६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बलात्कार प्रयासका आरोपितसँग तीनवटा नागरिकता

पाँचथर - एक महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि पक्राउ परेका फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका देवेन्द्र शिवासँग तीनवटा नागरिकता भएको खुल्न आएको छ। जिल्ला प्रशासन कार्यालय पाँचथरबाट नै विभिन्न नाममा गरी तीन वटा नागरिकता बनाएको खुलेपछि प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ।

'जात र थर नै फरक पर्ने गरी नागरिकता लिएको खुल्न आएको छ। नागरिकता फरक फरक बाबुको नाममा खुल्न आएको छ', पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवरले भने, 'घटनाको प्रकृति हेर्दा निक्कै गम्भीर देखिएको छ।'

रक्सी खाएर एक महिलालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा उजुरी परेपछि शिवालाई प्रहरीले पक्राउ गरेको थियो। कार्तिक १६ गते बलात्कारको प्रयास गरेको भन्ने उजुरी आएपछि प्रहरीले अनुसन्धान गर्दै जादा सो व्याक्तिबाट तीनवटा नागरिकता, राहदानी तथा नक्कली शैक्षिक कागजात फेलापरेकाे प्रहरी अनुसन्धानले देखाएकाे छ।

तीनैवटा नागरिकता फरक फरक मितिमा जिल्ला प्रशासन कार्यालय पाँचथरबाट लिइएको देखिन्छ। देवेन्द्र शिवा, अंकित शिवा र गौरब लिम्बुको नाममा नागरिकता लिएको खुल्न आएको डिएसपी कुवरले जानकारी दिए। करणी उद्योगमा जिल्ला अदालत पाँचथरले सोमबार शिवालाई पुर्पक्षमा थुन्ने आदेश दिएको छ भने किर्तेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

नागरिकता बनाउने घटना क्रम हेर्दा निक्कै राम्रो ‘सेटिङ’ भएको आशंका गरिएको छ। उनले २०६३, २०७० र २०७२ सालमा नागरिकता लिएको खुल्न आएको छ। सोहि आधारमा राहादानी समेत बनाएको भेटिएको छ। ‘पहाडमा पनि यस्तो मास्टर माइन्डको काम हुन्छ जस्तो मैले सोचेको थिएन', डिएसपि कुवरले नागरिकसँग भने, ‘अदालतले भनेअनुसार यस सम्बन्धि अन्य पक्षका बारेमा पनि अनुसन्धान गर्छौ। याे गम्भीर प्रकृतिको घटना हो।’

शिवालाई लिम्बुको नाममा नागरिकता दिनेक्रममा सनाखत गरेको आरोपमा दुर्गाभक्त नेम्वाङलाई प्रहरीले पक्राउ गरेको छ। नेम्बाङले प्रहरीसँगको वयानमा आफूले सनाखत नगरेको बताएको खुल्न आएको छ। शिवाले भने नेम्बाङको नागरिकता लिएर आएर सनाखत गरेको बताउदै आएका छन्। ‘नागरिकताको वार्डबाट सिफारीस, सनाखत र जारी मितिमा तालमेल देखिदैन। अनुसन्धान भइरहेकाले बाँकी कुराहरु खुल्न सक्छ।' कुवरले भने।

अन्तिम पल्टको नागरिकता बनाउदा गाविस सचिवले असोज–२९ गते सिफारीस गरेपनि कार्तिक २९ गते सनाखत भएको खुल्न आएको प्रहरी जनाएको छ। तर नागरिकता भने फाल्गुन–१८ गतेमात्र जारी भएको छ। मुचुल्कामा दस्ताखत गर्ने, सिफारीस गर्ने गाविस सचिव, जिल्ला प्रशासनका सम्बन्धित फाँटवालाका बारेपनि प्रहरीले अनुसन्धान गर्ने बताएको छ। यसैगरी पब्लिक हाईस्कुल धरानबाट एसएलसी पास गरेको नक्कली प्रमाणपत्र समेत बनाएको खुल्न आएको प्रहरीले जनाएको छ। नागरिकता किर्ते, राहदानी किर्ते र सरकारी छापको दुरुपायोगमा उनीमाथि मुद्दा चलाउने तयारी भएकाे प्रहरीले जनाएकाे छ।

 

प्रकाशित: १९ मंसिर २०७५ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App