१६ चैत्र २०८० शुक्रबार
समाज

भुकम्पपछिकाे पुनर्निर्माण : निजी आवास निर्माणको संख्या न्यून

सोलुखुम्बु - सोलुखुम्बुमा भुकम्प पछि निजी आवास निर्माण गर्नेको संख्या न्यून रहेकाे छ। २०७२ सालको भुकम्प पछि ११ हजार ९७९ घरधुरी लाभग्राही मध्ये ७६२ परिवारले मात्र निजी आवास निर्माण गरेका छन्।

राष्ट्रिय भुकम्प पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई सोलुखुम्बुले दिएको तथ्यांक अनुसार अनुदान सम्झौता गरेका ११ हजार ३३९ परिवार मध्ये ७६२ परिवारले आवास निर्माणको काम सकेका छन् भने ४ हजार ३९९ लाभग्राहीले दोस्रो किस्ता रकमको माग गरेका छन्। तथ्यांक अनुसार ६ हजार १७८ लाभग्राहीले घर बनाउन सुरु गरेका छैनन्। प्राधिकरणका अनुसार पुस मसान्तसम्म दोस्रो किस्ता लिनुपर्ने पछिल्लो प्रावधानका कारण केहिले हतारमा घरको काम सुरु गरेपनि धेरैले निजी आवासको काम थालनी गरेका छैनन्।

अनुदान लिएका लाभग्राहीले पुरानो घर भत्काएपछि नयाँ घर निर्माण गर्नुपर्ने भएपनि जिल्लामा पुरानो घरलाई सग्लै राखि अनुदानको घर बनाउनेको संख्या बाक्लो रहेको देखिन्छ। प्राधिकरणसँग तथ्यांक नरहेपनि पुरानो घरलाई उस्तै राखि फरक ठाउँमा घर बनाउनुले सरकारी अनुदान पचाउने काम मात्र भएको भन्दै सरोकारवालाले गुनासो गरेका छन्। तर प्राधिकरणले कडाइ गर्न सकेको छैन्। कतिपय लाभग्राहीले निजी आवास निर्माण गरिसकेपनि प्राविधिक अनुगमनका लागि नआएको गुनासो गरेका छन्। लोखिमका पासाङ तामाङले आवास निर्माणको काम सकेपनि प्राविधिकवाट अनुगमन नहुँदा दोस्रो र तेस्रो किस्ताको लागि समस्या भएको बताए।

कतिपयले आवास निर्माणको काम नथालेपनि अनुदान रकम लिएका छन्। त्यस्ता लाभग्राही बढी देखिएको जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख विष्णु लामिछानेले बताए। सकेसम्म क्षति व्यहोरेकाले घर बनाओस् भन्ने नै रहेपनि समयमै मापदण्ड अनुसारको घर नबनाए रकम फिर्ता गर्नुपर्ने उनले बताए।

जिल्लामा वास्तविक पीडित लाभग्राहीको सूचीमा नपरेको भन्दै आउने गुनासो बाक्लिएको छ। आफ्नो घर पूर्ण क्षतिको लाभग्राहीमा समावेश गर्नुपर्ने भन्दै स्थानीय तह मार्फत ५ हजार ८९४ गुनासो संकलन भएका छन्। ति गुनासोवाट २९३ जनाको मात्र नाम लाभग्राहीको सूचीमा समावेश गरिएको छ। गाउँघरमा गुनासो चुलिएपछि प्राधिकरणले एक पटक फेरि प्राविधिकको टोली गाउँगाउँमा पठाउने भएको छ। प्रमुख बिष्णु लामिछानेले प्राविधिक कारणले लाभग्राहीको सुचिमा नपरेका पीडितहरुलाई समेट्ने गरी प्राविधिकको टोली पठाउन खोजिएको बताए। प्राविधिकको टोली आगामी पुस २२ गते देखि परिचालन गरिनेछ।

प्राधिकरणले भुकम्प प्रभावित जिल्लामा ६१ हजार बढी प्रवलीकरणका लागि घर छनौट गरिएपनि सोलुखुम्बुमा प्रवलीकरणको काम सुरु भएको छैन्। ४७४ लाभग्राहीले पहिलाे किस्ता वापतकाे अनुदान लिएपनि जनशक्तिको अभावमा प्रवलीकरण गर्न सकेका छैनन्।

प्रकाशित: १२ पुस २०७५ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App