९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

आगो ताप्दा प्रदूषण

काठमाडौं जोरपाटीस्थित सडकमा फोहोरजन्य पदार्थ बालेर आगो ताप्दै सर्वसाधारण। तस्बिर : खिलक/नागरिक

काठमाडौं – उपत्यकामा सोमबार जाडो बढ्यो। तापक्रम घटेर २.५ डिग्री सेल्सियसमा झर्यो। जाडो बढेपछि जताततै आगो तापिरहेको देखिन्छ। सडक किनारमा थुप्रिएको फोहोरसम्म बालेर आगो तापेको देखिन्छ। यसरी आगो ताप्दा तत्काल त न्यानो हुन्छ। तर यसरी आगो बाल्दा उत्पन्न हुने धुवाँले वातावरणमा नकारात्मक असर गर्छ भन्ने जानकारी कमैलाई मात्र छ।

वातावरण अनुगमन गर्दै आएका व्यक्तिहरूको स्वतन्त्र सञ्जाल दृष्टि काठमाडौंले उपत्यकाका डेढ दर्जन ठाउँमा प्रदूषण मापन उपकरणमार्फत गरेको अनुसन्धानले आगो बाल्दा प्रदूषण बढेको देखाएको छ। दृष्टि काठमाडौंको तथ्यांकअनुसार उपत्यकाको हावामा पार्टिकुलेट म्याटर (पिएम) २.५ को मात्रा आइतबार बिहान ८ बजे १०७ माइक्रोग्राम प्रतिघनमिटर थियो। २.५ पिएमको मात्रा ९ बजे ९९ र १० बजे ८६ माइक्रोग्राम प्रतिघनमिटर पुग्यो।

सोमबार तापक्रम घटेर जाडो बढ्दा न्यानो लिन जताततै आगो बालियो। परिणाम उपत्यकाको प्रदूषण ह्वात्तै बढ्यो। सोमबार बिहान ८ बजे पिएम २.५ को मात्रा १९१ माइक्रोग्राम प्रतिघनमिटर पुग्यो। त्यसैगरी ९ बजे १४५ र १० बजे १८५ पुगेको तथ्यांकले देखाउँछ। त्यसैगरी मंगलबार पिएम २.५ को मात्रा बिहान ८ बजे १९१, ९ बजे १९५ र १० बजे १८५ माइक्रोग्राम प्रतिघनमिटर पुग्यो।

सरकारले उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ भनेर तोकेको छ। तर, उपत्यकाको हावामा पार्टिकुलेट म्याटर (पिएम) २.५ को मात्रा दुई सय माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि पुगेको तथ्यांक छ। औसतभन्दा प्रदूषण मात्रा बढी (हानिकारक अवस्था) हुँदा सास फेर्नै सकस हुन्छ।

पछिल्लो तीन दिनको प्रदूषण बढ्नुमा भने आगो बाल्नु प्रमुख कारण रहेको पाइन्छ। दृष्टि काठमाडौंका अजय श्रेष्ठका अनुसार आगो बाल्दा धुवाँ रुमालिएर जमिनको सतहमा बस्छ। त्यसले प्रदूषण बढाउँछ। ‘चिसोको समयमा धुवाँ वायुमै रुमालिएर जमिन आसपास रहिरहन्छ। बिहान तापेको तातो तत्कालै सेलाउँदा पनि धुवाँचाहिँ वायुमण्डलकै तल्लो भागमा घुमिरहन्छ,’ उनले भने, ‘धुवाँले स्वास्थ्यमा तत्कालै असर पार्छ भने वातावरणमा समेत दीर्घकालीन असर देखिन्छ।’ उनका अनुसार जाडोमा प्लास्टिक, टायरलगायतका फोहोरजन्य पदार्थ बाल्दा निस्केको धुवाँ सबैभन्दा बढी हानिकारक हुन्छ। धुवाँले प्रदूषण बढाउने हुँदा आगो बालेर ताप्दा तत्काल तातो दिए पनि दीर्घकालीन असर पर्ने उनको भनाइ छ।

प्रदूषणको प्रमुख स्रोत पनि धुवाँ मानिएको छ। गाडीको धुवाँबाट ३८ र आगोको धुँवाबाट १९ गरेर ५७ प्रतिशत प्रदूषण धुवाँबाट भएको पाइन्छ। त्यसैगरी सडकको धुलोबाट २५ प्रतिशत प्रदूषण फैलिन्छ। इँटाभट्टाबाट ११ प्रतिशत र अन्यबाट ७ प्रतिशत प्रदूषण हुन्छ।

आगोबाट निस्केको धुवाँमा धुलोका कण मिसिँदा गह्रौं भएर उपत्यकाबाट बाहिरिन धेरै समय लाग्ने विज्ञको अनुमान छ। साँझ आगो बाल्दा रातभर र बिहान बाल्दा मध्याह्नसम्म सतहमै धुवाँ रहिरहन्छ जुन श्वासप्रश्वासका क्रममा सीधै फोक्सोसम्मै पुग्ने विज्ञको भनाइ छ।

वातावरणविद् भूषण तुलाधरका अनुसार पनि आगो बालेर ताप्दा प्रदूषण बढ्छ। ‘यो प्रदूषण बढ्ने समय नै हो,’ उनले भने, ‘आगो बाल्दा निस्केको धुवाँले झनै प्रदूषण बढ्न मद्दत पुर्याउँछ।’ उनका अनुसार धुवाँ जमिनको सहतमै रुमलिएर बस्छ। जसले मानव स्वास्थ्यमा सोझै असर गर्छ।

बिहानको समयमा फोहोरजन्य वस्तु बाल्दा त्यसबाट निस्कने धुवाँले स्वस्थ हावा र शारीरिक व्यायामका लागि घरबाहिर निस्किने, बिहानैदेखि काममा जाने र चाँडै विद्यालय जाने बालबालिका बढी प्रभावित हुने तुलाधर बताउँछन्।

काठमाडौं उपत्यका कचौरा आकारको भौगोलिक अवस्थितिमा छ। यहाँबाट धुवाँ हत्तपत्त बाहिर जान पाउँदैन। झन् प्लास्टिक वा टायरजस्ता सामग्री बाल्दा कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, फ्युरेनजस्ता तत्व निस्किन्छन्। त्यसमध्ये डाइअक्सन र फ्युरेनजस्ता तत्वले क्यान्सरसमेत गराउन सक्छ। वायु प्रदूषणले तत्काल सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असर गर्छ भने दीर्घकालीन रुपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम र प्रजनन क्षमतासमेत ह्रास गराउँछ।

प्रकाशित: ७ पुस २०७५ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App