५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गैंडा सिमेन्ट उत्पादनमा नयाँ रेकर्ड, पूर्ण क्षमताभन्दा बढी उत्पादन सुरु

उदयपुर – दक्षिण एसियाकै उत्कृष्ट प्रमाणित गैंडा सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसीउली) ले पूर्ण क्षमतामा उत्पादन गर्नमा नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वको उसीउलीले स्थापनाको २७ औं वर्ष प्रवेशको संघारमा पूर्ण क्षमतामा उत्पादनको रेकर्ड कायम गरेको हो।

दैनिक ८ सय मेट्रिक टन क्षमताको उसीउलीले हाल दैनिक ९७ प्रतिशत उत्पादन गर्न सफल भएको छ। विद्युत कटौतीका बाबजुद पूर्ण क्षमतामा उत्पादन गर्न सफल भएको उद्योगले मंगलबार ९७ प्रतिशत उत्पादन गरेको उत्पादन विभागका इन्जिनियर रविचन्द्र पौडेलले बताए। उनका अनुसार सोमबार २ घण्टा विद्युत कटौती हुँदा ९६.२६ प्रतिशत उत्पादन भएको थियो। यो रेकर्ड उद्योग स्थापनाको इतिहासमा पहिलो हो।

यो उत्पादनले २४ घण्टै विद्युत कटौती नभएमा क्षमताभन्दा बढी सिमेन्ट उत्पादन गर्नसक्ने देखाएको छ। उद्योगका मेकानिकल प्रमुख टीका कुँवरले विद्युत कटौती नहुने हो भने क्षमताभन्दा बढी उत्पादन हुनसक्ने गरी उद्योग चल्न थालेको बताए। ‘दैनिक २–४ पटक विद्युत कटौती भएकै हुन्छ, पावर कट नहुने हो भने क्षमताको ८ सय मेट्रिक टनभन्दा बढी नै उत्पादन हुने देखियो’ उनले भने ‘तर, दैनिक कम्तीमा १ देखि ४ घण्टासम्म आकस्मिक लोडसेडिङमा पनि यति उत्पादन हुन भनेको दैनिक ९ सय मेट्रिक टनसरह हो।’

कुँबरका अनुसार विगत वर्षहरूमा कहिल्यै महिनादिनसम्म निरन्तर उद्योग चलेको थिएन। यो पटक कात्तिक ४ गते फाइरिङ गरेपछि ३१ दिनसम्म लगातार उद्योग चलेको यो नै पहिलो घट्ना हो। २० वर्षदेखि उद्योगमा कार्यरत उनका अनुसार विगतमा धेरैमा १५ दिन चल्ने नत्र साता–१० दिनमै मर्मत गर्नुपर्ने अवस्था थियो। तर, असोजमा गरिएको स्तरोन्नति मर्मतपछि महिनादिन लगातार उद्योग चलिरहेको छ।

उद्योगका महाप्रवन्धक (जिएम) सुरेन्द्र पौडेलले अजोजमा स्थापनायताकै सबभन्दा राम्रो र ठूलो स्तरोन्नति मर्मत गरिएको र मर्मतपछि उद्योग यो अवस्थामा आइपुगेको बताए। महिनादिन लामो मर्मतपछि फाइरिङ गरेयता ३१ दिनसम्म लगातार उद्योग चलिरहेको उनले बताए। उद्योग सुरु भएयताकै ‘ह्युज मेन्टेन’ यो वर्ष गरिएको र त्यसले लगातार १ महिना किल्न नरोकिई चलिरहेको पौडेलले बताए। ‘जापान सरकारको सहयोगमा निर्मित उद्योग सरकारलाई हस्तान्तरण गरेपछि यत्ति ठूलो मर्मत पहिलो पटक गरिएको हो’ जिएम पौडेलले भने ‘म आएको ३ वर्षपछि पूर्ण मर्मत गरिएको हो। मर्मतपछि फाईरिङ भएको ३१ दिन  (मंगलबार) सम्म किल्न रोक्नुपरेको छैन।’

कात्तिक ४ गते फाइरिङ भएको किल्न मंसिर ४ गतेसम्म पूर्ण क्षमताका साथ १६ हजार टन गैडा सिमेन्ट उत्पादन भइसकेको पौडेलको भनाई छ। २४ घण्टाभित्र कम्तीमा २ देखि ६ पटकसम्म विद्युत कटौती हुने गरेकाले बीचबीचमा उत्पादनमा बाधा आउने गरेको उनले बताए। ‘८ सय मेट्रिक टन क्षमता भए पनि दैनिक २–४ पटक विद्युत गएकै हुन्छ, विजुलीले धोका नदिए दैनिक ९ सय मेट्रिक टनसम्म सिमेन्ट उत्पादन सहजै हुने देखियो।’

जिएम पौडेलले सोमबार २ पटकमा १ घण्टा विद्युत कटौती भएको र मंगलबार ४ पटकमा २ घण्टा र बुधबार ६ पटक कटौती हुँदा ३ घण्टा उत्पादन रोकिएको बताए। यति हुँदा पनि हरेक दिन ९० देखि शतप्रतिशत हाराहारी उत्पादन भइरहेको र ३० दिनमा १६ हजार मेट्रिक टन अर्थात ३ लाख ५० हजार बोरा सिमेन्ट उत्पादन भइसकेको छ। ‘२–३ घण्टा विद्युत कटौती हुँदा पनि क्षमतामा उत्पादन हुनु २४ घण्टै विद्युत भए १ सय २० प्रतिशतसम्म उत्पादन हुने देखियो नि’ जिएम पौडेल भन्छन्।

प्रकाशित: ६ मंसिर २०७५ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App