१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अझै बनेन रातो मछिन्द्रनाथ मन्दिर

ललितपुर – तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतिस्थित रातो मछिन्द्रनाथको मन्दिरको पुनःनिर्माणमा ढिलाइ भएको छ । २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको सुरुआत यहीँबाट गरेका थिए।

मन्दिरको पुनःनिर्माण भने ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभावलगायतका कारण देखाएर ढिलाइ गरेको हो । श्रीलंका सरकारको सहयोगमा निर्माणाधीन मन्दिर सम्झौताअनुसारको अवधिमा नसकिएपछि पुरातत्व विभागले म्याद थप गरेको हो । गत जुलाईमा म्याद सकिएपछि विभागले छ महीना अवधि थप गरेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । ‘थपिएको अवधिमा कामको गति केही बढेको छ । तर सकिने छाँटकाँट छैन,’ उनले भने।

प्रेराभेगिम तुल्सी जेभीले मन्दिर निर्माणको जिम्मेवारी पाएको थियो । गत जुलाईमा दुई वर्षको ठेक्का सम्झौताको अवधि सकिएको हो । केही दिन पहिले पुनःनिर्माणको प्रगति हेर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको टोली बुङ्गमति पुगेपछि ठेकेदारले केही तदारुकता देखाउन थालेको छ । तर पनि जुन गतिमा काम हुनुपर्ने हो त्यो नभएको प्याकुरेलले बताए।

शिखरशैलीको सो मन्दिरमा ३६ फिट लामो काठ आवश्यक पर्छ । एउटै काठबाट बनाउन नसकिने हुँदा तीन वटासम्म जोडेर बनाउन सकिने प्याकुरेल बताउँछन् । सहजरुपमा उपलब्ध नहुने हुँदा कार्यालयले पहिले यो काठ ल्याउन ठेकेदारलाई भनिरहेको छ । उनले भने, ‘यो काठ ल्याएर तोकिएको आकारको बनाउन थाले काम चाँडो हुन्छ भन्नेमा विश्वास गर्न सकिन्थ्यो।’

एक तलाको मन्दिर र त्यसमाथि शिखरशैली भएकामा पहिलो तलामा केही काम भइसकेको छ भने केही भइरहेको छ । मन्दिरको गजुरको मर्मतको काम बाँकी छ । मन्दिरमा ढुंगाको खम्बा उठाइएको छ । चार दिशामा रहेको मूल ढोकाको मर्मत सकिएको छ । स्थानीयवासीले ढोकामा पहिले आफूखुशी रङ लगाउँदा ढोकाको स्वरुप बिग्रिएको थियो । त्यसलाई सुधार्ने काम भइरहेको छ।

मूल ढोकाको मर्मतको काम सकिएकाले पहिले जडान गरेर मात्रै सफाइ गर्ने ठेकेदार कम्पनीको योजना रहेको बताइएको छ । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्यन्द्रनाथको जात्रा मानिन्छ । जावलाखेलमा भोटो जात्रा सकिएपछि देवतालाई यही मन्दिरमा राख्ने गरिन्छ । देवता बुङ्गमतिमा रहँदा विभिन्न पर्व पर्छन् । पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँका नियमित पर्वमासमेत असर परेको स्थानीयवासीको गुनासो छ।   (रासस)

प्रकाशित: २८ कार्तिक २०७५ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App