५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाँदरमुढेमा पार्क बनाउँदै माडी नगरपालिका

माडी नगरपालिकाको बाँदरमुढेमा रहेको स्मारक। तस्बिर : सविता/नागरिक

चितवन - माडी नगरपालिकाको बाँदरमुढेले सशस्त्र द्वन्द्वको समय सम्झाउँछ। बाँदरमुढे त्यही ठाउँ हो जहाँ यात्रु बोकेर गुडिरहेको बस विस्फोटमा परेको थियो। तत्कालीन नेकपा माओवादीले थापेको एम्बुसमा परेर २०६२ जेठ २३ गते बसमा सवार ३८ जनाले ज्यान गुमाएका थिए।

घटनाका घाइते तथा पीडित परिवार समूहमा आबद्ध भएर बाँदरमुढेमा स्मारक बनाएका छन्। संघसंस्था र व्यक्तिगत सहयोग जुटाएर समूहले २०६६ सालमा स्मारक बनाएको हो, जहाँ घटना वार्षिकीमा मृतकका परिवार पुगेर श्रद्धाञ्जली दिने गर्छन् । यति बेला बाँदरमुढे स्मारक बनाइएको क्षेत्रलाई समेटेर पार्क बनाउने योजना माडी नगरपालिकाले अघि सारेको छ।

बाँदरमुढेमा तत्कालीन नेकपा माओवादीले थापेको एम्बुसमा परेर २०६२ जेठ २३ गते बसमा सवार ३८ जनाले ज्यान गुमाएका थिए।

नगरपालिकाका मेयर ठाकुर ढकाल बाँदरमुढेमा बहुआयामिक प्रयोग र महत्वका साथ काम गर्ने योजना बनाइएको बताउँछन् । बाँदरमुढेमा पार्क बनाउन करिब १० करोड रुपैयाँ लागत अनुमान गरेर डिपिआर तयार गरिएको छ । ‘बाँदरमुढे घटनाले माडी चर्चाको विषय बन्यो’, उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय हिसाबमा पनि निकै चर्चा गरिएको घटना हो त्यसैले बाँदरमुढेको आफ्नै महत्व छ।’ विगतको एउटा चरणमा बाँदरमुढे घटना हुने परिस्थिति बने पनि अहिले अर्को परिस्थिति निर्माण भइसकेको उनी बताउँछन् । अब नगरपालिकाले इतिहास संरक्षणका लागि पार्क निर्माण गर्न लागेको उनको भनाइ छ । पार्क निर्माणका लागि भारतीय सहयोग उपलब्ध हुने जनाइएको छ। नगरपालिकाले तयार गरेको डिपिआर अर्थ मन्त्रालयबाट सिफारिस गराएर भारतीय राजदूतलाई बुझाइएको छ।

कार्यक्रम स्वीकृत भएर बजेट आएपछि काम सुरु हुने नगरपालिकाका मेयर ढकालले बताए । स्मारक स्तम्भ भएको स्थानवरपर तीन बिघा क्षेत्रफल समेटेर डिपिआर बनाइएको छ । पार्कमा मृतकहरुको सम्झनामा सांकेतिक रुपमा सबैका शिर कुँदिएको स्मारक बनाइनेछ । माडी नगरपालिकामा बसोवास गर्ने सबै जातिको भेषभूषा, रहनसहन र संस्कृति झल्कने गरि संग्रहालयसमेत निर्माण गरिने उनले जानकारी दिए।

पार्कमा सबैले पुज्ने र घटनाका पीडित परिवारले पनि आफन्तका नाममा पूजा गर्न मिल्नेगरी मन्दिर बनाउने योजना पनि डिपिआरमा राखिएको छ । पार्क बन्ने क्षेत्रमा छुट्टै बालबालिकाका लागि खेल्ने ठाउँ बनाइने मेयर ढकालले बताए । बाँदरमुढे स्मारक भएको स्थान बाँदरमुढे खोलाले कटान गर्ने जोखिम छ। स्तम्भको एकातर्फ बगिरहेको खोलाको धार नगरपालिकाले परिवर्तन गरेर अर्कोतर्फ बग्ने बनाएको छ।

डोजर लगाएर धार परिवर्तन गरिएपछि बाँदरमुढे घटनाका पीडितले विरोध गरेका थिए । खोलाले धार परिवर्तन गर्दै व्यक्तिको जग्गामा बगेकाले पुरानै ठाउँमा खोला लैजान धार परिवर्तन गरिएको मेयर ढकालले बताए। स्मारक स्तम्भलाई जोखिम नपार्ने गरी बाँध बनाएर अर्कोतर्फबाट बग्ने बनाइएको उनको भनाइ छ। स्तम्भलाई समेटेर पार्क बनाउँदा स्तम्भको समेत संरक्षण हुने उनले बताए।

घटनाका पीडितले भने पार्क बनाउन काममा आफूहरुलाई सहभागी नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पार्क बनाउने जानकारी मौखिक रुपमा पाएको बाँदरमुढे संघर्ष समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बताए । बाँदरमुढेमा पार्क बनाउने योजनामा घटनाका पीडितलाई सहभागी नगराइनु दुःखद भएको उनको भनाइ छ । ‘पार्क बनाउने विषयमा हाम्रो विरोध छैन’, उनले भने, ‘नगरपालिकाले अघि बढाइरहेको काममा समितिलाई पनि साथ लिएर गर्नुपर्छ।’ द्वन्द्वपीडितलाई साथ लिएर योजना बनाउँदै काम गरे पीडितको आवाज पनि सम्बोधन हुने उनको भनाइ छ । पार्क बनाउने योजनाभित्र परेका काम र के कति समयमा कुन काम गरिन्छ भनेर पीडितलाई नगरपालिकाले जानकारी गराउँदा राम्रै हुने उनी बताउँछन्।

प्रकाशित: १७ कार्तिक २०७५ ०१:५४ शनिबार

माडी_नगरपालिका बाँदरमुढेमा_पार्क