१ असार २०८१ शनिबार
image/svg+xml
समाज

गलत उपचार गर्ने क्लिनिक कारबाहीमा

बांगो हात देखाउँदै १० वर्षीय समिर विक। तस्बिर/निर्मल घिमिरे

बर्दिया - बर्दियाको बारबर्दिया नगरपालिकामा पर्ने कतरनियामा सञ्चालित बबई पोलिक्लिनिकले गलत उपचार गरी बिरामीको अंगभंग गरेर लाखौं रुपैयाँ ठगिरहेको तथ्य सार्वजनिक भएको छ । उक्त पोलिक्लिनिकमा उपचार गराउन पुगेका ३० जनाभन्दा बढी बिरामीको अंगभंग भएको र उपचारका नाममा उनीहरूबाट लाखौं रुपैयाँ लिएको खुलासा भएको हो।

बारबर्दियाकी शान्ति चौधरी हात भाँच्चिएपछि नजिकको बबई पोलिक्लििनक गइन् । उनको हातमा क्लिनिकका स्वयम्सेवकले प्लास्टर गरिदिए । हात दुख्ने समस्या भइरहेपछि उपचारका लागि पटकपटक धाएकी उनले ६० हजार रुपैयाँ बबई पोलिक्लिनिकमा बुझाइन् । तर, उनको रोग सञ्चो भएन, बरु झन्–झन् बढ्दै गयो।

डेढ महिनासम्म पनि उनको हात सोझिएन । थप उपचारका लागि नेपालगन्ज पुग्दा पनि उनको अवस्था सामान्य हुन सकेको छैन । उनी एक प्रतिनिधि पात्र मात्र हुन । त्यस क्लिनिकमा उपचार गर्न पुगेका अधिकतर बिरामीले यस्तै दुःख पाएका छन् । त्यही क्लिनिकमा उपचार गराएका स्थानीय १० वर्षीय विद्यार्थी समिर विक अहिले लेख्न नसक्ने भएका छन् । चार वर्षदेखि ५१ वर्ष उमेरसम्मका १२ जनाभन्दा बढी बिरामीको अवस्था अहिले गम्भीर बनेको छ । गत आइतबार जिल्ला अस्पताल पुगेका अधिकतर बिरामीका हड्डी ‘डिसलोकेट’ भएका कारण हातखुट्टा सुक्ने र बांगिने समस्या भएको पाइएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गाउँमा सञ्चालन भएका उक्त पोलिक्लिनिकले अदक्ष स्वास्थ्यकर्मीका भरमा बिरामीको उपचार गराउने गरेका कारण यस्तो समस्या आएको पत्ता लागेको छ । बबई पोलिक्लिनिकको वैधानिकतामा समेत प्रहरीले प्रश्न उठाएको छ । पीडित बिरामीलाई क्षतिपूर्ति र दोषीलाई कारबाही हुनुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् । स्थानीय समाजसेवी देवेन्द्र विष्टले भने, ‘यस्ता पीडित अधिकतर विपन्न वर्गका छन्, तिनलाई राज्यले क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ।’

गोप्य सूचनाका आधारमा उपचारमा लापरबाही गरेको र मापदण्डविपरीत क्लिनिक सञ्चालन गरेको आरोपमा प्रहरीले यसका सञ्चालक तथा प्रबन्ध निर्देशक खिमलाल भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी सुरेन्द्र मैनालीले बबई पोलिक्लिनिकबारे अनुसन्धान जारी रहेको बताउँदै तथ्य संकलन भइरहेको जानकारी दिए । गलत उपचार गरी सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गरेको पुष्टि भए दोषीलाई कानुनी कठघरामा ल्याइने उनले बताए । उपचारमा संलग्न र उक्त क्लिनिकमा आवद्ध अन्य व्यक्ति फरार रहेकाले खोजी भइरहेको एसपी मैनालीले जानकारी दिए । पक्राउ परेका निर्देशक भट्टराईलाई मुलुकी अपराध संहिता दफा २३० को उपदफा ४ बमोजिम उपचारसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

पीडित बिरामीले उजुरी दिएपछि प्रहरीले बबई क्लिनिकबारे अनुसन्धान अघि बढाएको थियो । त्यस क्रममा इजाजत नभएका व्यक्तिले समेत उपचार गरिरहेको पाइएको प्रहरीको दाबी छ । जिल्ला प्रशासन कार्यालयले छापा मार्दा मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि गत असोज २९ गते उक्त क्लिनिकमा सिल गरेको थियो।

प्रकाशित: ४ मंसिर २०७५ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App