्त बैठकले प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुसालको नेतृत्वमा चार जना वडाध्यक्षसमेत गरी पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ। वार्ता टोली र कर्मचारी प्रतिनिधिबीच सोमबारै साँझ बैठक गरिएको महानगरपालिकाका अधिकृत सुमन श्रेष्ठले जानकारी दिएका छन्।

प्रकाशित: २४ पुस २०७५ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App