११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

धुवा नियन्त्रण गर्न उपकरण जडान

उदयपुर सिमेन्ट उद्योग लिमिटेड। तस्बिरः नागरिक

जलजले (उदयपुर) – वर्षभरी खान भनेर लगाएको खेतबारीको अन्नपात धुलाम्य करेसाबारीमा लगाएको सागपात र तरकारी, फलफूल त्यस्तै धुलोसरी। त्यति मात्र कहाँ होर, खाना पकाउने भान्छा कोठामा ह्वारह्वारती धुलो पसेर खानेकुरा सबै विषाक्त बनाउनुका साथै सुत्ने कक्षको झ्यालढोका नथुने दिनहुँ धुलो पुछ्दाको हैरानीले केहीदिन अघिसम्म स्थानीयबासी आजित थिए।

विगत २५ वर्षदेखि यस्तो पीडा भोग्दै आएका त्रियुगा नगरपालिका ६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसीउली) आसपासका स्थानीयले अहिले वर्षौपछि स्वच्छ हावाको श्वास लिन पाएका छन्। अब न तरकारी बालीमा धुलो देखिन्छ न त प्रदुषणबाट बच्न भान्छा र सुत्नेकोठा थुन्नुपर्ने समस्या। पूर्ण सरकारी स्वामित्वको गैंडा सिमेन्टको उत्पादक उसीउलीले उद्योगमा प्रदुषण नियन्त्रण गर्ने उपकरण जडान गरेपछि स्थानीयबासी स्वच्छ हावाको श्सास फेर्न पाएका हुन्।

सिमेन्ट प्रशोधन गर्ने क्रममा उद्योगले फाल्ने धुलो र धुवाको मुस्लो यस वर्षदेखि पुर्णतः नियन्त्रण गर्दै उद्योगलाई प्रदुषणमुक्त बनाउन इलेक्ट्रोस्टाटीक प्रेसिपिटेटर (विद्युतीय प्रदुषण नियन्त्रक यन्त्र–इपी) जडान गरेर उद्योगबाट धुलो र धुवा निस्कन छाडेपछि स्थानीयले स्वच्छ र स्वस्थ्य हावा लिन पाएको उद्योगले जनाएको छ। त्यसका लागि उद्योगले गतवर्ष नै इपी उपकरण जडान गरेको थियो। तर, गत असोजमा गरिएको स्तरोन्नतिसहितको मर्मतपछि मात्र उक्त उपकरणले काम गर्न थालेपछि अहिले पूर्णरुपमा धुलो धुवा नियन्त्रणमा आएको उद्योगका कामु महाप्रबन्धक (डिजिएम) ध्रुबबहादुर देबकोटाले बताए।

डिजिएम देबकोटाका अनुसार उद्योग आसपास जलजले, देउरी, श्रीपुर र मोहनपुरका झण्डै ६० हजार स्थानीयबासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै उद्योगले २ करोड लगानी गरेर प्रदुषण नियन्त्रण गर्न इपी उपकरण जडान गरेको हो। उद्योगका उत्पादन विभाग प्रमुख सञ्जयलालका अनुसार यो उपकरण जडानपछि उद्योगले फाल्ने धुलो र धुवालाई यन्त्रभित्र रहेको इपीरडले पानी खन्याउने गर्छ भने त्यहीँ संश्लेषण गरिदिने गर्छ। जसले गर्दा उद्योगले उत्सर्जन गर्ने धुलो र धुवाका कणहरु बाहिर निस्कन पाउँदैनन् र बायुमण्डल प्रदुषण हुनबाट बच्छ। पछिल्लो स्तरोन्नतिसहितको पूर्ण मर्मतपछि उद्योगले धुलो र धुँवा सबै नियन्त्रण गरेको लालले बताए।

उद्योगका महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेलले दिनहुँजसो प्रदुषणको विषयलाई लिएर झगडा गर्न आउने स्थानीयहरु अहिले धन्यबाद दिन आउन थालेको बताए। उनका अनुसार पहिले उद्योग चलेको छ छैन भन्ने कुरा ५० किलोमिटर परदेखि नै थाहा हुन्थ्यो तर, अहिले उद्योग परिसर छिरेपछि मात्र उद्योग चलेको चाल पाइन्छ। ‘पहिले उद्योगमा फाइरिङ गर्नेबित्तिकै धुवाको मुस्लो ३० किलोमिटर टाढा पर्ने लाहान र ५० किलोमिटर माथिको रौता पोखरीदेखि प्रष्ट देखिन्थ्यो’ जिएम पौडेलले भने ‘अहिले धुवा ननिस्कने भएकाले उद्योग चलेको टाढाबाट थाहै हुँदैन, उद्योग परिसर छिरिसकेपछि मात्र बल्ल थाहा हुन्छ, त्यो पनि आवाज सुन्दा।’ उद्योगले प्रदुषण नियन्त्रक मेसिन राखेपछि २ महिनायता स्थानीयवासीलाई स्वच्छ हावामा श्वास फेर्न पाएको त्रियुगा नगरपालिका ५ श्रीपुरका दिपक किरातीले बताए।

प्रकाशित: १४ मंसिर २०७५ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App