२ असार २०८१ आइतबार
image/svg+xml
समाज

युवापुस्तामा ढाका टोपीको क्रेज बढ्दो

पाल्पाको तानसेनमा ढाकाको टोपीमा सजिएका युवाहरू । तस्बिरः नागरिक

पाल्पा – बाँझो बारी खन्जोत गरी गोपी लगाउनु ।
          पहिचानलाई जोगाउन टोपी लगाउनु ।।
          शान हो यो नेपालीको अरुभन्दा बेग्लै
          चट्ट पारी थोरै निधार छोपी लगाउनु ।।

नयाँ वर्षको पहिलो दिन साहित्यकार कृष्णकला भण्डारीले उल्लेखित शब्द सहित फोटो पोष्ट गरिन्। यसरी आज फोटो पोष्ट गर्ने उनी एक्ली भने होइनन्। पाल्पाका अधिकांश युवाहरूले ढाका टोपी लगाएर फोटो सेयर गरेका छन्। अंग्रेजी नयाँ वर्षको पहिलो दिन, ढाका टोपी दिवस।

टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो। ढाका टोपीले नेपाली जातीको पहिचान झल्काउँछ। नेपालीले राष्ट्रिय टोपी दिवस मनाएका छन्। ढाकाको लागि प्रशिद्ध जिल्ला हो, पाल्पा। ढाका टोपी पाल्पाको पहिचानसँग जोडिएको हुन्छ। ढाकाको विविधिकरण गरि धेरै किसिमका वस्तुहरू निर्माण भएतापनि ढाका टोपीको महत्व भने घटेको छैन्। युवापुस्तामा ढाका टोपीको क्रेज बढ्दो छ।

विगत पाँच वर्षदेखी मनाईंदै आएको टोपी दिवसमा पाल्पाली पहिचान बनेको ढाका टोपीको बिक्री पनि बढेको छ। ढाकाटोपी, भाद्भाउँले टोपी तथा कालो टोपी नेपाली टोपी हुन्। नेपालीले चौथो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइरहँदा जिल्लामा समग्र ढाकाको कारोबारमा वृद्धि भएको हो। जनवरी फस्ट, नयाँ वर्षको पहिलो दिन अन्य दिनहरूको तुलनामा पाल्पामा ढाका टोपीको व्यापारमा वृद्धि भएको छ।

पाल्पाली मदनपोखरा ढाकाका प्रोप्राइटर कमल भण्डारीले अन्य दिनको तुलनामा टोपी दिवसमा झण्डै दोब्बरको कारोबार हुने गरेको बताए। ‘प्राय दिनहरूमा २५–३० हजार रुपैयाँको व्यापार हुने गर्दछ। आज धेरै युवाले ढाका टोपी लगाएर फोटो सामाजिक सञ्जालमा राख्नकै लागि भएपनि किन्ने गरेका छन्, उनले भने, ढाका टोपी पाल्पामा एउटा ब्राण्ड बनेको छ।’ विभिन्न सभासमारोह, विवाह, पार्टी तथा मेलामहोत्सवको समयमा अझ बढी कारोबार हुन्छ। ढाकाको टोपीका साथै अन्य सजावटका सामाग्री सहित पाल्पाली ढाकालाई विविधिकरण गरेपछि चिनोको रुपमा ढाकाको व्यापार बढेको भण्डारी बताउँछन्।

पौष महिना भ्रमण महिना पाल्पामा आन्तरिक पर्यटकको घुईंचो छ। धेरैले पाल्पा आएर ढाका नकिनी फर्कंदैनन्। त्यसैले ढाका कपडाको कारोबारमा वृद्धि भएको मदनपोखरा जानकी ढाकाका राजु भट्राईले बताए। पौड्याल ढाका पसलका सञ्चालक मनोज पौड्यालले टोपी, चोली, पछ्यौरामा मात्र सीमित पाल्पाली ढाकामा विविधिकरण भएपछि ढाका कपडाको व्यापार अझै फस्टाउँदै गएको बताए।

