काठमाडौं - काठमाडौंको मूलपानीस्थित एक जुवा घरभित्र प्रहरीले छापा मार्दा फरार भएकी मोवाइल जुवा सञ्चालक हेमा गुरुङलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। असोज १९ गते राती मूलपानीस्थित तेण्डु शेर्पाको घरमा जुवा सञ्चालन गर्ने हेमा गुरुङलाई प्रहरीले फरार सूचीमा राखे पनि पक्राउ गर्न सकेको छैन। सो घटनामा प्रहरीको असावधानीका कारण दुई तलामाथिको भान्सा कोठाको झ्यालबाट जुवाडेहरु भाग्न खोज्दा सरोज घले र सानुलाल तामाङको मृत्यु भएको थियो। त्यसबेला महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घरधनी शेर्पासहित त २४ जना जुवाडेलाई पक्राउ गरेको थियो। त्यसमध्ये एक जना अस्पतालबाटै भागेका थिए।
जुवा खालबाट पक्राउ परेका सिन्धुपाल्चोकका दीपक तामाङ, ग्यासन लामा, नेम दोर्जे तामाङ, सुब्बा शेर्पा, विष्णु श्रेष्ठ, श्रीकाजी तामाङ, रवि थिङ, मंगले तामाङ, फुर्वा शेर्पा, दोर्जे घिसिङलाई जिल्ला अदालत काठमाडौंले ३० हजार धरौटीमा छोडिदिएको छ भने मकवानपुरका पवन रानामगर, शर्मिला खड्का, कुवेरसिंह थिङ, दोलखाका डेण्डु शेर्पा, काठमाडौं चावहिलका लाक्पा शेर्पा, सर्लाहीका उमेश लामा, रामेछापका राजकुमार बुढाथोकी र बुद्ध तामाङ, ललितपुरका केशरबहादुर गोले, धादिङका कृष्ण विक, रेशम विश्वकर्मा, कृष्णबहादुर सुनारलाई २० हजार धरौटीमा छाडेको छ। उनीहरु सबैको मुद्दा काठमाडौ परिसरले जुवा ऐनअन्र्तगत चलाएको थियो। घरधनी शेर्पालाई भने ३० हजार धरौटीमा रिहा गरिएको हो। परिसर मुद्दा शाखाले सञ्चालक गुरुङलाई भने पक्राउ नगरेको र उनलाई फरार बनाई मद्दा दायर गरेको थियो।
उनी घर धनी शेर्पाकी आफन्तसमेत हुन्। प्रहरीले उनलाई अझै पक्राउ गर्न सकेको छैन। मूलपानीमा प्रहरीले छापामार्दा दुई जनाको मृत्यु भएपछि गुरुङ भागेर भारत गएकी थिइन्। दशैंलगत्तै उनी पुनः नेपाल आएको भए पनि उनी कता छिन भन्ने बारेमा प्रहरी अनभिज्ञ छ।
परिसरको टोलीले डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा बौद्ध वृत्तका तत्कालीन डिएसपी श्याम राईलाई समेत जानकारी नदिई गोप्य रुपमा छापा मारेको थियो। छापामार्दा जुवा सञ्चालक गुरुङ त्यही भए पनि उनी भाग्न सफल भएकी थिइन्। लामो समयदेखि गुरुङलगायत चारजना महिलाहरुको सक्रियतामा मोबाइल जुवाघर सञ्चालनमा रहेको थियो। बौद्ध, नयाँ बस्ती, जोरपाटी, गोकर्ण, मूलपानीलगायतका विभिन्न क्षेत्रमा उनीहरुले दिनदिनै फरक–फरक घरमा जुवा खेलाउँदै आएका थिए। हरेक दिन नयाँनयाँ खेलाडीहरु सो जुवा खालमा आउने गरेका थिए।
जुवा खेलाउन दिएवापत सम्बन्धित घरधनीलाई १० हजार रकम दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। गुरुङकै संलग्नतामा कपन तथा बौद्ध नयाँवस्तीमा अझै पनि जुवा खेलाउने गरिएका सुचना बाहिर आए पनि प्रहरीले उनलाई पक्राउ गर्न सकिरहेको छैन। परिसरका डिएसपी एवं प्रवक्ता होेविन्द्र बोगटीले गुरुङलाई पक्राउ गर्न विभिन्न संयन्त्र परिचालन गरिएको बताए। ‘जुवा खेलाडीहरुलाई नै कस्ले जुवा खालको आयोजना गरेको हो भन्ने यकिन हुँदैन एकपछि अर्को गर्दै आएको सूचनामार्फत खालमा पुगिन्छ भन्ने सूचना आएको छ। हाम्रो प्रयाश जारी छ। गुरुङको खाल कुन हो भन्ने पत्ता लगोको छैन,’ प्रवक्ता बोगटीले भने। उनका अनुसार काठमाडौंका सबैजसो काठ क्षेत्रमा जुवा खेलाउने गरेको सूचना प्रहरीमा आइसकेको र त्यसक्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन गरिएको छ।
प्रकाशित: ११ मंसिर २०७५ ०२:३६ मंगलबार