४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

शव वाहन नहुँदा समस्या

तेह्रथुम – लालीगुराँस नगरपालिका ८  बस्ने दिलिप लिम्बुको केही महिना अघि सुतेकै ठाउँमा मृत्यु भएपछि सवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल ल्याउनका लागि महंगो भाडा तिरेर जिल्ला सदरमुकामबाटै ट्याक्टर झिकाउनु परेको थियो। गाउँ घरमा रहेका ट्याक्टरले सव बोक्न नमानेपछि पीडित परिवारले महंगो भाडा तिरेर सदरमुकामबाटै ट्याक्टर झिकाएर सव पोष्टमार्टम गर्न जिल्ला अस्पताल ल्याउनु परेको थियो।

तेह्रथुममा सव वाहन नहुँदा नागरिकलाई सास्ती भएको छ। जिल्ला अस्पतालमा मात्र हैन जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरूको मृत्यु हुँदा निजी सवारी साधनले समेत सव बोक्न नमान्दा नागरिकलाई सास्ती हुने गरेको यातायात व्यवसायी सन्तोष निङलेखुले बताए। उनका अनुसार निजी सवारी साधनले सव बोक्न नमान्ने गरेकाले जिल्लाबासीलाई हैरानी हुने गरेको छ।

शव वाहन नहुँदा स्थानीयवासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा ट्याक्टरमा सव बोक्ने गरेका छन्। स्थानीय तहहरूले महंगो मुल्यमा आफ्नो सुविधाका लागि सवारी साधन खरिद गरेपनि नागरिकलाई दुःख पर्दा चाहिने सव वाहन किन्नका लागि कसैले चासो नदेखाएको स्थानीयबासी निर्मल ढुंगानाले बताए। उनले भने, ‘स्थानीय सकरार सञ्चालन गर्नेहरूले आफ्नो लागि लाखौको गाडी किने पनि नागरिकका लागि चाहिने सव वाहन नकिन्दा समस्या भएको छ।’

जिल्लामा २ वटा दमकल र ५ वटा एम्बुलेन्स सञ्चालनमा रहेपनि अहिलेसम्म कुनै संस्थाले सव वाहन खरिद गरेका छैनन्। जनताको सेवा गर्छु भनेर निर्वाचित भएका जनप्रतिनिधीले आफ्नो सेवासुविधाका लागि लाखौं खर्चेर गाडी खरिद गरेपनि नागरिकका लागि चाहिने सव वाहन खरिद नगर्दा यस्तो समस्या भएको हो। जिल्ला अस्पतालको अधिकार समेत कटौती भएकोले जिल्ला अस्पतालबाट सव वाहन खरिद गर्ने सम्भावना नभएको डाक्टर आनन्द देबले नागरिकलाई सुनाए।

म्याङलुङ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाइका सहभागीले जिल्लामा सव वाहन नहुँदा समस्या भएको बताएपछि आगामी वर्षहरूमा नगरपालिकाले सव वाहन खरिद गर्ने प्रतिवद्धता जनाएका छन्। सदरमुकाम म्याङलुङमा रहेको नगरपालिकाले समेत अहिलेसम्म सव वाहन खरिद नगर्दा सव अन्त्येष्ठीका लागि समस्या हुने गरेको झिगु परोपकार समाज तेह्रथुमका अध्यक्ष सुभभगत प्रधानाङगले बताए।

स्थानीय निर्वाचनपछि म्याङलुङ नगरपालिका, फेदाप गाउँपालिका, छथर गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकाले आफ्नो सेवासुविधाका लागि लाखाैं खर्चेर नयाँ गाडी र मोटरसाइकल खरिद गरेपनि नागरिकलाई चाहिने सव वाहन खरिद नगरेको भन्दै स्थानीयतहका प्रमुख तथा उपप्रमुखहरू आलोचित समेत हुने गरेका छन्।

प्रकाशित: ३ पुस २०७५ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App