१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

कलंकी बसबिसौनी व्यवस्थित गर्न माग

काठमाडौं – कलंकी भएर काठमाडौं भित्रिने लामो दूरीका सवारी साधनको बस बिसौनी सोही आसपास क्षेत्रमा व्यवस्थित गर्न माग गरिएको छ।

विगतमा कलंकी, मकालु तथा त्यस आसपास क्षेत्रमा रोकिँदै आएका सवारी साधन अहिले कलङ्की क्षेत्रको सडक स्तरोन्नति तथा विस्तार पछि सीतापाइलामा पुर्‍याइएको छ। बस बिसौनीलाई टाढा पुर्‍याउँदा सोही क्षेत्रमा ओर्लनुपर्ने यात्रुलाई गन्तव्यमा पुग्न समस्या हुने र करीब १ सय ५० स्थानीय होटल तथा अतिथि गृह बन्द हुने अवस्थामा पुगेका छन्।

सीतापाइला क्षेत्रमा बस बिसैनी बनाउँदा काठमाडौं उपत्यका बाहिरबाट आउने अतिथिलाई खान, बस्नका लागि आवश्यक पूर्वाधारको अभाव देखिएको छ। कलंकी होटल एन्ड गेस्ट हाउस एसोसिएसनले जनप्रतिनिधि तथा सरोकार पक्षसँग छलफल गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले स्थानीय जनतालाई लाभान्वित हुने कार्यलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे। सो क्षेत्रमा विभिन्न तह र वर्गलाई समेट्ने अतिथि गृहको पूर्वाधार तयार भइसकेकाले पाहुनाका लागि उपयुक्त वासस्थान मानिन्छ। कलंकीबाट बिहान चाँडै गाडी छुट्ने हुँदा टाढाका यात्रु आएर वास बस्ने गरेका छन्।

सबै दृष्टिकोणले ग्राहकको लागि उक्त क्षेत्र सुविधायुक्त भएका कारण बस बिसौनी टाढा राख्न नहुने एसोसिएसनका अध्यक्ष मोहिणिप्रसाद आचार्यले विचार व्यक्त गरे। नागढुंगा–कलंकी सडक खण्ड विस्तारको काम फागुनमा पनि नसकिने पक्कापक्की भएको छ। मुआब्जा विवाद रहेकाले सो क्षेत्रका घरलाई नचलाई सडक विस्तारको काम टुंग्याउने गरी मन्त्रिपरिषदले निर्णय गरेपछि यसको निर्माणमा ढिलाई देखिएको हो।

कलंकी थानकोट, नागढुंगा नाका हुँदै उपत्यका बाहिरिने तथा भित्र प्रवेश गर्ने सवारीको चापले गर्दा कलंकीमा अत्यधिक सवारी जाम हुने गरेको छ। त्यसैगरी चक्रपथ परिक्रमा गर्ने स्थानीय सवारीको चापले उपत्यकाको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त भएको ट्राफिक अधिकृत विमल थापाले जनाए। उनले सरोकार पक्षको माग र यात्रुको सहजतालाई ध्यान दिएर बस बिसौनी हेरफेर गर्न सकिने बताए। स्थानीय खसी बजारदेखि बाफलसम्म ८ सय ४० मिटर क्षेत्रफलमा निर्माण गरिएको अन्डरपासले सो क्षेत्रमा जाम कम हुने अपेक्षा लिइएको छ।

दिनरात व्यस्त रहने कलंकीमा बाहिरबाट आउने गाडीले यात्रुलाई कलंकीसम्म छाडिदिने, रातको समयमा ट्याक्सी मिटरमा जान नमान्ने र जथाभावी भाडा असुल्ने हुँदा सो क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक देखिएको छ। (रासस)

प्रकाशित: २२ पुस २०७५ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App