६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आठबीसकोटमा ७१ वटा कानून निर्माण

रुकुम- रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका जिल्लाको सबैभन्दा कान्छो नगरपालिका हो। भौगोलिक हिसावले समेत सबैभन्दा विकट रहेको यो स्थानीय सरकाले आफ्ना गतिविधिलाई भने नमुना बनाउँदै गएको छ। स्थानीय सरकार गठन भएपछि नेपालमै पहिलो पटक नगर अस्पताल स्थापना गरेको आठबीसकोटले जिल्लामा सबै भन्दा बढी ऐन, नियम तथा कानुन निर्माण गर्न समेत सफल भएको छ।

समृद्ध र नमुना नगरपालिका बनाउनको लागि कानुनको कुनै पनि अभाव हुन नदिने भन्दै नगरकार्यपालिकाले अहिलेसम्म विभिन्न ७१ वटा ऐन, नियम तथा कानुन निर्माण गरेको जानकारी दिएको छ। ऐन, नियमकै कारण कार्यसम्पादनमा समस्या उत्पन्न नहोस् भन्ने उद्देयले तिव्र गतिमा ऐन, नियम र कानून निर्माण गरिएको नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिए।

आर्थिक वर्ष २०७४/०७५ मा ४१ वटा ऐन, नियम र कानून निर्माण गरेको नगरपालिको अहिले ३० वटा बनाएको उनले बताए। नगरपालिकाले आर्थिक ऐन, नगरपालिका तथा वडा कार्यालयबाट सिफारि दिदा अपनाउनु पर्ने कार्यविधि, पदाधिकारीको आचारसंहिता, आर्थिक कार्यविधि, कर्मचारीको सेवा सुविधा तथा करार कर्मचारी  पदपुर्तिको कार्यबिधि, शिक्षा नियमावली, रेडियो एफएम सञ्चालन कार्यविधि निर्माण गरेको बताइएको छ।

यस्तै कृषि व्यवसाय प्रवर्धन, सहकारी ऐन, छात्रवृत्ति सम्बन्धि कार्यविधि, नगर शिक्षा ऐन, नगर प्रहरी विनियमावली, एकीकृत सम्पत्ति कर, संस्थागत सञ्चालन कार्यविधि, स्थानीय राजपत्र प्रकाशन कार्यविधि, उद्यम विकास रणनीति तयार गरिएको नगर प्रमुख केसीको भनाई छ। उनका अनुसार शैक्षिक ऋण प्रदान कार्यविधि, २५ शैयाको नगर अस्पताल स्थापना कार्यविधि, साझेदारी नीति, बालमैत्री आचार संहिता, खर्चको मापदण्ड तथा कार्यबिधि, औद्योगिक व्यवस्थापन विधेयक, भवन निर्माण कार्यबिधि समेत निर्माण भएको छ।

आवश्यक नियम, कानुनहरु बनाएको र अझै आवश्यकताको आधारमा थप गरिने नगर प्रमुख केसीको भनाई छ। ‘पाँच वर्षभित्र नमुना नगरपालिका बनाउने एउटा महाअभियानमा छौं,’ उनले भने, ‘यहाँ विकास गर्नको लागि अन्य साझेदार निकायहरुसंग पनि आवश्यक समन्वय गर्दै काम गर्ने रणनीति समेत बनाएको छौं।’

 

प्रकाशित: ११ मंसिर २०७५ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App