ढाका टोपीमा सीमित पाल्पाली ढाका अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामाग्री समेत ढाकाकै निर्माण हुन थालेको छ। यतिबेला जिल्ला भित्रने आन्तरीक तथा बाह्य पर्यटकले आफन्तलाई ढाका चिनो लैजाने गरेका छन्। नेपाली पहिचान मेटिएको भन्दै जागरूक युवा अभियान नेपालले टोपीलाई प्रवद्र्धन गरि आएको थियो। आइतबार दिवसको अवसरमा पाल्पाका युवाहरू समेत टोपी लगाएरै सभा समारोहमा गएका देखिन्थे। विगत पाँच वर्षदेखि जनवरी १ लाई नेपाली टोपी दिवसका रूपमा मनाइँदै आएको छ।

नेपाली ढाका टोपीसँग पाल्पाको साईनो जोडिएको पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताए। उनले पाल्पाली ढाकाको नाम अहिले जनवरी १ सँग जोडिएको बताए। टोपीको आफ्नै विशेषता छन्। त्यसमा जाडोको याममा टोपीले शिरको रक्षा गर्ने भएकै कारण पनि आफुले टोपी लगाउँदै आएको उनले बताए। युवा विद्यार्थी नेता पुण्यप्रसाद सुवेदीले धेरैले फेशनका लागि लगाएपनि यसको आफ्नै मौलिकता भएकाले टोपी लगाएको बताए। ढाका टोपी बाबु–बाजेको पालादेखी लगाएको देखेको थिए। म पनि यसको सधै प्रयोग गर्छु यसले आफ्नो छुट्टै अस्तितव पनि निर्माण गर्दाे रहेछ, सुवेदीले भने। जिल्लामा वार्षिक २० करोड बराबरको ढाकाको कारोबार हुने पाल्पा उद्योग वाणिज्य संघले बताउँदै आएको छ।

पाल्पाली ढाकाको माग थपिँदो छ। ढाकाको व्यापार गर्नेहरूले नै वार्षिक २५ लाखसम्म कारोबार गर्ने गर्दछन्। तिहारमा दाजुभाइलाई पाल्पाली ढाकाको टोपी लगाइदिने र दिदीबहिनीलाई ढाका कपडाको कोसेली उपहार दिने चलन छ। त्यसैले जिल्लामा ढाका कपडाको कारोबारमा वृद्धि हुँदै गएको छ। जाडो याममा बढी मात्रामा ढाकाको कारोबार हुन्छ। पाल्पाली ढाका कपडा लुम्बिनी, गण्डकी, भेरी, राप्ती, बागमती अञ्चलका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ।

जिल्लाका ग्रामीण क्षेत्रमा समेत ढाका कपडा बुन्ने र ढाकाको तयारी पोसाक समेत निर्माण हुन थालेको छ।  जिल्लाकै पहिलो ढाका उद्यमी पूर्णमाया महर्जनले ढाका उद्योग उद्यमी बन्ने बलियो माध्यम भएको बताउँछिन्। उनल आफ्नो घरमै एक–दुई तान राख्ने र फुर्सदमा बुन्नेहरूले दैनिकी राम्ररी चलाएको बताउँछिन्। जिल्लामा २० वटा ढाका उद्योगहरु दर्ता भई सञ्चालनमा छन्। पाल्पाको जिल्ला सदरमुकाम तानसेनसँगै ग्रामीण भेगहरू कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दिपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ।

टोपी दिवसको सुरुवात कसरी भयो?
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सार्वजनिक पेज स्थापना गरी पहिलोपटक जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा गरेका हुन्। सो घोषणामार्फत् काफ्ले र बन्जाडेले सबैलाई नेपाली टोपी लगाउन आह्वान गरे। उनीहरूकै घोषणा अनुसार सन् २०१४ देखि जनवरी १ तारिकका दिन नेपालमा अन्तराष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App