काठमाडौं – काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले छैटौं स्थापना दिवस मनाएको छ। सो अवसरमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अस्पतालले नेपाली स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको सराहाना गर्दै आगामी दिनमा थप जनमुखी र विश्वस्तरीय सेवा विस्तार गर्दै जानुपर्ने र यसका लागि नेपाल सरकारले हरतरहले सहयोग गर्न तत्पर रहेको बताए।
अस्पतालका अध्यक्ष दीपक कुँवरले अस्पताललाइ यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्ने सबैलाइ धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यसैगरी साथ दिइरहन आग्रह गरे।
अस्पतालका मेडिकल निर्देशक चक्रराज पाण्डेले अस्पताल आधारशीलाका रूपमा एथिक्समा आधारित उपचार, बिरामी केन्द्रित उपचार र विभिन्न विशेषज्ञहरुसँग सहकार्यमा गरिने उपचार रहेको उल्लेख गर्दै अस्पतालले बिरामीको अहित हुने कुनै पनि कुरामा सम्झौता गर्न नसक्ने जिकिर गरे। ग्राण्डी नेपाल र नेपालीको अस्पताल भएकाले सधैंझै नेपाल सरकारसँग सहकार्य गरी हातमा हात मिलाएर नेपाली स्वास्थ्य क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए।
टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले शुभकामनासहित आगामी दिनमा स्थानीय लक्षित योजना ल्याउन अस्पताल प्रशासनलाई अपिल गरे। अस्पतालले एकेडेमिक्स अर्थात अध्ययन तथा अनुसन्धानमा पनि आफ्नो कदम अघि बढाएको बताएको छ। सो अवसरमा ग्राण्डी मेडिकल जर्नलको पहिलो अंक विमोचन गरिएको थियो।
प्रकाशित: २० पुस २०७५ ०३:१५ शुक्रबार