६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुर्गममा घरअाँगनमै नागरिकता

पाल्पा– जिल्ला सदरमुकामदेखि झण्डै ८५ किलोमिटर पूर्वको निस्दी गाउँपालिकाका स्थानीयले गाउँमै नागरिकता पाउँदा दङ्ग परेका छन्। जिल्ला प्रशासन कार्यालयले तीन दिने घुम्ती कार्यालय शिविर मार्फत् नागरिकतासँगै अन्य सेवा दिएको हो। 

ग्रामीण भेगका जनतालाई गाउँबाटै सेवा प्रदान गर्ने लक्ष्यका साथ आयोजना गरिएको तीन दिने एकीकृत घुम्ती शिविरमा स्थानीयले नागरिकता पाएका हुन्। निस्दी गाउँपालिका–४, मित्यालमा सञ्चालित शिविरमा गाउँपालिकाका ४ वटा वडा भित्रका १ सय ७९ जना महिला र १ सय १० जना पुरुषले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन्।

जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजना र निस्दी गाउँपालिकाको समन्वयमा सञ्चालित शिविरमा दुई सय ६८ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हुमबहादुर पाण्डेले बताए। शिविरमा वडा नं. ३ झिरुबास, वडा नं. ४ मित्याल, वडा नं. ५ गल्धा र वडा नं. ६ अर्चलेका स्थानीयहरुले सेवा प्राप्त गरेको निस्दी गाउँपालिकाका प्रवक्ता एवं वडा ६ का वडा अध्यक्ष मेखबहादुर सुनारीले बताए। नागरिकता लिनका लागि इलाका प्रशासन कार्यालय रामपुर जान बाध्य स्थानीयहरु गाउँबाटै सेवा प्राप्त गर्दा हर्षित भएका थिए। पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जिल्लाका कार्यालयको एकीकृत सेवा दुर्गममा प्रदान गरिएको बताए। 

शिविरमा आएकी ज्योतिसरा सारुले भनिन्, रामपुर जानभन्दा गाउँमै बनाउन पाउँदा खुसी लागेको छ। मित्यालबाट रामपुर पुग्न १ सय ८० रुपैयाँ भाडा तिर्नुपर्छ। समयमा गाडी पाइँदैनथें सबै समस्या एकै ठाउँमा समाधान भयो। मित्यालकै अपांग लालमाया राक्सेले घरमै नागरिकता लिन पाउँदा आनन्द लागेको बताइन्। ‘घरमै नागरिकता पाएजस्तो भयो। हामीजस्ता अपाङ्गलाई धेरै सहज भएको छ’, उनले भनिन्। मित्याल, गल्धा, झिरुवास र अर्चलेका बासिन्दाले नागरिकता लिने, निर्वाचन कार्यालयको मतदाता परिचयपत्रका लागि फोटो खिचाउन पाएका थिए। उनीहरूले नागरिकता बनाउने र यहीं फोटो खिच्न पाउँदा निकै खुसी लागेको बताए। निस्दी जिल्लाकै दुर्गम हो।

निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले दुर्गमका बासिन्दालाई नागरिकता बनाउन जानसमेत समस्या रहेको बताए। जिल्ला प्रशासनसँगको समन्वयमा गाउँमै सेवा प्रदान गरेका छौं।

प्रकाशित: १० मंसिर २०७५ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App