६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सात वर्षमा पनि सकिएन पुल निर्माणको काम

पाँचथर र तेह्रथुमको सिमाना भएर बग्ने तमोर खोलाको लुमुघाटमा । तस्बिर : गिरिराज/नागरिक

पाँचथर– दुबैतीर सडक बनेको छ। मानिसको चहलपहल बाक्लो हुन्छ। तर, नदीमाथि पुल बनेको छैन। पुल बनाउन थालेको ७ वर्ष पुग्दा पनि अधुरोनै छ। हरेक वर्ष पुल बन्ने अपेक्षा स्थानीयले राख्छन्। तर, उस्तैगरी पसीना बगाउँदै उकालो ओरालो गर्नुपर्ने बाध्यता छ। यो बाध्यता हो पाँचथर र तेह्रथुमलाई जोड्ने तमोरको लुमुघाटमा पुल नबन्दाको।

ठेकेदार कम्पनीले लामो समयदेखि पुलको काम नसक्दा स्थानीयले हिँडेरै वारीपारी गर्नुपर्ने बाध्यतामा छन्। ठेकेदारको लापवाहीले लामो सयमदेखि पुल निर्माण पुरा हुन सकेको छैन्। पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्यालुङ नगरपालिका जोड्ने पुलको काम लामो समयदेखि सकिएको छैन। यो पुल २०७२ सालमा सकिनुपर्ने थियो। तर, अहिलेसम्म सकिने सुर छैन।

गतवर्ष केहि काम गरेपनि अधुरै छाडेको पुलको काम अझै अघि बढ्न सकेको छैन्। सडक डिभिजन कार्यालय धनकुटाले हेर्ने भएकालेपनि यो पुलले कम चासो पाएको छ। हेर्ने कार्यालय टाढा हुँदा पर्याप्त अनुगमन हुन सकेको देखिँदैन। हालसम्म ४० प्रतिशतको हारहारीमा काम भएको डिभिजन कार्यालयका सूचना अधिकारी अनुप साउदेनले बताए। ‘पुल अघि नबढेको कुरा नेता, सांसदलाई सुनायौँ। खै ठेकेदारले पत्याउँदैनकी क्याहो। कामनै अघि बढ्न सकेको छैन’ स्थानीय खेमराज निरौलाले भने, ‘काम नगर्ने ठेकेदारलाई कसले कारवाही गर्ने। एकातिर विकास अवरुद्ध भएको छ अर्को तर्फ जनताले सास्ती पाएका छन्।’

तेह्रथुम सदरमुकामबाट फिदिम आउने नजिकको बाटोमा यो पुल रहेको छ। निर्माणाधिन कोशी करिडोरको बाटो तेह्रथुमबासीले प्रयोग गर्नका लागि यो पुल बन्नु पर्छ।  मोटरसाइकल जोखिमका साथ झोलुङ्गेपुलबाट तार्ने गरिन्छ। यो बाटो भएर ओहोरदोहोर गर्नेको संख्या उलेख्य मात्रामा छ। यात्रुले पुल नबन्दाको पीडा दुःखका साथ पोखिरहेका छन्। दुबै तीर सडक भएपनि पुल नहुँदा यातायातका साधन सञ्चालन हुन सेकेका छैनन्। वारीपारी साईनो, व्यापार व्यवसाय तथा अन्य कामका कारणले यो बाटो भएर दैनिक यात्रा गर्नेहरूको संख्या ठुलो रहेको छ। यात्रा गर्नुपर्ने झोलुङ्गेपुल पनि जीर्ण बन्दै गएको छ। समान ओसार प्रसार गर्नका लागि समेत समस्या छ। चर्को गर्मी हुने यो ठाउँमा हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता छ।

आर्थिक वर्ष २०६८–०६९ सालमा ठेक्का लागेपनि ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाले  काममा ढिलाई गर्दा स्थानीयले सास्ती खेपेका छन्। मुख्य ठेकेदार सम्पर्कमा नआउने स्थानीयको गुनासो छ। ‘दुबैतीर बाटो छ। तर, हिँडेर वारीपारी गर्नुपर्छ, बोकेर समान ल्याउनुपर्छ। ठेकेदारले काम गर्दैन। नेता, कर्मचारीलाई देखायो पहल गर्छाैं भन्छन्। काम खासै अघि बढ्दैन्। अवत आजित भयौँ’ स्थानीय खगेन्द्रराज घिमिरेले भने, ‘मुख्य ठेकेदार कहाँ छन् कहाँ ? स्थानीय सरकारकले पनि केही गर्न सक्ने अवस्था छैन्। जनताले पुल नबन्दाको समस्या समस्य खेपिरहेका छन्।’ काम नगर्दा पुल बनेको छैन्। थपिएको म्याद समेत २०७३ चैतमा सकिसकेको छ।  बनेको संरचनापनि गुणस्तर नभएको स्थानीयको भनाई छ।

लामो समयदेखि पुल बनाउन स्थानीय तहवाट दवाव सृजना भएपनि निर्माण कम्पनी र सम्बन्धित कार्यालय कानमा तेल लगाएर बसेको अवस्था छ। १३ करोड रुपैयाँमा पुलको ठेक्का लागको थियो। खानेपानी आयोजना, गिटी, बालुवा, तमोर जलाशययुक्त आयोजना लगायतका कारण चहलपहल छ। यो पुल बन्दा कृषि उपज निर्यात गर्नपनि सहज हुने अपेक्षा राखिएको थियो। यहाँबाट १४ किलोमीटर लम्बाईको सडकमार्फत तेह्रथुम सदरमुकाम म्याङलुङ जोडिन्छ।

प्रकाशित: १७ पुस २०७५ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App